सिट बाँडफाँड



सुनील महर्जन, काठमाडौं ।

निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको सिट संख्या सार्वजनिक गरेको छ। आयोगको समानुपातिक एकाइले शुक्रबार प्रदेशसभाको समानुपातिकतर्फ पाएको मतलाई सिट संख्यामा परिणत गरेर सार्वजनिक गरेको हो। प्रतिनिधिसभासँगै प्रदेशसभाका लागि मंसिर १० र २१ गते दुई चरणमा निर्वाचन भएको थियो।

५ सय ३० सदस्य हुने प्रदेशसभामा २ सय २० सिट समानुपातिक निर्वाचनबाट छनोट गरिएको हो। आयोगले सातओटै प्रदेशमा दलहरूले पाएको समानुपातिक सिट सार्वजनिक गरेपछि अब भावी प्रदेश सरकारको तस्वीर स्पष्ट भएको छ। अन्तिम नतिजाअनुसार प्रदेश नम्बर १ र ३ मा एमालेको एकल बहुमत आएको छ। प्रदेश नम्बर २ बाहेक अन्य सबै प्रदेशमा वामपन्थी गठबन्धनको बहुमत पुगेको छ।

कुल प्रदेशसभा सदस्य ९३ रहेको प्रदेशसभामा प्रत्यक्षतर्फ ५६ जना निर्वाचित भइसकेका छन्। आयोगका अनुसार प्रदेश नं १ मा नेकपा(एमाले) ले १५ सिट पाएको छ। माओवादी केन्द्रले ५ सिट पाएको छ। प्रत्यक्षतर्फ ८ सिट पाएको कांग्रेसले समानुपातिकतर्फ १३ सिट पाएका छन्। प्रत्यक्षतर्फ १ सिट पाएको संघीय समाजवादी फोरमले समानुपातिकतर्फ २ सिट पाएको छ। प्रदेश नम्बर २ मा भने मधेसवादी गठबन्धनले बहुमत पाएको छ। समानुपातिकतर्फ एमालेले सातै प्रदेशमा गरी ७५ सिट पाउँदा कांग्रेसले उसकै हाराहारी ७२ सिट पाएको छ। तर, कांग्रेसले कुनै पनि प्रदेशमा सरकार बनाउन सक्ने छैन।

६ वटा प्रदेशमा प्रमुख प्रतिपक्ष हुन लागेको कांग्रेसले २ नम्बर प्रदेशमा भने समानुपातिकतर्फ सबैभन्दा धेरै सिट पाएको छ। २ नम्बर प्रदेशमा मधेसवादी गठबन्धनको बहुमत आउँदा नेकपा एमाले दोस्रो स्थानसहित प्रमुख विपक्षीको स्थानमा बस्न पाउने भएको छ। प्रदेश नम्बर २ मा समानुपातिक र प्रत्यक्षसहित ५४ सिट पाएर मधेसवादी गठबन्धनले बहुमतको सरकार बनाउने भएको छ। २ नम्बर प्रदेशमा संघीय समाजवादी फोरमले २९ सिट र राजपा नेपालले २५ सिट पाएका छन्। एमालेले २१ सिट पाएको छ भने कांग्रेसले १९ सिट, माओवादीले ११ सिट र नेपाल संघीय समाजवादी पार्टीले एक सिट पाएका छन्।

त्यसैगरी प्रदेश नम्बर ३ मा ५९ सिटसहित एमालेले एकल बहुमत पाएको छ। त्यस्तै माओवादीले २२ सिट पाएको छ। वाम गठबन्धनले यहाँ पनि दुई तिहाइ बहुमत पाएको छ। नेपाली कांग्रेस २१ सिटसहित यो प्रदेशमा तेस्रो भएको छ। विवेकशील साझा पार्टीले ३ सिट पाएको छ भने राप्रपा, राप्रपा प्रजातान्त्रिक, नयाँ शक्ति र नेपाल मजदुर किसान पार्टीले एक÷एक सिट पाएका छन्।

प्रदेश नम्बर ४ बाट एमालेले २७ सिट पाए पनि एकल बहुमत भने सम्भव भएन। माओवादीको १२ सिटसहित यो प्रदेशमा पनि वामपन्थी गठबन्धनको बहुमत भएको छ। कांग्रेसले १५ सिट जित्दा राष्ट्रिय जनमोर्चाले र नयाँ शक्तिले एक÷एक सिट जितेका छन्।

प्रदेश नम्बर ५ मा एमालेले ४१ र माओवादीले २० सिट जितेर प्रदेशमा बहुमतको सरकार बनाउने भएका छन्। यो प्रदेशमा कांग्रेसले १९ सिट जितेको छ।
यहाँ संघीय समाजवादी फोरमले ५ तथा राजपा र राष्ट्रिय जनमोर्चाले एक–एक सीट जितेका छन्।

त्यसै गरी प्रदेश नम्बर ६ को समीकरण भने केही फरक देखिएको छ। यहाँ कुल ४० सिटमध्ये एमालेले २० सिट पाएको छ। माओवादीले १३ सिट पाएको छ भने कांग्रेसले ६ र राप्रपाले एक सिट पाएका छन्। यहाँ एमालेको २० सिट र अरू सबै दलको २० सिट भएको छ। वामपन्थी गठबन्धनको २ तिहाइ भएको छ।

त्यसैगरी ७ नम्बर प्रदेशमा एमालेले २५ सिट जिते पनि एकल बहुमत छैन। माओवादीको १७ सिट थपिदा यहाँ पनि बामपन्थीको बहुमतको सरकार बन्ने भएको छ। यहाँ कांग्रेसले १० र राजपाले २ सीट पाएका छन्।

प्रतिक्रिया दिनुहोस्