काठमाडौंको प्रदूषण विकराल समस्या



डा. माधव अधिकारी
राजधानी काठमाडौंमा शहरीकरण तीव्र छ। शहरीकरणको तीव्र चापले गर्दा नै प्रकृतिले सिर्जना गरेको हावा, पानी, पहाड, नदीनाला, वन जंगल आदिको ह्रास हुँदै गएको छ। फलस्वरुप आदिम कालदेखि मानवसहित पर्यावरण सम्पूर्ण सजीव तथा निर्जीव वस्तुहरुको सन्तुलन खलबलिएको छ। यही कारण लाखौं नागरिकहरु आकस्मिक समस्या भोग्न बाध्य भएका छन्। नेपालको प्रमुख शहर काठमाडौंको सन्दर्भमा वातावरण प्रदूषण यहाँको मुख्य समस्याको रुपमा रहेको छ। काठमाडौंमा वायु प्रदूषणको मुख्य कारकको रुपमा भन्नुपर्दा सवारीसाधनको बढ्दो चाप, जनसंख्या वृद्धि, प्राकृतिक स्रोतको दोहन, आधुनिक प्रविधिको जथाभावी प्रयोग, वनजंगल विनाशलाई लिन सकिन्छ। यसका अतिरिक्त अव्यवस्थित शहरीकरण, औद्योगिकीकरण, अव्यवस्थित फोहोरमैला, अनुगमनको अभाव, ऐन–कानुनको कार्यान्वयन नहुनु, समन्वयको अभाव, जनचेतनाको कमी, अवैज्ञानिक सडक विस्तार, भौतिक संरचनाहरुको निर्माण तथा मर्मतले गर्दा काठमाडौंमा धूलो र धुवाँको प्रदूषण उच्च विन्दुमा छ। यसै करणले दुर्भाग्यवश काठमाडौं एसियाको प्रदूषित शहरमध्ये एक भएको छ। यसले गर्दा नेपालीको शिर निहुँरिएको छ।
वायु प्रदूषणका कारण हामीले श्वास लिने हावामा शुद्ध अक्सिजन मात्र नभई यसमा अन्य हानिकारक ग्यास, धुवाँजन्य तत्व नाइट्रस अक्साइड, सल्फरडाइ अक्साइड, मिथेन, क्लोरोफ्ल्युरो कार्बन इत्यादि तत्वहरुको मिश्रण भएको पाइन्छ। यसले हावालाई विषाक्त तुल्याई मानव स्वास्थ्यलाई नै असर पुर्याउँछ। नेपालमा प्रतिलाख २६ जना अर्थात् वर्षमा १० हजार ८० जनाको मृत्यु वायु प्रदूषणजन्य रोगका कारण हुने गरेको तथ्याङ्क छ। हावामा मिसिएको १० पार्टिकुलर म्याटरका धूलोका कण नाक तथा घाँटीसम्म पुग्ने प्रकृतिका हुने र २.५ पी.एम.सम्मका मसिना धूलोका कण सीधै रगतमा मिसिई मुटुरोग, दम, फोक्सोको क्यान्सर तथा अन्य रोगहरु लाग्न सक्ने देखिन्छ। यसबाहेक वायु प्रदूषणका कारण वातावरणलाई प्रत्यक्ष असर पारी ओजोन तह विनाश, जलवायु परिवर्तन, अम्लीय वर्षाजस्ता दीर्घकालीन प्रभावहरु पार्दछन्। नेपालको संविधानले प्रत्येक नेपाली नागरिकलाई सफा तथा स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हक प्रदान गर्नुका साथसाथै पीडितले प्रदूषकबाट क्षतिपूर्ति भराई लिन पाउने व्यवस्थासमेत गरेको छ।
सरकारी तथा अर्धसरकारी निकायको लापरबाहीका कारण झन्–झन् प्रदूषित बन्दै गइरहेको काठमाडौं उपत्यकाको हावामा सास फेर्न नै असहज भएको छ। सरकारी तथा गैरसरकारी निकायले केही समयपहिले उपत्यकाका केही स्थानमा स्टेसन राखी प्रदूषण मापन गर्दा राजधानीको हावा सास फेर्न अयोग्य रहेको जनाएको छ। सो अनुसार काठमाडौंले केही महिनादेखि पर्टिकुलेट म्याटर २.५ को धूलोको मापन गरी अनलाइनमार्फत २४ घन्टाकै प्रदूषणको रिपोर्ट दिँदै आएको पाइन्छ। सो रिपोर्टअनुसार धूलोका कणहरु सोझै फोक्सोमा पुगी रक्तनलीमार्फत शरीरभरि फैलिने देखिछ। पर्टिकुलेट म्याटर २.५ का धूलोका कण १५६ देखि १८६ माइक्रोग्राम घनमिटरसम्म पुगेको जनाएको छ। पर्टिकुलेट म्याटर २.५ का धूलोका कण श्वासका माध्यमबाट फोक्सो हुँदै रक्तनलीसम्म पुग्ने गर्छ। यो अवस्था शरीरका लागि अति संवेदनशील मानिन्छ। यो अवस्थाबाट जोगिन विशेषज्ञहरूले सल्लाह दिएका छन्।
