अपर बूढीगण्डकीको काम अघि बढ्यो



सन्तोष अधिकारी, गोरखा

राष्ट्रिय गौरवको १२ सय मेगावाट क्षमताको बूढीगण्डकी आयोजना निर्माणको प्रक्रिया अघि बढिरहेको बेला बूढीगण्डकीमै ३ सय ६० मेगावाट क्षमताको अपर बूढीगण्डकी आयोजना निर्माणको तयारी थालिएको छ।

आईएमएस समूहले एक वर्ष अघि उक्त आयोजना निर्माणको अनुमति लिएको छ। बूढीगण्डकी आयोजना निर्माणस्थलबाट करिब ११ किलोमिटर माथि चुमनुब्री गाउँपालिकाको यारुबगरमा अपर बूढीगण्डकी बन्न लागेको हो। ‘हाम्रो ग्रुपले अनुमति लिएसँगै कसरी काम छिटो र छरितो किसिमले गर्न सकिन्छ भनेर स्थलगत अध्ययन पनि शुरू गरिसकेका छौं,’ आईएमएस समूहका अध्यक्ष दीपक मल्होत्राले भन्नुभयो–‘डीपीआरको काम एक वर्षमा सकेर अरू काम अघि बढाउँदै छौं।’

उक्त समूहले विदेशी साझेदारसमेत भित्र्याउन लागेको मल्होत्राले बताउनुभयो। ‘डीपीआर र पीपीए हामी आफैं गर्छौं’ उहाँले भन्नुभयो –‘केही विदेशी कम्पनीसँग कुरा भइरहेको छ। त्यसपछि हाम्रो ग्रुपले २० र विदेशी साझेदारी ग्रुपले ८० प्रतिशत शेयर राखेर काम अघि बढाउँछौं।’ चीनका दुई कम्पनीसँग उक्त समूहले कुरा गरेको र दुईमध्ये एक सँग आगामी एक वर्षभित्र साझेदारी गरेर आयोजना निर्माणको काम हुने मल्होत्राले भनाइ छ।

उक्त आयोजनाबाट प्रभावितलाई कुन क्षेत्रमा रहेकालाई कति मुआब्जा दिने भनेर पनि समूहले छिट्टै टुंगो लगाउने तयारी गरेको छ। आयोजना समयमै सक्न देशको राजनीति स्थिर हुनुपर्ने मल्होत्राको भनाइ छ। ‘हामी यसै नै एक वर्ष ढिलो भइसकेका छौं,’ उहाँले भन्नुभयो–‘विकट भूगोलमा छ, सामग्री लैजानसमेत गाह्रो छ। यस्तो ठाउँमा काम गर्न सरकारी तबरबाट सहयोग हुनुपर्यो। देशमा राजनीति स्थिर हुनुपर्यो हालतमा हामी आयोजना सम्पन्न गर्छाैं।’ अहिले देशको राजनीतिले स्थिरताको छनक दिएपछि कामलाई बृहत् रूपमा नै अघि बढाउन लागेको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्