नेपालको व्यापार घाटाका कारक तत्त्वहरु



डा. सुमनकुमार रेग्मी

विशेष गरी खाद्यान्न तथा तरकारी, सवारीसाधन, पेट्रोलियम पदार्थ, विद्युतीय उपकरण, सुनचाँदी तथा लताकपडा, महँगा रक्सीहरुको आयात बढ्नाले व्यापार घाटा बढ्दै गएको हो। यस्तो व्यापार घाटालाई कम गराउन आन्तरिक उत्पादन बढाउनुपर्दछ। जुन वस्तुहरु नेपालका कच्चा पदार्थमा आधारित भएर अत्यधिक उत्पादन बढाउन सकिन्छ, त्यस्ता वस्तुहरुका उत्पादन बढाएर अर्थतन्त्रलाई सबल बनाउन सकिन्छ। यसको लागि कृषि, कृषिमा आधारित उद्योग, पूर्वाधार, पशुपालन, पर्यटन, कर्जा र मानव स्रोतसाधनमा जोड दिइनुपर्दछ।

कृषिप्रधान देश नेपालमा मासिक रु. ३ अर्ब जतिको अन्न आयात हुने गरेको देखिन्छ। धान, मकै, गहुँ, कोदो र फापर नेपालका मुख्य खाद्यान्न बाली हुन्। तर यिनै अन्नका आयात भने बर्सेनि बढिरहेको छ। छिमेकी देशहरु भारत, चीनलगायत अरु समुद्रपार देशहरुबाट नेपालमा खाद्यान्न आयात बर्सेनि बढ्दो छ। भारतबाट जुनेलो, फापर र कोदोसमेत नेपालमा आयात भएको देखिन्छ। जबकि यी वस्तुहरु नेपालमा बर्सेनि उत्पादन हुन्छन्। देशभित्र तुलनात्मक लाभका उत्पादनमा समेत परनिर्भरता हुनुपर्दा व्यापार घाटा चुलिँदै गएको छ। नेपालको कृषि उत्पादनको ठूलो बजार आयातीत कृषि उत्पादनले ओगटिरहेको छ। नेपालीहरु भूटानमा उत्पादित आलु खान्छन् भने भारतीय माछाले अझै पनि नेपालको माग ओगटेको छ। बर्सेनि तोरी, तिल र यसको तेल अर्बौं रुपियाँको आयात हुँदै आएको छ। नेपालमा तिलको आयात चीन, भारत र बंगलादेशबाट भएको छ भने तोरीको आयात युक्रेन, कोरिया, सिंगापुर, अस्ट्रेलिया, भारतलगायतका देशबाट हुने गरेको छ। नेपालमा यस्ता कृषि फसलहरु उत्पादन हुन्छन् तर बृहत्तररुपमा हुँदैनन्।

नेपाल एकीकृत व्यापार रणनीति २०७३ मा उल्लेख भएअनुसार आगामी पाँच वर्षभित्र अर्थात् २०७८ सालसम्म उक्त रणनीतिमा समेटिएका विभिन्न वस्तु तथा सेवाको निर्यात गरी कुल गार्हस्थ्य उत्पादनको ४ प्रतिशत योगदान गर्न सक्ने पुर्याउने लक्ष्य राखिएको छ। यस रणनीतिअनुसार सन् २०२१ सम्ममा अलैंचीको उत्पादन ६ हजार ५ सय टन उत्पादन गरी निर्यात बढाउने लक्ष्य राखिएको छ। भारतले अलैंचीको निर्यात गरेभन्दा हाल ५० प्रतिशत कम नेपालले निर्यात गरेकामा त्यसलाई बढाएर ७५ प्रतिशत पुर्याउने लक्ष्य रणनीतिमा उल्लेख छ। त्यस्तै अदुवाको उत्पादन नेपालले ७० प्रतिशत बढाउने लक्ष्य छ। चियाको उत्पादन २०७८ सम्ममा ४ हजार ५ सय टन पुर्याउने लक्ष्य छ। उक्त रणनीतिले जडीबुटी, फेब्रिक, धागो, छाला, जुत्ता, चप्पल, पश्मिना र गलैंचालाई पनि तुलनात्मक लाभका वस्तुका रुपमा लिँदै निर्यात र उत्पादन बढाउने लक्ष्य छ।

भारतबाट आ.व. सन् २००९⁄१० देखि २०१४⁄१५ सम्म क्रमश रु. २१४, २५९, ३२१, ३९७, ४८२ र ४७७ अर्बका सामान नेपालमा आयात भएको थियो। भारतसितको खुला सिमाना भएका कारणले पनि सामान लुकीचोरी निर्यात–आयात हुन्छ। यसले पनि नेपालको वैदेशिक व्यापारमा असर गरिराखेको छ। यसलाई पनि व्यवस्थित गरेमा नेपालमा वैदेशिक व्यापार व्यवस्थापन हुन जाने सम्भावना हुन्छ।

आ.व. २०७२⁄७३ मा आर्थिक वृद्धिदर शून्य दशमलव ७७ प्रतिशत भएको थियो। यो १४ वर्षयताकै न्यून भएको दखिन्छ। यसभन्दा अघि सन् २०५८⁄५९ मा आन्तरिक द्वन्द्वका कारण शून्य दशमलव १२ प्रतिशत आर्थिक वृद्धिदर रहेको थियो। तर २०७१⁄७२ मा २ दशमलव ३२ प्रतिशत आर्थिक वृद्धि भएको थियो। २०७०⁄७१ मा ५ दशमलव ७ प्रतिशत वृद्धि भएको थियो।

