कोसीको पानी गाउँ निकाल्ने आयोजनाको ७० प्रतिशत काम सकियो



रामधन राई, खोटाङ । खोटाङमा सुनकोसीको पानी खोटेहाङ गाउँपालिकास्थित पानीको हाहाकार मच्चिने बस्तीमा निकाल्ने आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको छ । कोसीको पानी उक्त गाउँपालिकाको सुख्खा क्षेत्र लिच्कीराम्चेस्थित कालापानीमा निकाल्ने रसुवाघाट–कालापानी पम्पिङ प्रबिधि खानेपानी आयोजनाको ७० प्रतिशत काम सम्पन्न सकिएको हो ।
कोसीबाट गाउँसम्म पानी लिफ्ट गर्न २०७२ साल चैत्र ११ गते उद्घाटन गरिएको उक्त आयोजना अन्र्तगत नदी किनारमा मेसिन राख्ने पम्प हाउस तथा पानी सङ्कलन ट्याङ्की निर्माण भईसकेको छ । यस्तै, नदी र गाउँकोबीचमा दुई वटा आरभिटी ट्याङकी तथा सबैभन्दा माथि गाउँमा ३० हजार लिटरको आरसिसि ट्याङ्की निर्माण कार्य समेत सम्पन्न भइसकेको निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले बताउनुभयो ।
गाउँमा पानी निकाल्ने प्रयास स्वरुप थालिएको आयोजनाको एक हजार २ सय मिटर जिआई पाईप वेल्डिङ गरेर जडान गरिसकिएको छ । उक्त क्षेत्रमा पाईप अड्याउने सय वटा पिलर पनि बनाइसकिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । आयोजनाका लागि निर्माणस्थलमा पानी तान्ने तीन वटा मेसिन, २५ केभीका तीन वटा विद्युत ट्रान्सफर्मर, पोलिथिन पाईप लगायतका सामान ल्याइसकिएको जनाईएको छ ।
निर्माण उपभोक्ता समितिका अनुसार अब नदीको किनारमा समवेल (इनार) निर्माण, विद्युतका १७ वटा पोल, ६ सय मिटर जिआईपाईप र तार खरिद गरेर ल्याउन बाँकी छ ।
यसअघि छिमेकी वडा इन्द्रेणीपोखरीबाट ल्याइएको पानीको मुहान सुकेपछि कालापानीका १ सय १५ घरपरिवार ३ घण्टासम्म धाएर ल्याएको पानी पिउन बाध्य छन् ।
वरपर भएका खानेपानीको मुहान सुकिसकेको र अन्य बैकल्पिक श्रोत नभएपछि कालापानीमा नदीको पानी तान्ने बिकल्प अघि सारिएको थियो । उपभोक्ताको ३६ लाख बराबरको श्रमदान रहने आयोजना एक करोड ८० लाखको लागतमा पूरा हुने खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालय खोटाङका प्रमुख विजय ठाकुरले बताउनुभयो । क्रमागत योजनाकारुपमा रेडबुकमा समाबेस आयोजनाको काम यसै आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ ।
गाउँ र नदीकोबीच तीन स्थानमा ट्यांकी निर्माण गरिने र विद्युतमार्फत पहिलो, दोश्रो हुँदै तेश्रो ट्यांकीमा नदीको पानी निकालिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्