जितसँगैं एपीएफ शीर्ष टोली



नेपाल समाचारपत्र
काठमाडौं
जारी १६ औं राष्ट्रिय महिला फुटबल लिगअन्तर्गत शुक्रबार भएको खेलमा नेपाल एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएर समूहको शीर्ष टोली बनेको छ।
शुक्रबार सातदोबाटोस्थित एन्फा मैदानमा समूह बी को शीर्ष टोली बन्ने भिडन्तमा एपीएफले आर्मीलाई १–० गोलअन्तरले हराएको हो। सो एक मात्र गोल प्रतियोगितामा सर्वाधिक गोल गरेकी सावित्रा भण्डारीले गरिन्। उनले ५० औं मिनेटमा गोल गरेर प्रतियोगितामा व्यक्तिगत २१ औं गोल गरेकी छिन्। यसअघिका दुई खेलमा उनले २० गोल गरेकी थिइन्।

यस अघिको खेलमा पश्चिमाञ्चलले मध्य पश्चिमाञ्चललाई २–० गोलअन्तरले पराजित गरेको थियो। दुबै गोल दोस्रो हाफमा भएका थिए। समा कार्कीले आफनै जालीमा आत्मघाती गोल गरेपछि पश्चिमाञ्चलले ६१ औं मिनेटमा अग्रता लिएको थियो। यसपछि सुनीता विकले गोल थपिन्। यो पश्चिमाञ्चलको पहिलो जित थियो भने मध्यपश्चिमाञ्चलले तीनै वटा खेल हारेको थियो। मध्यपश्चिमाञ्चलले ४० गोल आत्मसात गर्दा विपक्षीलाई गोल गर्न सकेनन्।

सुपर लिगका खेलहरू आईतबारदेखि शुरू हुनेछन्। जसमा नेपाल पुलिस क्लब, एपीएफ, आर्मी र सुदुरपश्चिमाञ्चल गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्