‘विमस्टेक सार्कको विकल्प होइन’



नेपाल समाचारपत्र, काठमाडौं । दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क)को विकल्प बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) हुने सक्ने चर्चा भइरहेका बेला विज्ञहरुले भने त्यस्तो कुराको खण्डन गरेका छन् ।
सार्क र विमस्टेक गठनको उद्देश्य मिल्दो जुल्दो भएपनि कुनै एक संगठनलाई मात्र जोड दिएर क्षेत्रिय सहकार्य परिणाममुखी बन्न नसक्ने उनीहरुको तर्क छ । ‘विमस्टेक र यसको मार्गचित्र’ विषयक गोष्ठीका वक्ताहरुले सार्क संगठनमा दोहोरिएका गल्ती कमजोरीबाट पाठ सिक्दै विमस्टेकलाई परिणाममुखी बनाउन सकिने बताए ।

कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले क्षेत्रिय सहकार्यका लागि सदस्य राष्ट्रहरु वीच सिधा हवाई र स्थलमार्ग , अन्तरदेशिय विद्युतिय प्रशारण लाइन अपरिहार्य रहेकोमा जोड दिनुभयो । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो–‘क्षेत्रिय सहकार्यका लागि जुन मुलुकले जे जिम्मेवारी लिएका छन्, त्यो इमान्दार साथ पालना हुनु जरुरी छ ।’

यसका लागि मुलुकले स्पष्ट परराष्ट्र नीतिका साथ छिमेकी मुलुकहरु वीच समय सापेक्ष र समान सुमधुर सम्बन्ध कायम गर्नुपर्ने नेता नेपालको भनाई थियो । ‘साथी बदल्न सकिन्छ तर छिमेकी फेर्न सकिदैन, उहाँले भन्नुभयो–‘अब मुलुकले समय सापेक्ष परराष्ट्र नीति अघि सार्नेछ, परराष्ट्र नीति राष्ट्रिय हितमा हुनेछ ।’ गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्रालयका सचिव शंकरदाश बैगारीले क्षेत्रिय सहकार्य र सदस्य राष्ट्रहरुलाई नजिक्याउन विमस्टेक गतिलो पुलको भूमिकामा रहेको बताउनुभयो ।

नेपाल जस्तो भू–परिवेष्ठित मुलुकका लागि क्षेत्रिय कनेक्टीभिटी अपरिहार्य रहेकाले विमस्टेक जस्तो संगठन यसको गतिलो विकल्प हुने उहाँको भनाई छ । व्यापार र लगानी, यातायात, सञ्चार, जलविद्युत, उर्जा, गरिवी निवारण, जलवायु परिवर्तन, खाद्य सुरक्षा, आतंकवाद नियन्त्रण, पर्यटन, प्रविधी जस्ता विषयमा क्षेत्रिय सहकार्य अघि बढाउने उद्देश्यका साथ सन् १९९६ मा यो संगठन स्थापना भएको थियो । नेपाल हाल विमस्टेकको अध्यक्ष राष्ट्रको भूमिकामा छ । सो संगठनको पाँचौ सम्मेलन सन् २०१८ भित्र नेपालमा गर्ने तयारी अघि बढाइएको छ ।

कार्यक्रमको दोस्रो सत्रमा विमस्टेक स्थापनाको दुई दशक र विमस्टेकको आगामी भविष्यको समिक्षा गर्दै पूर्व परराष्ट्र सचिव मधुरमण आचार्य र परराष्ट्र मामिलाका जानकार डा. खड्ग केसीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । अन्तरदेशिय प्रशारण लाइन विस्तार, क्षेत्रिय व्यापार र लगानीलाई जोड दिइएको उहाँहरुको कार्यपत्रबारे पूर्व राजदूत डा. शंकर शर्मा, अर्थविद् प्राध्यापक मदन दाहाल, पूर्व राजदूत प्रद्युम्न विक्रम शाहले समिक्षात्मक टिप्पणी गर्नु भएको थियो । शर्मा, दाहाल र शाहले सार्कको विकल्प विमस्टेक हुन नसक्ने बताउँदै क्षेत्रिय सहकार्यका लागि विमस्टेकको छुट्टै सफल पहिचान बन्न सक्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्