यसरी मनाइयो टोपी दिवस (फोटो फिचर)



ज्ञानमणि नेपाल, काठमाडौं । जागरुक युवा अभियान नेपालले बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि अन्र्तराष्ट्रिय नेपाली टोपी दिवस मनाएको छ ।
अभियानले बिगत ४ बर्ष देखि अंग्रेजी नयाँ बर्ष अर्थात जनवरी १ का दिन नेपाली टोपी दिवस मनाउदै आएको हो । पाँचौं नेपाली टोपी दिवसको अवसरमा आयोजक जागरुक युवा अभियानले काठमाडौँको माइतीघर मण्डलामा भेला भई प्रभातफेरी कार्यक्रम गरेको थियो भने त्यहाँबाट भद्रकाली, शहिदगेट हुँदै शान्तिबाटिका पुगेर कोणसभा गरेको थियो । कार्यक्रममा सबै उमेर समुहका कलाकार, विद्यार्थी, पत्रकार तथा विभिन्न पेशाकर्मीहरुको उल्लेख्य सहभागिता थियो । युवाहरु मात्र नभई युवतीहरु समेत नेपाली टोपीमा सजिएर सहभागी भएका थिए । यस्ता कार्यक्रमले लोप हुने अवस्थामा पुगेको राष्ट्रियतालाई उजागर गर्न प्रेरित गर्ने सहभागी साहित्यकार माया ठकुरीले बताइन् ।
प्रभातफेरिमा सहभागीहरुले ‘नेपाली मन, नेपाली पन, नेपाली टोपी हाम्रो शान’, ‘नेपाली टोपीः मेरो गौरव, मेरो पहिचान’ लगायतका नारा लेखिएका प्लेकार्ड समेत बोकेका थिए । अंग्रेजी नयाँ बर्ष मनाउनु नराम्रो कुरा होइन तर यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ भन्ने उद्देश्यले टोपी दिवसको सुरुआत भएको जागरुक युवा अभियानका संयोजक घनश्याम श्रेष्ठले बताए ।
यस अभियानमा संयोजक घनश्याम श्रेष्ठ छन् भने अन्य अभियन्ताहरुमा रामजी बलामी, जनार्जन पौडेल, ज्ञानमणि नेपाल कालोटोपी, मोहमद अजमत अलि, शिव धिताल, राजेश खत्री, लक्ष्मण लम्साल, बसन्त हुमागाई, जनक कार्की लगायत छन् । यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिने अभियन्ताहरुले बताए । ०६८ सालमा तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय पोशाक हटाए पछि युवाहरुले राष्ट्रिय पोशाक निरन्तरताको माग गर्दै जनवरी १ लाई नेपाली टोपी दिवसको रुपमा मनाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्