रक्सौलको विकल्प खोज्दै भारतीय टोली आयो



रोविन पौडेल, काठमाडौं

भारतबाट आयात हुँदै आएको क्लिंकरलगायत सिमेन्ट उद्योगका कच्चा पदार्थ ढुवानीमा देखिएको समस्या समाधान गर्न भारतीय विज्ञ टोली काठमाडौं आएको छ। रक्सौलबासीमा निम्त्याएको समस्यापछि अवरोधका कारण क्लिंकर आयात रोकिँदा रक्सौलको विकल्प खोज्न भारतीय विज्ञ टोली मंगलबार काठमाडौं आइपुगेको हो।

रक्सौलमा हुँदै आएको क्लिंकर अनलोडमा समस्या देखिएपछि छलफलको माध्यमबाट अनलोड गर्ने यार्डको विकल्पसहितको सुझाव दिन भारतीय विज्ञ टोली नेपाल आएको वाणिज्य मन्त्रालयका प्रवक्ता तथा सहसचिव रवीशंकर सैंजुले बताउनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो– ‘क्लिंकर अनलोड गर्ने स्थान तत्काल खोजिनुपर्ने भए पनि हामी त्यो गर्न असफल रहँदै आएका छौं। हामी सरोकारवालासँग समय–समयमा डस्टी कार्गो कुन स्थानमा अनलोड गर्ने विषयमा छलफल गरिने भए पनि निष्कर्श भने निकाल्न सकिएको थिएन।’

भारतीय विज्ञ टोलीसँगको छलफलबाट बुधबार साँझसम्ममा क्लिंकर अनलोडको सम्भावित नयाँ यार्ड तय हुनसक्ने उहाँको भनाइ छ। छलफल मुख्य रूपमा नयाँ यार्ड खोज्ने विषयमा केन्द्रित हुने भए पनि थप विषय पनि समावेश हुने प्रवक्ता सैंजुले बताउनुभयो।

रक्सौलबाट क्लिंकर अनलोड नसार्ने विषयमा नेपाली पक्षले अडान लिए पनि त्यो सम्भव नभएपछि लोकेसन परिवर्तन गर्न लागिएको जनाकारी दिनुभयो। वाणिज्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार क्लिंकर आयात गर्न रक्सौल नै सबैभन्दा सस्तो विकल्प थियो। अनलोडको स्थान रक्सौलबाट स्थानान्तरण गरिए वीरगन्ज औद्योगिक करिडोरबाट उत्पादन हुने सिमेन्ट महँगो हुने भएकाले नेपाली पक्षले परिवर्तन गर्न नहुने अडान लिएको थियो। उहाँले भन्नुभयो– ‘नेपाली पक्षको अडानले नेपालको सिमेन्ट उत्पादनमै अवरोध भए पछि नेपाली पक्ष केही लचिलो बन्न लागेको हो।’
अनलोडमा तनाव भए पनि भारतको रक्सौलमा अड्किएका क्लिंकर र्याकहरू नेपालमा भित्रिरहेको स्थानीय व्यवसायीले जनाएका छन्।

वीरगन्ज उद्योग वाणिज्य संघका सचिव मनोज कुमार दासका अनुसार डिसेम्बर २२ भन्दा अगाडि रक्सौलमा अनलोड भएका र्याक भने लोडिङ हुने गरेका छन्। क्लिंकर आयातमा समस्याका कारण सिमेन्ट उद्योग बन्द हुने अवस्थामा पुगे पनि नेपाली पक्ष यस विषयमा गम्भीर नहुँदा समस्या जस्ताको त्यस्तै रहेको उहाँको दाबी छ।

यसअघि भारतीय रेल्वे निगमले रक्सौल यार्डमा अनलोड गर्न नदिए पनि बुकिङ भइसकेका क्लिंकरका र्याकसमेत नेपाल आउन सकेको थिएन। तर, अहिले तत्कालका लागि रक्सौल यार्डबाट लोड गरेर क्लिंकर नेपाल भित्रिन दिएपछि अड्किएका र्याक नेपाल भित्रिएका हुन्।

क्लिंकरको अभावमा वीरगन्ज पथलैया करिडोरका एक दर्जन सिमेन्ट उद्योग बन्द हुने अवस्थामा छन्। नेपालका अन्य स्थानमा रहेका सिमेन्टले आफैं क्लिंकर उत्पादन गर्दै आए पनि यस करिडोरमा रहेका उद्योग भने भारतीय क्लिंकरमा निर्भर छन्। हाल बारा र पर्साका १३ वटा सिमेन्ट उद्योगले यस नाकाबाट कच्चा पदार्थ आयात गर्छन्।

यसअघि क्लिंकर अनलोडसम्बन्धी उत्पन्न समस्या समाधानका लागि भारत तथा नेपाल सरकारका प्रतिनिधि र उद्योगी व्यापारीबीच भएको त्रिपक्षीय छलफल निश्कर्षविहीन निश्किएको थियो। पछिल्लो समय रक्सौलका बासिन्दा यार्ड स्थानान्तरणको माग गर्दै अदालत पुगेका थिए। त्यसपछि सरकारलाई अधिकारिक रूपमा कुनै जानकारी नगराई भारत सरकारले रक्सौलमा हुँदै आएको क्लिंकर अनलोडिङमा रोक लगाउँदै सिर्सियास्थित नेपालको सुख्खा बन्दरगाहमा अनलोड गर्न निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्