‘गुफाको डाँडो’मा खै पूर्वाधार ? (फोटोफिचर)



प्रताप बानियाँ, म्याग्दी । केही अग्लो भाग । गाउँको शिरमा पर्ने चुच्चो आकारको डाँडो । अलिकति सम्म परेको ठाउँ । डाँडाकाँडाले घेरिएको र लोभ्याउँदो दृश्य । चारैतिर आँखाको नजर घुमाई–घुमाई मनोरम दृश्यावलोकन गर्न सकिने । आँखै अगाडि सेताम्मे हिमाल अनि बिहानको सुर्योदय र बेलुकीपखको सुर्यास्त समेत देखिने । निकै सुन्दर, आकर्षक र मनमोहक दृश्यहरु देख्न सकिने गुफाको डाँडोले पर्यटकहरुलाई पर्खिरहेको छ ।
पर्यटकीय आकर्षणको सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा पर्ने गुफाको डाँडो पर्यटकको पर्खाइमा रहेको छ । पर्याप्त सम्भावना हुँदाहुँदै पनि ओझेलमा पर्न गएको हुँदा आवश्यक प्रचारप्रसार र पूर्वाधार विकासको पर्खाइमा पनि रहेको छ । प्रचुर पर्यटकीय सम्भावना बोकेको डाँडो आवश्यक प्रचारप्रसार हुन नसक्दा र भौतिक पूर्वाधारहरुको विकास नहुँदा पछाडि परेको हो । रमणीय एवं पर्यटकीयस्थलको रुपमा चिनिए पनि गुफाको डाँडोमा विकासका पूर्वाधारले ठाउँ पाउन सकेको छैन । गुफाको डिलका नामले समेत चिनिएको उक्त डाँडो पर्यटकहरुका लागि निक्कै आकर्षकस्थलका रुपमा अवस्थित छ । तर, पनि विकासका कारण पछि परेको हुँदा गुफाको डाँडो डाँडोमै सीमित बन्न पुगेको हो ।
पर्यटकीय, ऐतिहासिक र रमणीयस्थल रहेपनि पचारप्रसारको कमी, सहज यातायातको असुविधा र उपयुक्त पदमार्ग नहुँदा गुफाको डाँडो ओझेलमा परेको स्थानीयवासिन्दा बताउँछन् । नेपालमा बाईसे–चौबीसे राज्यका पालामा गाजने गाउँमा १४औं शताब्दीताका तत्कालीन राजा दिलिपबम मल्ल (डिम्ब)ले भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर जगन्नाथ मन्दिरको स्थापना गरेको किम्बदन्ती रहेको छ । जगन्नाथ मन्दिरको छुट्टै महत्व र विशेषता भए पनि अहिलेसम्म गाजने गाउँ र गुफाको डाँडामा विकासको कुनै पनि नजर पर्न सकेको छैन । गुफाको डाँडोमा तीनओटा हेलिकप्टर अट्न सक्ने हेलिप्याडहरु समेत रहेका छन् ।
म्याग्दी सदरमुकाम बेनीबजारदेखि ३ घण्टाको पैदल दुरीमा रहेको गुफाको डाँडामा सवारीसाधनमार्फत डेढ घण्टामा सजिलै पुग्न सकिन्छ । समुन्द्री सतहदेखि झण्डै २ हजार २ सय मिटरको उचाइमा अवस्थित गुफाको डाँडाबाट माघ, फागनु र चैत महिनामा ढकमक्क फुलेको लालीगुराँसको दृश्य हेर्न पाइन्छ । वनजङ्गलको नजिकै रहेको गुफाको डाँडोमा जुनसुकै समयमा पनि बनभात खानलाई जान सकिन्छ । लालीगुराँसको सुगन्ध सुँध्दै धौलागिरि, अन्नपूर्ण लगायतका हिमालहरुलाई पृष्ठभूमीमा पारेर मोबाइलमा सेल्फी खिचेर रमाउन सकिने गुफाको डिलबाट देखिने हिमाल र आकाशको दृश्य धर्तीसँग जोडिन लागेको क्षितिज जस्तो देखिन्छ । प्रसिद्ध जगन्नाथ मन्दिरमा जाने भक्तजनहरु गुफाको डाँडोमा पुग्ने गरेका छन् । मन्दिरदेखि नजिकै रहेको डाँडोमा पुग्दा थकाई मेटिनुका साथै रमाइलो र आनन्दको अनुभूति गर्न पाइन्छ ।
