सिलवाल बिरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं । प्रहरी महानिरीक्षक बढुवाकालागि नक्कली कागजात प्रयोग गरेको ठहर गर्दै कारवाही गर्न सर्वोच्च अदालतले निर्देशन दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौले पूर्व डिआईजी तथा एमाले सांसद नवराज सिलवाललाई पक्राउ गर्न पक्राउपुर्जी जारी गरेको छ ।
ललितपुरक्षेत्र नम्वर १बाट निर्वाचित संसाद सिलवाललाई आईजीपी बढुवा सम्वन्धी मुद्धामा कार्यसम्पादन मुल्याकन किर्ते गरेको भन्ने फैसालको आधारमा प्रहरीले पक्राउ पुर्जी जारी गरेको अनौपचारिक जानकारी आफुले पाएको महानगरीय आयुक्त कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले जानकारी दिनुभयो ।
एआईजी चन्दले काठमाडौ प्रहरी प्रमुखले पक्राउ पुर्जी जारी गरेको मौखिक जानकारी आफुलाई दिएको तर अहिले सम्म पत्रभने कार्यालयमा दर्ता नभएको जानकारी दिनुभयो ।
प्रहरी परिसर काठमाडौले पक्राउ पुर्जी जारी गर्न अघिल्लो दिन सोमबार नै सांसद सिलवाल मलेसिया गएको उहांको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई टोलीफोन गरी सिलवाललाई किन अहिले सम्म पक्राउ नगरेको अदालतले त्यत्रो आदेश दिंदा किन वेवास्ता गरेको भन्दै प्रश्न गरेपछि आईजीपी अर्यालले तत्काल पक्राउ पुर्जी जारी गर्न निर्देशन दिएको बताइएको छ ।
प्रहरी महानिरीक्षक अर्यालले काठमाडौका एसएसपी रबिन्द्र धानुकलाई सिलवाल बिरुद्ध तत्काल पक्राउ पुर्जी जारी निर्देशन दिएपछि पक्राउ पुर्जी जारी गरे पनि एसएसपी धानुक भने संचारमाध्यमसंग भाग्नु भएको छ । उहांसंग उपलब्ध भएका सबै फोन नम्वरमा सम्पर्क राख्दा उहांले फोन उठाउनुभएको छैन । महानरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता प्रहरी उपरीक्षक रामदत्त जोशीसंग सम्पर्क राख्दा उहांले आफु केहिदिन देखि बिदामा रहेकाले पक्राउपुर्जी जारी गरे नगरेको आफुलाई केही जानकारी नभएको बताउनुभयो ।
महान्यायधीवक्ताको कार्यालयले प्रहरी परिसर काठमाडौलाई पत्र लेखेर सिलवालबिरुद्ध कारवाही अगाडि बढाउन निर्देशन सहितको उजुरी दर्ता गराएपछि परिसरले कारवाही प्रकृया अगाडि बढाएको थिएन । पुस ५ गते परिसरमा दर्ता भएको उजुरीलाई बेवास्ता गर्दै आएको परिसरलाई आईजीपी अर्यालले जुनसकेकै हालतमापनि सिलवालाई पक्राउ गरी कानुनी दायरमा ल्याउन निर्देशन दिएपछि परिसरले पक्राउ पुर्जी जारी गरेको परिसरका एक अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए ।
परिसरले पक्राउपुर्जी जारी गरेर सांसद सिलवाललाई पक्राउ गर्न सादा पोशाकका प्रहरी उहांको बालकुमारीस्थित निवासमा पठाएको भएपनिउनीहरु भने रित्तोहात फिर्ता भएका थिए । प्रधानमन्त्री देउवाले केही कानुनबिधसंग छलफल गरेपछि सांसद सिलवाललाई पक्राउ गर्न आदेश दिनुभएको बताइएको छ । सिलवाल बिरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले मंगलबार नै बरिष्ठ कानुनब्यवसायीसंग परामर्श गर्नु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्