सर्वोच्चद्वारा निर्वाचित सांसद चौधरीको रिट अस्वीकार



प्रशान्त वली, काठमाडौं
कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीका अभिभावकले घरमै प्रमाणपत्र उपलब्ध गराइदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्। चौधरीका बुबा लालवीर चौधरीले आफ्नो छोराले जनताको मन जिते पनि निर्वाचन आयोगले अन्याय गरेको भन्दै प्रमाणपत्र उपलब्ध गराइदिन आयोग र सम्बन्धित कार्यालयलाई आग्रह गर्नुभएको छ।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मेरो जेठो छोराले निर्वाचन जितेको छ। तर, राज्यले हामीलाई अन्याय गर्यो। बहाना बनाएर जित हासिल गरेको प्रमाणपत्र नदिने षड्यन्त्र रचिएको छ।’ चौधरी ३४ हजार ३ सय ४१ मतसहित निर्वाचित हुँदा उहाँका निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट एमाले उम्मेदवार मदनकुमारी शाहले १३ हजार ४ सय ६ मत प्राप्त गर्नुभएको थियो।

चौधरीले वारेसनामामार्फत राष्ट्रिय जनता पार्टीका तर्फबाट उम्मेदवारी दिनुभएको थियो।

यता भारतमा निर्वासित जीवन बिताइरहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका चौधरीको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। चौधरीका भाइ मिठुलाल चौधरीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दिनुभएको थियो। तर, निर्वाचन अधिकृतको कार्यालय कैलालीले वारेसमार्फत विजयी भएको प्रमाणपत्र नदिएपछि उहाँ अदालत पुग्नुभएको थियो।

प्रमाणपत्र दिलाउन माग गर्दै रिट हाल्न गए पनि अदालतले अस्वीकार गरेको चौधरीका भाइ मिठुलाल चौधरीले बताउनुभयो। अदालतले निर्वाचित चौधरी आएपछि मात्रै रिट दर्ता गर्न सकिने बताएको भाइ मिठुलाल चौधरीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

अदालतका मुख्य रजिस्टार नहकुल सुवेदीले निवेदनलाई दरपिठ गरिदिनुभएको थियो। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित ८ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो।

प्रतिक्रिया दिनुहोस्