गुफाको डाँडाबाट चारैतिरको डाँडाकाँडा, हरियाली तथा मनोरम हिमश्रृङ्खला लगायतको लोभलाग्दो दृश्य देखिन्छ । पर्यटकीय एवं रमणीयस्थल भए पनि प्रचारप्रसार र भौतिक पूर्वाधारको अभाव, सहयोगी दाता नहुँनु र सरकारी निकायको वेवास्ताले गुफाको डाँडो ओझेलमा परेको जगन्नाथ मन्दिर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले बताउनुभयो । उहाँका अनुसार गुफाको डिलमा भ्यु–टावर निर्माणका लागि चालु वर्षमा वडा कार्यालयबाट एकलाख रुपैयाँ बजेट विनियोजन भएको छ । उक्त बजेटबाट टावरको लागत स्टमेट तयार गरी निर्माणका लागि आवश्यक स्रोत जुटाइने अध्यक्ष बानियाँको भनाई छ । धार्मिक महत्वको जगन्नाथ मन्दिर र पर्यटकीय सम्भावनायुक्त गुफाको डाँडोमा विकास गर्न सकेमा ठूलो सङ्ख्यामा पर्यटकहरु भिœयाउन सकिने जनकल्याण मावि पुलाचौरका शिक्षक चिरञ्जीवी सुवेदीले बताउनुभयो । प्रसिद्ध गलेश्वर मन्दिर, पुलहाश्रम र जगन्नाथ हुँदै पर्यटकीयस्थल टोड्के पुग्ने पदमार्ग निर्माण गर्न सकेमा पनि धार्मिक पर्यटक बढ्नुका साथै स्थानीयको दैनिकीमा समेत परिवर्तन आउने प्रशस्तै सम्भावनाहरु रहेका छन् । नेपालकै प्रख्यात मन्दिरका रुपमा अवस्थित जगन्नाथको प्रचारप्रसार भएमा त्यस क्षेत्रको विकास हुने देखिन्छ । ओझेलमा परेको जगन्नाथ र गुफाको डाँडोलाई धार्मिक र पर्यटकीय गन्तव्यस्थलको रुपमा चिनाउनुपर्ने स्थानीयको भनाई छ ।
दर्जन हिमालको मनोरम दृश्यः
पर्यटकीय सम्भावना बोकेको गुफाको डाँडाबाट दर्जन हिमालहरु देख्न सकिन्छ । संसारकै सातौं अग्लो धौलागिरि हिमालसहित अन्नपूर्ण पहिलो र दोस्रो, निलगिरी, माछापुच्छ«े, मानपाथी, गणेश, गुर्जालगायतका दर्जन बढी हिमालहरुको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ । धौलागिरि हिमालमा मात्रै विभिन्न ६ वटा चुचुराहरु रहेका छन् । गुफाको डिलबाट हिमालको दृश्यसँगै विभिन्न क्षेत्रको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
साविकका ३६ गाविसको अवलोकनः
हिमालको साथसाथै गुफाको डाँडोबाट म्याग्दी जिल्लाका साविक ४१ गाविसहरुमध्ये ३६ वटा गाविसहरु नाङ्गो आँखाले देखिन्छ । उत्तरी म्याग्दीको कुईनेमङ्गलेको केही भागसँगै चिमखोला, दग्नाम, राखु हुँदै पश्चिमी क्षेत्रको रुम, ओखरबोट, ताकम लगायतका गाउँहरु गुफाको डिलबाट एकै नजरमा सररर हेर्न भ्याइन्छ । यसैगरी छिेमकी जिल्ला पर्वतको उत्तरी जलजला गाउँपालिकासहित बागलुङ र अन्य जिल्लाको डाँडाकाँडाहरु पनि देखिन्छन् । त्यस ठाउँबाट सदरमुकाम बेनी आसपासका क्षेत्र समेत देखिन्छ ।
कुखुरापालन र मदिरा उत्पादन निषेधः
पछिल्लो समय देशका कतिपय ठाउँहरुमा व्यावसायिक रुपमा कुखुरापालन र मदिरा उत्पादनको व्यापार गरिँदै आएपनि गाजने गाउँमा भने त्यो निषेध छ । गाजनेमा भगवान् जगन्नाथकै कारण कुखुरापालन र मदिरा उत्पादन हुँदैन । विगतमा कुखुरा पालेका र रक्सी बनाउने मानिसहरुको उठिबास लागेको हुँदा कुखुरा र मदिरा उत्पादन नहुने स्थानीयको अनुभव छ । जगन्नाथलाई कुखुरा पालेको र मदिरा उत्पादन गरेको मन नपर्ने हुँदा गाउँभरी नै त्यसको व्यापार नहुने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्