स्थानीय तहमा शिक्षाका कर्मचारी नहुँदा कार्यक्रम प्रभावित



विनोद सिंह विष्ट, बैतडी । बैतडीका स्थानीय तहमा शिक्षाका कर्मचारी नहुँदा शिक्षा कार्यक्रम प्रभावित भएका छन् । जिल्लाका ५ ओटा स्थानीय तहमा शिक्षाका कर्मचारी खटाएको भएपनि खटाएका ठाउँमा समेत कर्मचारी गएका छैनन् ।
कर्मचारीको पदीय मार्यादाक्रम नमिल्दा शिक्षाका कर्मचारी स्थानीय तहमा जान मानेका छैनन् । जिल्लाका दशरथचन्द नगरपालिका,पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका र मेलौली नगरपालिकामा शिक्षाका कर्मचारी खटाइएपनि गएका छैनन् ।
स्थानीय तहमा नासु तहकालाई कार्यकारी जिम्मा दिइएको र शिक्षाका अधिकृत स्तरका कर्मचारी उनीहरुको मातहतमा बस्नुपर्ने भएकाले शिक्षाका कर्मचारीहरु जान नमानेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक शंकरदत्त भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“स्थानीय तहमा शिक्षाका कर्मचारी नहुँदा शिक्षाका कार्यक्रम सञ्चालनमा समस्या भएको छ”
दलित छात्रवृति, अपांग छात्रवृति र भौतिक निर्माणका काम बाहेक सबै स्थानीय तहले गर्ने तर शिक्षाका कर्मचारी नहुँदा समस्या भएको स्वयं स्थानीय तहहरुले जनाएका छन् । स्थानीय तहमा शिक्षाका कर्मचारी खटाउने बिषयमा केन्द्रमै सहमति हुन बाँकी रहेको छ ।
बैतडीमा ४ नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानिय तह रहेका छन ।

प्रतिक्रिया दिनुहोस्