साढे ९ लाख पर्यटकले नेपाल भ्रमण गरे



दीपेन्द्र थापा, काठमाडौं

सन् २०१७ मा ९ लाख ४० हजार २ सय १८ पर्यटकले नेपालको भ्रमण गरेका छन्। जुन अघिल्लो वर्षको तुलनामा २८ दशमलव ८८ प्रतिशतले बढी हो।

सन् २०१६ मा ७ लाख २८ हजार ५ सय ५० ले नेपाल भ्रमण गरेका थिए। उक्त तथ्यांक हवाईमार्ग र स्थलमार्गबाट समेतको कुल तथ्यांक रहेको अध्यागमन विभागले जनाएको छ।

सरकारले सन् २०११ मा पर्यटन वर्ष मनाएर वार्षिक १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य ६ वर्षपछि पूरा हुन सकेको छैन। अहिलेको अवस्थामा वर्ष १० लाखको हाराहारी पर्यटक आगमन हुनु सकरात्मक रहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउनुभयो। उहाँले भन्नुभयो–‘ स्थलमार्ग समेतको संख्यालाई सुक्ष्म तरिकाले तथ्यांक राख्ने हो भने १० लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्।’

अध्यागमन विभागका अनुसार सन् २०१६ को तुलनामा २ लाख १० हजार ६ सय ६३ जनाभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन विभागका शाखा अधिकृत कृष्ण सापकोटाका अनुसार स्थलमार्ग भएर आउने पर्यटकको पनि तथ्यांक समावेश गरिएको बताउनुभयो।

पर्यटनविद् प्रचन्डमान श्रेष्ठका अनुसार अहिलेको अवस्थामा नेपालको पर्यटक आगमन सकरात्मक रहेको छ, नेपालले पूर्वाधार विकास, प्रचारप्रसार र पर्यटन क्षेत्रमा दक्ष जनशतिmको परिपूर्ति गर्न सकेको खण्डमा नेपालको बारेमा राम्रो सन्देश प्रवाह भएर पर्यटन क्षेत्रले अर्काे वर्ष ३० देखि ३५ प्रतिशले वृद्धिहुने बताउनुभयो।

नेपाल घुम्न आउने पर्यटकमा भारतीयको संख्या सबैभन्दा धेरै रहेको छ। विभागका अनुसार भारतबाट यस अवधिमा १ लाख ६० हजार ८ सय ३२ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। त्यस्तै चीनबाट १ लाख ४ हजार ६ सय ६४ जना पर्यटक भ्रमणका क्रममा नेपाल आएका छन्।

यसैगरी अमेरिका, बेलायतलगायत देशबाट आउने पर्यटकको संख्या पनि उल्लेख्य रहेको विभागको तथ्यांकले देखाएको छ। यसक्रममा अमेरिकाबाट ७९ हजार १ सय ४६ जना र बेलायतबाट ५१ हजार ५८ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। गत वर्ष ७ लाख २९ हजार ५ सय ५५ जना पर्यटक नेपाल भित्रिएका थिए। श्रीलंकाबाट ४५ हजार ३ सय १३ पर्यटकले नेपाल भ्रमण गरेका थिए। त्यस्तै सन् २०१४ मा पर्यटक आगमनको संख्या ४ लाख ४ हजार ५ सय २५ रहेको थियो।

निर्वाचनको बेलामा भएका बम विस्फोटको घटनाले नेपाली पर्यटन क्षेत्रमा असर परेकाले वर्षको अन्न्त्यमा पर्यटन आगमन घट्दा १० लाखको लक्ष्य पूरा हुन नसकेको प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल चाप्टरका अध्यक्ष सुनील शाक्यले बताउनुभयो। भारतीय नाकाबाट आउने पर्यटकको पनि प्रभावकारी रेकर्ड नराखेकाले यसवर्षको लक्ष्यभन्दा बढी पर्यटक आएको अनुमान गर्न सकिने शाक्यको भनाई छ। उहाँका अनुसार पूर्वाधार विकास गर्न समय लाग्ने भएकाले भएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल २४सौं घण्टा खुल्ला गर्न सकेमा नेपाल आउने पर्यटकमा वृद्धि हुन्छ।

पर्यटकलाई आकर्षित गर्न नेपालको वास्तुकला, ट्रेकिङ रुटलगायतका अन्य संरचना भूकम्पपछि पुनर्जीवन पाउने क्रममा रहेको तथा नेपाल भ्रमण गर्न सुरक्षित छ र नेपालको सौन्दर्य कायमै रहेको सरकारको प्रचारले सकारात्मक प्रभाव पार्न थालेको जोशीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्