मीरा जीवितै छन् जस्तो लाग्छः हरिवंश आचार्य



भगवती तिमल्सिना, काठमाडौं

श्रीमती मीरा आचार्यको केही वर्षअघि भएको मृत्युको पीडा भोगिरहेका वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले शनिबार तीलगंगा आँखा प्रतिष्ठानमा आयोजित आँखादाताको सामूहिक श्रद्धाञ्जलीसभाको प्रमुख आतिथ्यता ग्रहण गर्दै भन्नुभयो– ‘दिवंगत श्रीमती मीराको आँखाले यता कतैबाट मलाई हेरिरहेको छ कि जस्तो लागिरहेको छ।’

‘श्रीमती मीराको मृत्युपर्यन्त दान गरिएको ती दुवै आँखा दुई जना नानीले पाएको खबर सुन्दा मीरा अझै पनि जीवितै छन् जस्तो लाग्छ’, उहाँले थप्नुभयो– ‘मरेपछि जलेर या गाडेर नष्ट हुने शरीर समयमै दान गरौं, शरीर मरे पनि अंग मर्दैन। अरूका लागि काम लाग्छ। जीवित छँदा मात्र हैन मरेर पनि पुण्य कमाऔं।’

बीपी नेत्र अध्ययन प्रतिष्ठान त्रिवि शिक्षण अस्पताल महाराजगन्जका एसोसिएट प्रोफेसर डा. मिनु चौधरीले भन्नुभयो– ‘माटो र खरानी हुने शरीरलाई दान गरेर जीवित राखौं। नेपालमा अब आँखा दानका क्षेत्रमा जनचेतना मात्र भएर पुग्दैन आँखाको दृष्टि कम हुने कर्नियाको समस्याका आधारमा कर्नियल सर्जन र उपकरण कम छ। यसतर्फ सरकारको समयमै ध्यान पुग्नु जरुरी छ।’

एक साताअघि दुवै आँखाको नानी प्रत्यारोपण गरी हाल बंगलादेशमा एमबीबीएस अध्ययन गर्दै आएकी बन्दिता कार्की आँखाको नानी पाएर संसार देख्न पाएकामा आँखा दान महादान रहेछ भन्नुहुन्छ। आँखाको नानी प्राप्त गरी उज्यालो संसार देख्नुभएका स्याङ्जा सेती दोभान निवासी सविन बोगटी जन्मजातै दृष्टिविहीन भएको र आफूले ०५८ सालमा पहिलो पटक आँखाको नानी प्रत्यारोपणपछि यो बाहिरी संसार देख्न र पढ्न लेख्न पाएकामा खुसी व्यक्त गर्दै भविष्यमा आँखा दानको अभियानमा जुट्न सबैलाई आग्रह गर्नुहुन्छ।

नेपाल आँखा दान समाजका अध्यक्ष जगन्नाथ महर्जन भन्नुहुन्छ– ‘आँखाको नानी संकलनभन्दा प्रत्यारोपणको माग दुईगुना बढी भएकै कारण अझै धेरै मानिस अन्धोपनको शिकार हुन बाध्य छन्।’ विराटनगरर आँखा अस्पतालका अध्यक्ष डा. सञ्जय सिंह २२ वर्षअघि तिलगंगामा आँखा प्रत्यारोपण गरेको हेरी प्रभावित भएर विगत ८ वर्षदेखि आफू पनि यही क्षेत्रमा जुटेको बताउनुहुन्छ।

नेपालमा थुपै्र आँखाको नानी बिग्रिएका व्यक्तिका लागि नेपाल आँखा बैंकले शुरू गरेको आँखाको नानी संकलन र प्रत्यारोपण सेवा वरदान सावित भएको छ। बैंकमा अहिले ७० हजारभन्दा बढी दाताले मृत्यु पर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन् भने झन्डै १२ हजार ५ सय जनाले आँखाको नानी दान प्राप्त गरी पुनः दृष्टि प्राप्त गरेका छन्। पछिल्लो समयमा आँखा दान गर्न प्रण गर्नेको संख्या दोब्बरले बढेको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्