रोगले सुन्तलाका बोट मासिदै



हिक्मत नेपाली, दैलेख ।
डुङ्गेश्वर गाउँपालिका वडा नं. २ सेर्माकोटका किसानको बगैंचामा एक बर्ष अगाडी लटरम्म सुन्तला फल्ने गथ्यो । त्यति बेला गाउँका स्थानीयले सुन्तला विक्री गरेर लाखौ रुपैया आम्दानी गरेका थिए । सुन्तला कति हुन्छ भन्ने हिसाब किताब थिएन । अगुवा कृषक पितम बहादुर थापाका भन्छन् “अहिले बगैंचाका सबै सुन्तला बोटहरू सुके ।” भएका बोटमा सुन्ताला फल्नै छाडे । यति ठूलो सुुन्तला बगैंचामा अहिले सुन्तलाको दाना देखिनै छाडे ।

उनि भन्छन् “पोहोर साल सम्म लाखौ रुपैयाँको सुन्तला विक्री गरेको थिए ।” अहिले सोच्दैमा अचम्म लाग्छ । कहिलेकाहीं सपनाजस्तै लाग्छ,’ उनले भने, ‘हिजो त्यत्रो सुन्तला फलेको बगैंचामा अहिले छैन । रोगले सुन्तलाका बोट सुके, सुन्तला फलेनन,’ उनले भने ।

उनि जस्तै सोहि स्थानका टिकाराम नेपालीपनि सुन्तलाको बोट नै सुके पछि चिन्तीत बनेका छन् । सुन्तलाका बोट रोगले सुकेपछि उत्पादन घटदै गएको उनले बताए । अहिले सुन्तलाको बोट सुके पछि आम्दानी नै भएन् । २ बर्ष अगाडी सुन्तलाको बोट बाटै सुन्तला विक्री हुन्थो । उनि भन्छन् “सुन्तला खरिदका लागि बोटमा ठेकेदार आउथे ।” तर अहिले सुन्तला नै छैन् ।

गत बर्ष सम्म दैलेखका विभिन्न स्थानका सुन्तला बगैचामा लटरम्म फल्ने सुन्तलाका बोट यस बर्ष भने सुकेका छन् । सुन्तलाका बोट सुके पछि यस बर्ष सुन्तला उत्पादनमा कमी आएको छ । सुन्तलाका बोट हराभरा र सुन्तला लटरम्म फल्ने सुन्तला बगैचा अहिले सुकेर नांगो भएका छन् ।

कृषकहरूका अनुसार सुन्तलाका बोटहरू मर्न थालेपछि खेती गरिएको क्षेत्र र उत्पादन घट्दै गएको छ ।

सुन्तला बचाउने कार्यक्रमहरू पनि छैन, सेर्माकोटका दिलिप खड्काले भने “सुरुमा पातहरू पहेंलो हुने, बोटमा कमिला लाग्ने, दाना सानो तथा पातलो लाग्ने र अन्तमा टुप्पोबाट मर्दै गएर बोट नै सखाप हुने गरेको छ ।” पछिल्लो समय ‘कलमी’ गरेर सुन्तलाका बोटहरू रोपिए पनि राम्रो हुन नसकेको कृषकहरुको भनाई छ ।

डुङ्गेश्वर गाउँपालिका २ सेर्माकोटका कृषक नर बहादुर खत्रीले आफुले लगाएको १ हेक्टर जमिनमा लगाएको सुन्तलाका बोट सुकेपछि सुन्तलामा उत्पादनमा कमी आएको बताए । सुन्तलाका बोट त सुकेकै छन् त्यसमा पनि भएका बोटमा दाना लाग्ने समयमा पानी र असिनाका कारण क्षती पु¥याएपछि उत्पादनमा झनै कमी आएको खत्रीको भनाई छ । जिल्लाका अगुवा कृषक छिउडीका नर बहादुर खड्काले आफुले यस बर्ष मेहनतको फल नपाएको बताए ।

सुन्तला फल्नु अघि बाहिरका व्यापारि संग सम्झौता गरेका खड्काले भने “अन्तिममा सुन्तला उत्पादन राम्रो भएन्, ।” आफ्नो बगैचामा ६ सय बोट सुन्तला भएपनि सुन्तला उत्पादन राम्रो नहुँदा सम्झौता अनुसारको सुन्तला बाहिरका व्यापारिलाई दिन नसकिएको उनले बताए ।

जिल्ला कृषि विकास कार्यालय दैलेखले भने सुन्तलामा लागेको रोग निराकणका लागि कार्यक्रम संचालन गरेको बताएको छ । किराबाट जोगाउन र बोट सुक्न नदिन निलोतुथो र चुनाको ब्रोडो पेष्ट र ब्रोडो मिक्स बनाएर बोटमा प्रयोग गर्न कृषकहरुलाई सिकाएको कृषि विकास कार्यालय दैलेखका योजना अधिकृत राजु भुजले बताए । जिल्लामा पानी र असिनाका कारण पनि सुन्तलामा ७५ प्रतिशत ढुसिजन्य रोग लागेको उनले बताए ।

जिल्ला कृषि विकास कार्यालय दैलेखले यस बर्ष सुन्तला उत्पादनमा कमी आएको बताएका छ । गत बर्ष भन्दा यस बर्ष दैलेखमा ३ प्रतिशतले सुन्तला उत्पादन घटेको कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिकुल मौसमले बोटमा विभिन्न किसिमका रोग लाग्दा उत्पादन घटेको कृषि प्राविधिकहरु बताउछन् । जिल्ला भर ५ सय ८५ हेक्टरमा सुन्तला लगाइएको छ । कृषि कार्यालयले यस बर्ष सुन्तलाको बोटमा ५ प्रकारका रोग देखा परेको बताएको छ । अघिल्लो बर्ष जिल्लामा ५ हजार ८ सय ८९ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।

टुप्पाबाट बोट सुक्दै जाने, जरा कुहिने, सुक्ष्म तत्वको कमीले पात पहेलो हुने र फेद कुहिने जस्ता समस्या देखिएको कृषि विकास कार्यालय दैलेखले जनाएको छ ।
अहिले जिल्लामा दर्जन बढी स्थानमा सुन्तला खेती गरिएको छ । सुन्तलाको पकेट क्षेत्र मानिने सेर्माकोट, गमौडी, दुल्लु,रावतकोट, छिउडीपुसाकोट, नेपा, डाडाँपराजु, कालभैरब लगाएतका स्थानमा सुन्तला खेती गरिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्