कीर्ते नेपाली नागरिकता बनाउने दुई कर्मचारीसहित छ जना पक्राउ



राजविराज । कीर्ते नेपाली नागरिकता बनाउने दुई कर्मचारीसहित छ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले राजविराज नगरपालिका वडा नम्वर ७ स्थित राजरंङ्गशालाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्वर १० का सचिव ४९ वर्षीय मोहम्मद.वकिल मियाँ र जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यालय सहयोगी पदमा कार्यरत ३० वर्षीय अजयकुमार यादव रहेका छन् ।

यस्तै, भारतको उत्तरदेनापुर जिल्लाको अन्तकोठा ग्राम पञ्चायत निवासी ३१ वर्षीय मोहम्मद लतिफुर रहमान, भारतकै किसनगन्ज जिल्लाको तिवरीया ग्राम पञ्चायत निवासी २६ वर्षीय मोहम्मद नवेदन, सुनसरीको हरिपुर निवासी ५५ वर्षीय कलिम मियाँ र झापाको विर्तामोड निवासी २० वर्षीय मोहम्मद सइरोलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।

उनीहरुको साथबाट नक्कली नागरिकता बनाउन प्रयोग हुने नेपाल सरकारको होलोग्रामसहितको विभिन छाप, एक लाख नगद र तयारी अवस्थामा रहेको चार थान नक्कली नागरिकता बरामद गरिएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

प्रहरी उपरिक्षक सिंहले उनीहरुमाथि सरकारी छाप दस्तखत किर्ते मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्