मायंका र संरक्षण च्याम्पियन



हेटौंडा,(नेस)
सामरी स्लाम राष्ट्रिय टेनिस प्रतियोगिताको आठौं संस्करणमा मायंका राणा र संरक्षण्नभूषण बज्राचार्य विजेता बनेका छन्।

शुक्रबार भएको महिला सिंगल्स फाइनलतर्फ मायंकाले बहिनी माहिका राणालाई ६–१, ६–४ को सोझो सेटमा हराएर उपाधि जितेकी हुन्। दिदी मायंका नेपालकी नम्बर एक महिला खेलाडी समेत हुन्। माहिका दोस्रो स्थानमा रहेकी छिन्। त्यस्तै पुरुष सिंगल्सतर्फ संरक्षणभूषणले सन्तोष खत्रीलाई ६–१, ६–० ले पराजित गरी उपाधि हात पारे।

६० प्लस भेट्रान फाइनलमा विदुर बिष्टले वसन्त प्रधानलाई ४–१, ४–१ ले हराएर विजेता बने। ५५ प्लस भेट्रानतर्फ मनोज राणा प्रदीप शाहलाई ६–४, ७–५ ले हराएर पहिलो भएका हुन्। ४५ प्लस भेट्रानमा चन्द्र शाहीले कृष्ण घलेलाई हराए। शाहीले घलेलाई ६–४, ४–६, ११–९ को कठिन सेटमा हराएका थिए। कमल भण्डारीले श्रीराम मगरलाई ६–३, २–६, १०–८ ले हराएर ३५ प्लस भेट्रानको उपाधि जिते।

फन डबल्सतर्फ देवबहादुर क्षेत्री र जितेन्द्र परियारको जोडीले सन्तोष खत्री र भरत रायमाझीको जोडीलाई ८–२ ले पराजित गरेको छ। विजेतालाई प्रधान सेनापति राजेन्द्र क्षत्रीलगायतले पुरस्कार वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्