संघीय संसद्को आफ्नै भवन किन बनेन



मधुसूदन रायमाझी, काठमाडौं
व्यवस्थापिका संसद्को आफ्नै भवन नहुँदा भाडाकै भवनमा बैठक बस्ने भएको छ। संसद्को अहिलेसम्म आफ्नै भवन निर्माण हुन सकेको छैन। सिंहदरबारस्थित पुतली बगैंचामा संसद् भवन निर्माण गर्ने प्रस्तावअनुसार मन्त्रिपरिषद्को बैठकले निर्णय गरे पनि भवन निर्माण कार्य अगाडि बढन सकेको छैन।

सिंहदरबारको पुतली बगैंचामा रहेको १ सय ५२ रोपनी क्षेत्रफलमा संसद् भवन बनाउने निर्णय गरे पनि सरकारले निर्माण कार्य अगाडि बढाउन बजेट नदिँदा भवन बनाउने कुरा नारामा सीमित भएको छ।

संसद्को आफ्नै भवन नहुँदा वार्षिक रूपमा संसद् सचिवालयले करिब १० करोड रुपियाँ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडा तिर्दै आएको छ। सम्झौताअनुसार वार्षिक दश प्रतिशत भाडा बढ्ने उल्लेख गरिएको छ। वार्षिक करोडौं रुपियाँ भाडा तिर्नुपर्दा पनि सरकारले भने आफ्नै भवन निर्माणमा चासो देखाएको छैन।

संसद् सचिवालयले सिंहदरबारको उत्तर–पूर्वीकुना पुतली बगंैचाको १ सय ५२ रोपनी जग्गालाई नै भवनका लागि उपयुक्त भन्दै सिफारिस गरेको थियो। संसद् सचिवालयका अनुसार संसद् भवन निर्माणका लागि करिब चारदेखि पाँच वर्ष समय लाग्छ।

संसद् सचिवालयले प्राविधिकरूपले गुणस्तरीय तथा आधुनिक भवन बनाउने तयारी गरेको छ। तर भवन निर्माण प्रक्रिया भने अन्योलमा परेको छ। संसद् सचिवालयका अुनसार भवन निर्माणका लागि करिब ६ अर्ब रुपियाँ लाग्नेछ। सांसदहरूको संख्या बढ्दै गएपछि २०६४ सालबाट संसद्को बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको छ।

अबको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने संसद् सचिवालयका प्रवक्ता डा. भरत गौतमले बताउनुभयो। उहाँले संसद् भवन निर्माण कार्य अगाडि बढाउने प्रक्रियामा रहेको बताउनुभयो।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सरकारले संसद् भवन निर्माणका लागि प्रक्रिया अगाडि बढाए पनि अहिलेसम्म काम अगाडि बढ्न सकेको छैन।’ आफ्नै संसद् भवन नभए पनि संसद्को बैठक बस्नका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पर्याप्त ठाउँ भएको उहाँले बताउनुभयो।

निवर्तमान सभामुख ओनसरी घर्तीले संसद्को आफ्नै भवन निर्माणका लागि पहल गरेको भए पनि बजेटको अभावमा काम अगाडि बढ्न नसकेको बताइएको छ। वार्षिक १० करोड रुपियाँ भाडा तिर्न राजी भएको सरकारले संसद् भवन निर्माण गर्न भने चासो देखाएको छैन।
भाडामै काम चलाउँदै

प्रतिक्रिया दिनुहोस्