आँखाले देख्न नसकिने यस्ता धूलोका कण शरीरका बाहिरी अंग आँखा र छालाका लागि पनि अति हानिकारक हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले उल्लेख गरेको छ। डब्लुएचओको मापदण्डले पीएम २.५ को मात्रा २५ माइक्रोग्राम घनमिटरसम्म तोकेको छ। नेपालको राष्ट्रिय मापदण्डले भने ४० माइक्रोग्राम घनमिटरसम्म तय गरेको छ। तर, २४ घन्टाको हरेक समयमा उपत्यकाको वायुमण्डलमा पीएम २.५ को मात्रा योभन्दा धेरै बढी हुन्छ।
सरकारी तथा गैरसरकारी संस्थाले केही समयअगाडि उपत्यकाको रत्नपार्क, पुल्चोक, धुलिखेलमा प्रदूषण मापकयन्त्र राखेर प्रदूषण मापन गर्दै आएको छ। एक गैरसरकारी संस्थाले बल्खु, बौद्ध, बूढानीलकण्ठ, एकान्तकुना, गल्कोपाखा, हात्तीसार, कलंकी, कालिमाटी, कोटेश्वर, नयाँबानेश्वर, पुतलीसडक, सानेपा, सातदोबाटो र थापाथलीमा प्रदूषण मापन गर्दै आएको जनाएको छ। विभागले रत्नपार्कमा राखेको प्यारोमिटरले पीएम २.५ को मात्रा १ सय ९२ माइक्रोग्राम घनमिटरसम्म नापेको छ। डब्लुएचओले सामान्यतः पीएम २.५ को धूलो १० माइक्रोग्राम घनमिटरसम्म हुनु स्वास्थ्यका लागि योग्य मानेको छ। ११ देखि २५ सम्म उसले दैनिक मापदण्डभित्र राखेको छ। डब्लुएचओले २६ देखि ४० हल्का, ४१ देखि ७५ सम्म प्रदूषित, ७६ देखि १५० अति प्रदूषित र त्यसभन्दा माथि खतराजनक भनेको छ। बिहान, दिउँसो, साँझ र रातिको पीएम २.५ को तथ्यांकअनुसार उपत्यकाको हावा पूर्ण समय सास फेर्न स्वास्थ्यको लागि खराब हुने भएकोले वायु प्रदूषण तुरुन्त हटाउनुपर्दछ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानको वायु प्रदूषण नापजाँचको क्रममा काठमाडौंलाई सबैभन्दा न्यूनस्तरका शहरमा सूचीकृत गरेको पाइएको छ। तथ्यांक विश्लेषण, उपलब्धता, प्रदूषण इभेन्ट्री र वायु गुणस्तर व्यवस्थापन पनि कमजोर रहेको उल्लेख गरिएको छ। काठमाडौं प्रदूषित शहर बन्नुको कारक तत्वमा बनोटलाई पनि लिन सकिन्छ। उपत्यकाको बनोटअनुसार यहाँ भएको प्रदूषित हावा वा अन्य प्रदूषित पदार्थ कठमाडौं उपत्यकाबाहिर न्यून एकाइमा निष्कासन हुन्छ, जुन कारणले काठमाडौं उपत्यका वायु प्रदूषणको सिकार भई गुणस्तरीय स्वास्थ्यको ह्रास भएको छ।
वायु प्रदूषण हुनुको प्रमुख कारणको रुपमा अन्तरसरकारी निकायको समन्वयको अभाव पनि प्रमुख हो। एउटा निकायले गरेको कार्यप्रति अर्को निकाय पूर्ण अनभिज्ञ हुनु जस्तै– सडक विभागले भर्खर बाटो निर्माण गरेको हुन्छ, त्यहाँ निर्माणपश्चात् खानेपानीको पाइप बिछ्याउन सडक खन्ने भनेर भत्काउने, त्यो काम सिद्धिन्छ पुनः ढल निकासले ढल राख्नलाई सडक बिगार्ने आदि। यी उदाहरणको रुपमा प्रतिनिधि घटना मात्र हुन्, यस्ता यहाँ हजारौं