जनकपुर–जयनगर रेल वे सञ्चालनमा ढिलाइ



सुरेश तामाङ, काठमाडौं
यसै वर्षको फागुनदेखि पुनः सञ्चालनमा आउने भनिएको जनकपुर–जयनगर रेल वे ढिला हुने भएको छ। तराईमा आएको बाढी, डुबानले गर्दा रेल वे पुनः सञ्चालनमा ल्याउन ढिलाइ हुने भएको हो।

रेल विभागका महानिर्देशक अनन्त आचार्यका अनुसार फागुनमा रेल वे पुनः सञ्चालनमा ल्याउने तयारी गर्दैगर्दा तराईमा आएको बाढी र डुबानले सम्पूर्ण कामलाई प्रभावित पारेको छ।

‘तराईको डुबान र बाढीले हाम्रो सम्पूर्ण काम प्रभावित बनायो। जसले गर्दा निर्धारित समयमा रेल वे सञ्चालनमा ल्याउन सकेनौं’, उहाँले भन्नुभयो– ‘हामीले केही महिनाको समय थप गरेर रेल वे पुनः सञ्चालनमा ल्याउने तयारी गरेका छौं।’

रेल विभागले २०७५ कात्तिक दोस्रो सातासम्म अन्तिम म्याद थप गरेर त्यो अवधिभित्र रेल वे सञ्चालनमा ल्याउने तीव्र तयारी गरिरहेको छ।

नेपालमा विसं १९९४ मा भारत सरकारकै सहयोगमा राम–जानकी विवाह महोत्सवको अवसर पारेर जनकपुर–जयनगर रेल्वेको सञ्चालन गरिएको थियो। नेपालको एक मात्र रेल वे सेवा विविध कारणले ३ वर्ष अघिदेखि बन्द भएको छ।

रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा भएको द्विपक्षीय सम्झौता भएको थियो। सोहीअनुसार २०११ माघ महिनामा निर्माणको थालनी भएको थियो।

भारत सरकारको आर्थिक सहयोगमा भइरहेको निर्माणका लागि शुरुआतमा भारत सरकारले ५ अर्ब ३९ करोड भारु सहयोग गरे पनि त्यो रकम परिमार्जित भएर हाल ७ अर्ब २० पुगेको छ।

विभागका अनुसार पहिलो चरणमा जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर, दोस्रो चरणमा कुर्थादेखि भंगहासम्म र तेस्रो चरणमा बर्दिबाससम्म गरी जम्मा ७० किलोमिटर ब्रोडगेज निर्माणको काम भइरहेको छ। विभागले पहिलो चरणअन्तर्गत जयनगरदेखि कुर्था ३५ किलोमिटर खण्डमा फागुनसम्ममा रेल चलाउने लक्ष्य लिई काम गरिरहेको थियो। तर देशको तराई भेगमा आएको विपत्तिले गर्दा लक्ष्य पूरा हुन सकेन। अहिले लिकमा माटो भर्ने, ग्राभेलिङ गर्ने तथा साना–ठूला पुलपुलेसाको निर्माण कार्य लगभग सम्पन्न गरेर फलामको लिकहरू बनाउने, ढुंगाहरू बिछइउने काम भइरहेको विभागले जनाएको छ।

जयनगरदेखि जनकपुरसम्म ७० प्रतिशत सम्पन्न भइसकेको विभागले जनाएको छ। अहिले विभिन्न स्टेसन तथा हल्टहरूमा स्टेसन निर्माणका साथसाथै कर्मचारीको आवासका लागि फ्ल्याटसहितको क्वार्टर निर्माण भइरहेको छ।

नयाँ निर्माण भइरहेको रेलको लिक पहिलेभन्दा ठूलो (ब्रोडगेज) रहेको छ। सानो आकारको रेलको लिकलाई विस्थापित गरेर ठूलो आकारको लिक निर्माण गरिएको विभागले जनायो। त्यस्तै रेल वे निर्माणको काम हुँदै गर्दा विभागले अर्थ मन्त्रालयसँग डेढ वर्षअघि रेलको इन्जिन र डब्बा किन्न २ अर्ब रुपियाँ माग गरेको थियो। तर मन्त्रालयले भने रेलको लिक तयार नभईकन बजेट मागिएको भन्दै बजेट दिन नमिल्ने प्रतिक्रिया जनाएको थियो।

विभागले अर्डर दिएको १ वर्ष वर्षपछि मात्रै डब्बा तयार हुने भन्दै रेल वेको लिक तयार हुनुअघि नै रेल किन्न मन्त्रालयमा बजेट माग गरिएको जनाएको छ

नेपाल–भारतबीच छलफल हुने
काठमाडौं, (नेस)
जनकपुर–जयनगर रेल वेमा कस्तो किसिमको रेल सञ्चालनमा ल्याउने भन्ने विषयमा नेपाल–भारतबीच छलफल हुने भएको छ। रेल विभागका अनुसार जनकपुर–जयनगर रेल वेमा कस्ता रेल सञ्चालनमा ल्याउने भन्ने विषयमा छलफलका लागि दुवै देशका रेल प्राविधिकको भेला बस्न लागिएको हो।

विभागका महानिर्देशक अनन्त आचार्यले जनकपुर–जयनगर रेल वेमा रेल सञ्चालन गर्न दुवै देशका प्राविधिक भेला भई छलफल गर्न लागिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्