तरलताको सम्बोधन गर्न प्रधानमन्त्रीलाई दबाब



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष भेट गरेको छ। परिसंघका अध्यक्ष हरिभक्त शर्मा नेतृत्वमा गएको टोलीले मुलुकको प्रधानमन्त्रीसामु ज्ञापनपत्र बुझाउँदै वर्तमान अर्थ व्यवस्थामा आएको तरलताको कारणले उद्योग व्यवसायमा परेको समस्याको तत्काल सम्बोधनको लागि पहल गरिदिन आग्रह गरेको हो।

भेटमा व्यवसायीले तरलताको संकटले गर्दा बैकिङ प्रणालीबाट प्रवाहित कर्जाको ब्याजदरमा उल्लेखनीय वृद्धि भई बढ्दो ब्याजदरले उत्पादन लागतमा वृद्धि भएको बताएका थिए। यसले उद्योग र व्यावसायिक क्षेत्रमा प्रतिकूल असर पर्न गएकाले प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आएको व्यवसायीको भनाइ थियो।

भेटमा अध्यक्ष शर्माले यही अवस्था कायम रहेमा आगामी वर्षभित्रमा मुलुकको व्यवसाय गर्ने लागत छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्न नसक्ने स्थितिमा हुने बताउनुभएको थियो। अर्थतन्त्रको आकार बढे अनुरूपको आर्थिक व्यवस्थापन पक्ष कमजोर रहेको र वित्तीय अनुशासन कायम गरी ब्याजदरलाई सीमाभित्र ल्याउनु सम्बन्धित सरोकारवाला निकायले उपयुक्त वित्तीय उपकरण प्रयोग गर्नुपर्नेमा उहाँको जोड थियो। प्रतिनिधिमण्डलले सबै तहको चुनाव सम्पन्न भएको अवस्थामा आर्थिक समृद्धि र लगानीको ठूलो अवसर भएको बताएका थिए।

व्यवासायीको आग्रह सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आर्थिक समृद्धि तथा समग्र अर्थतन्त्रको विकासको लागि आफू कटिबद्ध रहेको बताउनुभएको थियो। उहाँले हालको तरलताको समस्या पनि सम्बन्धित सरोकारवालासँग छलफल गरी चाँडै समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्