कार्य भइरहेको छ। एक–आपसमा समन्वय छैन, त्यसले गर्दा अर्बौं रुपियाँ ह्रास भएको छ। खनिएको सडकबाट निस्किएको माटो लामो समयसम्म पनि सडकमै छोडिनु र न्यूनतम आधारभूत प्रक्रियासमेत पूरा नगरी गरिएको क्रियाकलापको फलस्वरुप उक्त माटो धूलोमा परिणत भइरहेको छ। सोही धूलोका स–साना कण सवारीसाधनका घर्षण तथा गतिले गर्दा हावामा मिसिन गई वर्तमान अवस्थामा चरम वायु प्रदूषण हुन गएको छ। अर्कातिर सवारीसाधनबाट निस्किने धूलो–धुवाँले वायु प्रदूषण भएको छ। सवारीसाधनबाट निस्कने धूलोमा पाइने लिड तथा बेन्जिन, कार्बन मोनोअक्साइडलगायतको तत्वको समिश्रणले गर्दा श्वास–प्रश्वासका माध्यमबाट मानवशरीरमा प्रवेश गरी विभिन्न रोगको सिकार भइन्छ। विकास र वातावरण दुवै अपरिहार्य छन्। वातावरण र विकासबीच सन्तुलन कायम गर्न सक्नुपर्छ। विभिन्न क्रियाकलाप गर्दा वातावरणलाई हानि, नोक्सानी पुर्याउनुहुँदैन। वातावरणलाई जस्ताको तस्तै भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ।
उल्लिखित कारक तत्वको कारणले राजधानी काठमाडौंमा वातावरणीय प्रदूषणसँगै देखा परेका समस्याको सुधार नहुँदा अम्लीय वर्षाको गम्भीर समस्याको चापमा काठमाडौं उपत्यका नपर्ला भन्न सकिँदैन। आकाशमा चर्को घाम लागिरहेकै बेला अचानक वर्षा हुने गरेको दृश्य हिजोआज सामान्य बन्दै गएको छ। कहिलेकाहीँ त आकाशे पानीको रंग पनि छुट्टै देखिने गरेको छ। जो–कोहीको मनमा पनि यसले खुल्दली पैदा गर्न सक्छ, यस्तो किन भयो ? वर्षाको पानी आफैं रंगीन हुनुको कारण धेरैलाई थाहा नहुन सक्छ। वैज्ञानिकका अनुसार यो अम्ल वर्षा (एसिड रेन) हो। बढ्दो प्रदूषणका कारण अम्ल वर्षा आमसमस्या बनिसकेको छ। यसको असर अत्यन्तै खतरनाक हुन्छ। बोटबिरुवालाई मात्रै होइन, ऐतिहासिक धरोहरलाई पनि क्षति पुर्याउँछ। चुनढुंगाले बनाइएका धरोहरहरु र त्यसमा प्रयोग गरिएका धातुहरुलाई अम्ल वर्षाले कुरुप बनाउने गरेको छ।
वायू प्रदूषण हुनुको कारण पत्ता लगाई त्यसको रोकथाम तथा नियन्त्रणतर्फ विशेष ध्यान दिनु जरुरी छ। सडकमा गुड्ने सवारी तथा यातायातका सधानहरुको चाप कम गर्ने, ग्रिन स्टिकरको व्यवस्था गरी प्रभावकारी अनुगमन गर्नुपर्दछ। अन्तरसरकारी निकायबीच समन्वय नहुनु पनि वायु प्रदूषणको एक सशक्त कारण भएकोले ती निकायबीच समन्वय हुनु अति आवश्यक छ। साथै प्राकृतिक दोहनप्रति नागरिक चेतना वृद्धि गर्नु, राजनीतिक स्वार्थ त्याग्नु, योग्य तथा दक्ष जनशक्ति परिचालन गर्नु, जिम्मेवारी एवं कर्तव्यबोध हुनु पनि उत्तिकै जरुरी छ। उचित कानुन, पूर्वाधार विकास, गैरसरकारी सञ्जाल, फोहोरलाई मोहोरमा परिणत, मानव स्रोत–साधनको उचित प्रयोग, दीर्घकालीन योजना, आर्थिक क्रान्तिलाई पनि प्राथमिकतामा राखिनुपर्छ। यसका अतिरिक्त सक्षम जनशक्ति विदेश पलायन हुन नदिने, द्वन्द्व घटाई पूर्ण शान्ति कायम गर्ने, शहरीकरण विकेन्द्रित गर्ने आदि कार्य भएमा पक्कै वातावरणीय समस्याहरु समाधान भई गुणस्तरीय जीवनमा टेवा मिल्नेछ।

प्रतिक्रिया दिनुहोस्