६ दलले मिलाएनन् उम्मेदवारको सूची



नेपाल समाचारपत्र
काठमाडौं
प्रदेशसभाको समानुपातिकतर्फ ६ वटा राजनीतिक दलका उम्मेदवारहरूको सूची नमिलेको पाइएको छ। निर्वाचन आयोग नेपालको सोमबार बसेको बैठकले नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चा नेपालले बुझाएको उम्मेदवार सूची नमिलेको निर्णय गरेको हो।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याल मुख्य निर्वाचन अधिकृत रहनुभएको समानुपातिक निर्वाचन कार्यालयले त्यसको छानविन गरेको थियो। उक्त बैठकले त्यसको छानविनपछि त्यसलाई सच्याउन निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता दिनेश घिमिरेले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

‘उम्मेदवारको नमिलेको सूची सच्याउन मंगलबार पत्र पठाउँदै छौं। पत्रबमोजिम दलहरूले तीन दिनभित्र सच्याएर आयोगमा पुनः पेस गर्नुपर्नेछ’, उहाँले भन्नुभयो– ‘कसैको समावेशीको अनुपात मिलेको छैन भने कसैले महिलाको आवश्यक संख्या पुर्याएका छैनन्। धेरैको समानुपातिक कलस्टर नमिलेको देखिन्छ।’

आयोगका अनुसार एउटा मात्र सिट पाएको राष्ट्रिय जनमोर्चाले महिला उम्मेदवारको नाममा पुरुष उम्मेदवार सिफारिस गरेको छ। संघीय समाजवादी फोरमले पनि महिला कोटा मिलाएको छैन भने कांग्रेसले क्रम संख्या मिचेर उम्मेदवारको छनोट गरेको पाइएको छ।

१३ वटा राजनीतिक दलले गत शुक्रबारसम्ममा प्रदेशसभाका लागि समानुपातिक उम्मेदवारको नामावली बुझाएका थिए। आयोगले दलले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारण गर्दा त्यस्तो दलले प्राप्त गरेको सिट सङ्ख्याको आधारमा महिला तथा अन्य समावेशी समूह एवम् अल्पसङ्ख्यक समुदाय तथा पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गराउनुपर्ने सङ्ख्यासमेत निर्धारण गरेको थियो। बन्दसूचीमा नाम समावेश भएको क्रमअनुसार सूची पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।

आयोगले समावेशिताको आधार बनाएको ६ वटा क्लस्टर विपरीत नामावली पठाएको पाइएकाले आयोगले यसमा गम्भीरतापूर्वक छानविन गरिरहेको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्