नेपाली पानी भारतको बेइमानी



कृष्णउदास खनाल, वीरगन्ज ।
छिमेकी देश भारतले संझौता अनुसार गण्डक नहरमा पानी नछाडेपछि पर्सा सहित गण्डक नहरबाट सिंचाई हुने क्षेत्रका स्थानीयहरु मारमा परेका छन् ।

नेपाल र भारतबीच सन् १९७३ जुन ३ मा भएको गण्डक सम्झौता अनुसार भारतले डिसेम्बर अन्तिम साताबाट नै नहरमा पानी छाड्नु पर्ने हो यद्यपी पानी अहिलेसम्म पनि नआउदा नहरमा कमिला हिडेको छ । धानबालीका लागि वर्षेनी मे १० तरिखदेखि अक्टुबर २५ तारिखसम्म पानी दिने सम्झौतामा उल्लेख छ । तर यसपाली केहि दिन नहरमा पानी आएपछि बाढी आएर नहर भत्काइदिएको थियो । नहर मर्मत गरेर केहि पानी दिएको भए पनि त्यसपछि अहिलेसम्म नहरमा पानी नआएको कृषकहरुले बताएका छन् ।

२०४३ सालमा आएको बाढीले नहर विगारिदिएका कारण नहरको पानी रौतहटसम्म भने पुग्न सकेको छैन । रौतहटका किसानका लागि जमुनी खोलामा बाँध बाँधेर सिँचाईको व्यवस्था मिलाउने तयारी भइरहेको छ ।नारायणी सिँचाई व्यवस्थापन कार्यालय गण्डक बहुअरीका प्रमुख इञ्जिनियर राजेन्द्र साहले भारतीय पक्षले नहर मर्मतका लागि ठेक्का लगाएको र काम चलिरहेकोले यसपाली गहुँबालीका लागि पानी आउने संभावना कम भएको बताए ।उनले आफूहरुले तत्काल नहरमा पानी छाड्न भारतीय पक्षसंग आग्रह गरेपनि भारतीय पक्षले चासो नदिएको बताए ।

पानी नेपालको भए पनि गण्डकको सवालमा सँधै भारतको बेइमानी रहदै आएको स्थानीयहरुले बताएका छन् । यसपाली गत साउनमा आएको बाढीका कारण केहि समस्या देखिएको भए पनि विगतका वर्षहरुमा पनि भारतीय पक्षले विभिन्न बहानमा नेपालतर्फ पानी छोड्न ढिलाई गर्दै आएको पर्साको सखुवाप्रसौनीका सथानीय कृषक रामेश्वर पटेलले बताए ।

गण्डक नहरको पानीले नेपालको पर्सा, बारा, रौतहटको ३७ हजार हेक्टर जमिनमा सिँचाई गर्ने लक्ष्य राखिएको छ । नहरमा समयमा पानी नआएका कारण किसानलाई धान, गहुँ, उखु, मकै, तरकारी खेतीका लागि समस्या भइरहेको पटेलले बताए ।

प्रतिक्रिया दिनुहोस्