भन्सारमा अवैध काण्डः मालधनी र एजेन्टको फन्दामा भारतीय ट्रक र चालक



कुमार श्रेष्ठ, बाँके । कात्तिक ११ गते साँझ नेपालगञ्ज भन्सारमा राजश्व नै नतिरेर मालवाहक भारतीय नम्बर प्लेटको ट्रक पास भयो । मालधनी र भन्सार एजेन्टले ‘सेटिङ’ मिलाएर पास गरेको ट्रकलाई चौलिक्कामा संघीय प्रहरी इकाई कार्यालयका प्रहरीले नियन्त्रणमा लिएपछि खैलाबैला मच्चियो ।
मालवाहक ट्रक र चालकलाई राजश्व अनुसन्धान कार्यालयमा बुझाइयो । राजश्वले मंसीर ११ गते २४ लाख २९ हजार ६ सय जरिवाना, एक महिना कैद र ट्रक जफतको निर्णय ग¥यो । एघार हजार २ सय (भारु) मा भाडामा आएको भारतीय ट्रक जफत भएको छ भने दैनिक तीन सय रुपैया ज्यालादारी पाउने चालक यतिबेला जेलमा छन् ।

उक्त ट्रक भारतबाट थपलिया इन्टरप्राइजेज र दुर्गेश इलेक्ट्रोनिक्स एण्ड जनरल अर्डर सप्लायर्सको मेसिनरी सामान बोकेर नेपाल आएको थियो । सामान किनेको ठाउँको बिलदेखि नेपाल प्र्रवेश गर्दासम्मको भारतीय सबै राजश्व कार्यालयहरुमा जाँच गर्दै आएको ट्रकलाई नेपालगञ्ज भन्सारमा आइपुग्दा राजश्व ठग्ने नियतले थपलियाका प्रोपोराइटर रामबाबु र दुर्गेसका प्रोपोराइटर पप्पु तेलीले भन्सारका दलाल जगदीशसँग मिलेर भन्सार नतिरी ट्रक पास गराएका थिए ।

ट्रक जफत र चालक जेल परेको थाहा पाएपछि नेपालगञ्ज आइपुगेका भारत कानपुर निवासी ट्रकका मालिक हंशकुमार गुप्ताका अनुसार, पहिलो पटक ट्रक लिएर नेपाल आएका चालक पाललाई रामबाबु, पप्पु, जगीदश, पप्पुका कर्मचारी अरविन्द र सोनुले भन्सारमा सबै प्रक्रिया मिलाएको भन्दै हातको इशाराले अगाडि बढ्न भनेपछि ट्रक भन्सार कटेको थियो । चौलिक्कामा संघीय प्रहरी इकाईका प्रहरीले ट्रकलाई रोकेपछि मालधनी र भन्सार एजेन्ट भागेका थिए ।

‘दश लाख रुपैया लोनमा ट्रक किनेर भाडामा चलाउदै आएको छु । मालधनी र भन्सारका एजेन्टले राजश्व ठग्ने नियतले गर्दा हामीलाई फसाए, कानूनी प्रक्रियामा अगाडि बढ्न नेपालगञ्ज आइपुगेका ट्रक मालिक गुप्ताले भन्नुभयो । ट्रक पक्राउ परेपछि यसअघि एकपटक गुप्ता नेपाल आएका थिए । मालधनी र भन्सार एजेन्टले ट्रक छुटाउनका लागि ५० हजार भारु जबरजस्ती लिएर आइन्दा नेपाल नआउन चेतावनी दिएको गुप्ताले बताउनुभयो । ट्रक मालिक नेपाल आउदा सबै पोल खुल्ने मालधनी र एजेन्टलाई डर थियो । ‘नेपाल आइस् भने ज्यानकै खतरा हुन्छ, भारतबाट फोनमा मात्रै कुरा गर्नु, मालधनी र एजेन्टले भनेका थिए, गुप्ताले भन्नुभयो, पछिल्ला दिनमा उनीहरुले फोन उठाउन छोडेपछि म नेपाल आएको हुँ ।’

भन्सारबाट राजश्व नतिरी मालवाहक ट्रक पास भएको घटनाले भन्सार विभागलाई समेत हल्लाएको थियो । भन्सार विभागका निर्देशक एवं प्रवक्ता शिव भण्डारीको नेतृत्वमा तीन सदस्य छानबिन समिति नेपालगञ्ज आएको थियो । समितिले भन्सारका तीन कर्मचारीको कमजोरी ठह¥याएर काठमाडौं तानेको थियो । कर अधिकृत सुभाष श्रेष्ठ, कमल खड्का र कार्यालय सहयोगी मंगल शाही कारबाहीको दायरामा परेका थिए । डेढ महिनाजति काठमाडौं बसेका भन्सार कर्मचारीहरु नेपालगञ्ज फर्किसकेका छन् ।

मालधनी, भन्सार एजेन्ट र कर्मचारीको मिलोमतोमा निर्दोष भारतीय ट्रक चालक जेलमा सडेका छन् । भारतीय ट्रक पनि जफत भएको छ । यो घटना बाहिर आएपछि केही दिन नेपालगञ्ज भन्सारमा एजेन्टहरुले आन्दोलन गरेर कारबाही ठप्प पारेका थिए ।
यसअघि कनिकाको भन्सार गरेर चामल ल्याएको काण्ड पनि फर्दापास भएको थियो । कनिकाको भन्सार गरेर पास भएको ट्रक चौलिक्कामा पल्टिदा चामल फेला परेको थियो । भन्सारमा साना ऐन कानून लाग्ने र ठूलाले मिलोमतोमा सामान पार गराउने गरेको स्रोतहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्