आन्तरिक पर्यटनमा रमाउँदै कर्मचारी



भगवती तिमल्सिना, काठमाडौं

चुनावी चहलपहलपछि शान्त रहेको चितवनको सौराह क्षेत्रमा राष्ट्रिय क्षयरोग केन्द्रले चहलपहल बढाएको छ। क्षयरोगी कसरी पत्ता लगाउने भन्ने बारेमा देशव्यापी रूपमा कार्यरत डीटीएलओ र आरटी एलओहरूलाई दुई समूहमा विभाजन गरी प्रिविलेन्स सर्वेको तालिमका लागि सहभागी गराएर चहलपहल बढाएको हो। यता क्षयरोग केन्द्रको कार्यालयका काम भने प्रायः ठप्प र शून्य अवस्थामा पुगेको छ।

राष्ट्रिय क्षयरोग केन्द्रमा सोमबार बिहान ११ बजेसम्म कार्यालय सुनसान थियो। कार्यालयमा भेटिएका एक कर्मचारीले भने– ‘क्षयरोग केन्द्रको पुरानै चलन हो, आफ्नो कार्यालय भवनमा रहको बैठक कक्षहरूमा तालिम दिनुभन्दा पर्यटकीय क्षेत्रका ठूला होटलमा कार्यक्रम गर्यो भने यातायात, प्लेन, दैनिक भत्ताका साथै होटलले कमिसनसमेत दिने भएपछि यहाँ किन कार्यक्रम गर्नु।’

‘यसरी कार्यक्रमका नाममा भ्रमण आदेश बनाएर आन्तरिक पर्यटन प्रवद्र्धनमा साथ दिँदै आएको क्षयरोग केन्द्रको नयाँ नभएर पुरानै रोग हो। जुन हाकिम आए पनि तल्लो तहका कर्मचारीले हेरेर चित्त बुझाउने ठूला हाकिमहरू भ्रमणमा सयर गरेर क्षयरोग केन्द्रलाई खोक्रो बनाउने नै हो।’ –ती कर्मचारीले भने।

यस विषयमा क्षयरोग केन्द्रका निर्देशक डा. केदारनरसिंह केसी भन्नुहुन्छ– ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार अवस्था हेरी ५ देखि १० वर्षमा क्षयरोगको सर्वे गर्नुपर्ने भए पनि नेपालमा हालसम्म त्यस्तो हुन सकेको छैन। विश्व स्वास्थ्य संगठनको अनुमानित तथ्यांकलाई आधार मानी काम गरिरहेको अवस्था छ। क्षयरोग केन्द्रको ७५ प्रतिशत खर्च बचाउनका लागि सबैका लागि मध्यभागमा पर्ने चितवनमा तालिमको आयोजना गरेका हौं। आरोप निराधार छ।’

उहाँले भन्नुभयो– ‘काठमाडौंमा तालिम चलाउँदा सबैलाई हवाई भाडा दिनुपर्छ चितवनमा गर्दा गाडी भाडा मात्र दिँदा हुन्छ। यो तालिम सम्पन्न भए लगतै जनवरी देखि १८ महिना लामो सर्भे गर्ने योजना रहेको छ। यो सर्भेपछि अनुमानित तथ्यांकमा काम गर्नुपर्ने हुन्न। सर्भेका लागि विश्व स्वास्थ्य संगठनको स्वीकृति लिनुपर्छ। यतिबेला तिनै सर्भे गर्ने जनशक्तिलाई तालिम दिँदै छौ।’

क्षयरोग केन्द्रले चितवनमा मात्र नभई वुटवलमा पनि क्षयरोगसँग सम्बन्धित अर्को तालिम सञ्चालन भइरहेको क्षयरोग केन्द्रका निर्देशक डा. केसी बताउनुहुन्छ। उहाँको साथमा चितवनमा डा. केसीका साथ संस्थाका दोस्रो हाकिम डा. मोहन प्रसार्इं, उपसचिव अनिल थापा, शाखा अधिकृत रीता खतिवडा, नर्स नमुना कार्कीलगायतको टोली रहेको छ।
डा. केसीले पहिलो चरणको चितवनको ३ दिने तालिम सम्पन्न गरी सोमबार बेलुका आफू पनि वुटवल जाँदै गरेको जानकारी गराउनुभयो। वुटवलमा पब्लिक हेल्थका नर्स कमला वाग्ले, अर्का नर्स यशोदा राजभण्डारीलगायतको टोली मल्टिड्रग रेजिस्टेन्टसम्बन्धी तालिम दिनका लागि पुगेको जानकारी गराउनुभयो। सौराह रिसोर्टमा सञ्चालन भएको पहिलो समूहको प्रिविलेन्स सर्भे तालिममा सुदूरपूर्व, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चलका ५० जना रहेका थिए। अब अब मध्यमाञ्चाल र मध्यपश्चिमाञ्चलका ५० जना डीटीएलओ र आरटी एलओलाई ४ गते देखि ६ गतेसम्म ३ दिनको तालिम रहेको डा. केसीले जानकारी गराउनुभयो।

डा. केसी थप्नुहुन्छ– ‘नेपालमा टीबीको पहिचानका लागि गरिँदै आएको एक्सरे, कफ जाँच, दाग देखेपछि लामो समयसम्म औषधि खुवाउँदै आएकोमा हाल आएर जेनएक्सपर्ट नामक मेसिनको सहायतामा टीबीको ब्याक्टेरियाको परीक्षण गर्ने मेसिन काठमाडौंका ठूला अस्पताल, वीर, पाटन, त्रिवि .शिक्षणलगायत ४३ स्थानमा सुचारु भइसकेको छ। १८ महिनाको सर्भेको लागि बिनान नामक संस्थाको सपोर्टमा प्रथम ब्याचको कार्यक्रम अघि बढाउँछौ।

हाल सम्म मल्टिड्रग रेजिस्टेन्टका १ हजारभन्दा बढी बिरामी रहेका र २४ देखि ३० महिनासम्म औषधि सेवन गर्नुपर्ने हुन्छ। अब सुधारिएको प्रविधिअनुसार विनानको सपोर्ट उपलब्ध औषधि ९ देखि ११ महिना खुवाउँदा पुग्ने भएकाले यो तालिम वुटवलमा दिँदै छौ। ’

प्रतिक्रिया दिनुहोस्