विकल्प होस् त यस्तो



अखिल नेपाल फुटबल संघ (एन्फा) मा वर्षौंसम्म राज गरेका गणेश थापा एन्फाकै अध्यक्ष रहेका बेला सक्रिय राजनीतिमा लागे। तर, दुवै हातमा लड्डु उनलाई मिलेन। वर्षौंसम्म एन्फामा रहेर आर्थिक अनियमितताको आरोप लागेपछि उनी सक्रिय खेल जिम्मेवारीबाट पन्छिन बाध्य भए। अनि राजनीतिमा सक्रिय भए।

तत्कालीन राप्रपा नेपालको समानुपातिक कोटाबाट सांसद भएका थापा संसद्मा मात्रै सीमित भएनन्, गृहजिल्लाका पार्टी अध्यक्षसमेत बने। खेलकुदमा बदनाम भए पनि राजनीतिमा घुमाउरो शैलीमा ‘सेफ लेन्डिङ’ गरे। तर, प्रदेश र केन्द्रको निर्वाचनमा पार्टीले लज्जास्पद हार बेहोरेपछि उनले पार्टीको जिल्ला अध्यक्षबाट भर्खरै राजीनामा गरेका छन्। धेरैले उनको राजीनामालाई नैतिकताको आधार जनाएका छन्।

तर, धरहराको बुझाइ भने केही फरक छ। राजनीतिमा तत्काल लाभ लिन नसक्ने भएपछि चुच्चेढुंगो उही टुङ्गो भनेझैं थापा खेदकुलमै फर्कने तरखरमा छन्। गतवर्ष फिफाबाट १० वर्ष फुटबल गतिविधिमा सक्रिय हुन प्रतिबन्ध लागे पनि फुटबलबाहेकका अन्य खेलकुदको विकल्प खोज्न थालेको सुनिन थालेको छ। उनको बुझाइ पनि ठीकै हो, फुटबलको पो प्रतिबन्ध लागेको हो त। विकल्प होस् त थापाको जस्तो। खेलका अन्य विधामा त प्रतिबन्ध लागेको हैन नि, हैन त थापाज्यू।

प्रतिक्रिया दिनुहोस्