म्यानचेस्टर सिटीको कीर्तिमान



लन्डन, (एजेन्सी)
जारी सिजनको प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले आफ्नो अपराजित यात्रालाई १५ पुर्याउँदै नयाँ कीर्तिमान कायम गरेको छ।

बुधबार राति स्वान्सी सिटीलाई ४–० गोल अन्तरले पराजित गर्दै सिटीले यस सिजनको प्रिमियर लिगमा अपराजित यात्रालाई १५ खेलसम्म निरन्तरता दिँदै कीर्तिमान रचेको हो। यस सिजन सिटीले १ खेल मात्र बराबरी खेलेको छ। जारी सिजनको पहिलो खेलमा ब्राइटनलाई २–० ले हराएर सिटीले लिगमा सुखद् शुरूआत गरेको थियो।

त्यसपछि दोस्रो खेलमा वाट्फोर्डसँग १–१ को बराबरीपश्चात लगातार १५ खेलमा सिटी विजयी बन्दै आएको छ। योसँगै सिटीले सन् २००२ मा आर्सेनलले लगातार १४ खेल जित्दै बनाएको कीर्तिमान तोडेको हो।
स्वान्सीलाई उसैको मैदानमा हराउन सिटीका लागि डेभिड सिल्भाले दुई तथा केभिन डे ब्रुएन र सर्जियो एगुएरोले समान एक–एक गोल गरेका थिए। खेलको २७औं मिनेटमा सिल्भाको गोलमार्फत शुरुआती अग्रता लिएको थियो। यसै गरी ३४औं मिनेटमा डी बु्रआइनले गोल गर्दै पहिलो हाफसम्म सिटीको अग्रता दोब्बर पारे। ५२औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीको गोलसंख्या ३ पुगेको थियो। ८५औं मिनेटमा सर्जियो अगुएरोले सिटीको चौथो गोल सम्भव पारे।

जितपछि सिटीले १७ खेलबाट ४९ अंक जोडेको छ भने दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडमाथि ११ अंकको अग्रता कायमै राखेको छ। बुधबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले बाउर्नमाउथलाई १–० ले पराजित गरेको थियो। युनाइटेडको जितमा रोमेलु लुकाकुले खेलको २५औं मिनेटमा गरेको गोल नै निर्णायक साबित भएको थियो। योसँगै दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको १७ खेलबाट ३८ अंक भएको छ।

यस्तै अन्य खेलमा लेस्टर सिटीले साउथह्याप्टनलाई ४–१ ले हराउँदा एभर्टनले न्युक्यासललाई १–० ले तथा टोटेनह्यामले पनि ब्राइटनलाई २–० ले पराजित गरेको थियो। यसैगरी लिभरपुल र वेस्ट ब्रोम तथा आर्सेनल र वेस्ट ह्यामले भने गोलरहितबराबरी खेल्दै समान अंक बाँडे। बराबरीपछि लिभरपुल पाँचौ स्थानमा रहँदा आर्सेनल सातौँ स्थानमा झरेको छ। १७ म्याच खेलेका टोटनह्याम, लिभरपुल र बर्नलीको समान ३१ अंक भएको छ।

प्रतिक्रिया दिनुहोस्