नजन्मियोस खच्चड



गुट, टुट र फुट। नेपाली राजनीतिक दलसँगका ज्यादै निकट शब्द। कसैले राजनीतिक दलको विस्तृत व्याख्या विश्लेषण गर्छ भने यी शब्द छुट्दै छुट्दैनन्, यदि छुटिहाल्यो भने विश्लेषण पक्कै पनि अधुरो अपुरो हुन्छ।

हिजो–आज मुलुकको राजनीतिक बजार फेरि टुट र फुटसँग जोडिएको छ। ओली र प्रचण्ड नेतृत्वका छुटा–छुट्टै दल एउटै मिलेर एउटै कम्युनिस्ट पार्टी बन्ने कुरा सवत्र चासोको विषय बनेको छ। एकता प्रकृया कसरी अघि बढाउने, कुन नेतालाई कस्तो पद दिने आदि⁄इत्यादि प्रसंग हरेक दिन दोहोरिरहेको छ। ठूला दल मिल्ने लगभग निश्चित बनिरहेका बेला अन्य साना वामदल पनि मिल्ने कुरा धरहराले सुनेको छ।

वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकरण हुने भएछन्। विगतमा एउटै पार्टीमा रहेर टुटफुटको राम्रो स्वाद चाखेका यी दुई पार्टीको अबको पुनर्मिलन भने गज्जवको हुँदै छ। वैद्य समूह स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा ‘जनगणतान्त्रिक मोर्चा’ मार्फत चुनावमा सहभागिता जनाएको थियो भने विप्लवको पार्टीले बहिष्कार गर्दै विस्फोटर आगजनीका घटना गराएको थियो।

भनेसी, अब चुनाव बहिष्कार गरेको विप्लव समूहले घुमाउरो तरिकाले लोकतान्त्रिक अभ्यास स्वीकार्ने भएछ। यी दुई पार्टीको पुनर्मिलन घोडा र गधाको संसर्गबाट जन्मिने खच्चडजस्तो चाहिँ नहोस है ।

प्रतिक्रिया दिनुहोस्