सरकारले खाद्यवस्तु उत्पादनमा जोड दिँदै आए पनि यी वस्तुका आयात बर्सेनि बढ्दै छ। आ.व. २०७२⁄७३ मा मात्र सबै प्रकारका खाद्यान्न गरी कुल रु. १ खर्ब ३४ अर्बको खाद्यवस्तु आयात भएको थियो। चामलको सट्टा गहुँका प्रकारका खाना प्रयोग नगर्दा बर्सेनि खाद्यान्न आयात बढेर गएको छ। नेपालमा आ.व. २०७२⁄७३ मा १७ लाख मे.टन गहँु उत्पादन भयो भने २५ अर्बको चामल आयात भयो।

नेपालको कुल वैदेशिक व्यापार सुधारोन्मुखभन्दा पनि परनिर्भतातिर उन्मुख हँुदै गएको छ। वार्षिकरुपमा आयातमा भएको वृद्धिले नेपालको कुल वैदेशिक व्यापारका अवस्थामा आायात वृद्धि हुँदै जाँदा निर्यात भने कम रफ्तारमा बढेको छ। नेपाली बजारमा दैनिक उपभोग्यदेखि विलासिताका सामानसम्म विदेशबाट आायात भइरहेका छन्। नेपालमा केही त्यस्ता उत्पादित वस्तुहरु छन्, जुन विश्वबजारमा निर्यात हुँदै आएका छन्। विश्वबजारमा स्थापित यस्ता नेपाली ब्रान्डका वस्तुहरुमा वाइवाई चाउचाउ, सूर्य चुरोट, चिया, नेपाली पश्मिना, शेर्पा गियर र मेड इन नेपाल, भोड्का, धारा तेल, ट्रान्सफर्मर, गोल्डस्टार जुत्ता, हिमालयाज स्प्रिङ वाटर, हस्तकला मुख्य छन्। सरकारले चिया, कफी, पश्मिनालगायतका सामूहिक व्यापार चिह्नमार्फत निर्यात प्रवद्र्धन गर्दै आएको छ भने गलैंचा, अलैंचीजस्ता अरु निकासी वस्तुहरुले सामूहिक व्यापार चिह्न प्राप्त गरी निकासी शुरु हुने अवस्थामा अगाडि बढ्दै छ।
नेपालमा थोरै–थोरै उत्पादन हुने स–साना उत्पादन एकाइहरु एकीकृत हुन नसक्दा बजारले खोजेको व्यावसायिक उत्पादन परिमाण पुग्न सकेको छैन र उत्पादनले उचित बजार मूल्य पाउन सकेको छैन। नेपालको भौगोलिक बनावटले पनि उत्पादित वस्तुहरुका ढुवानी खर्च बढाइरहेको पाइन्छ। यद्यपि नेपालमा औद्योगिकीकरणका निम्ति पर्याप्त स्रोतसाधन नभएका होइनन्। जापान, कोरिया, सिंगापुर, हङकङ, दुबई आदि देशले अन्यत्रबाट कच्चापदार्थ आयात गरेर भए पनि वस्तु व्यापार गर्दै आएका छन्। यी देशहरुले आफूसँग पर्याप्त स्रोतसाधन नहँुदा पनि औद्योगिकीकरण र व्यापारको क्षेत्रमा गरेको प्रगति अनुकरणीय देखिन्छ। आयात प्रतिस्थापनका धेरै महत्वपूर्ण उद्योगहरु नेपालमा सञ्चालनका लागि सम्भाव्यता छन् तर नेपालीपन हराउँदै गएको देख्न सकिन्छ। विगतमा नेपालको व्यावसायिक हिसाबले परिचय दिँदा नेपाल एउटा कृषिप्रधान देश गनिन्थ्यो। नेपालको राष्ट्रिय आयको र आत्मनिर्भरको बलियो आधार कृषि उत्पादन नै थियो। त्यसैले हरियो वन नेपालको धन भन्ने गरिन्थ्यो। अहिले यो सपनाजस्तो भएको छ।

आ.व. २०७३⁄७४ मा ३३ वटा देशहरुसँग १ अर्ब रुपियाँभन्दा बढी व्यापार घाटा देखिएको छ। यो वर्ष १ सय ६७ देशहरुसँग वैदेशिक व्यापार भएको छ। यसमध्ये निर्यातभन्दा आयात बढी भई व्यापार घाटा भएको देशको संख्या १ सय ३३ रहेको छ। व्यापार नाफा अर्थात् आयातभन्दा नेपाली वस्तुका निर्यात बढीको भएको देशको संख्या ३४ मात्र रहेको देखिन्छ। बर्सेनि निर्यात ६.३५ र व्यापार घाटा २९ प्रतिशतले बढेको अवस्थामा नेपालको व्यापार बचत आउन कति वर्ष लाग्ला ?
देशभित्र उत्पादन र उत्पादकत्व नबढेको तर विशेष गरी रेमिट्यान्सले उपभोग बढेको कारण २०७३⁄७४ मा व्यापार घाटा रु. ९ खर्ब बढी पुगेको थियो। यो वर्ष सबभन्दा व्यापार घाटा भारतसँग भएको छ।

तसर्थ नेपालको निकासी पनि भारततिर बढी गर्नै पर्दछ। अब आयात प्रतिस्थापन र निर्यात बढाउने काम व्यवहारमा लागू गर्नै पर्दछ। २०७३⁄७४ देखि व्यापार घाटालाई रेमिट्यान्सले धान्न नसक्ने स्थिति देखिएको छ। यो भविष्यमा पनि कायम हुनेछ कि ?
आ.व. २०६९⁄७० देखि २०७३⁄७४ सम्मका पाँच वर्षमा पौने ३४ खर्बको व्यापार घाटा देशले बेहोरेको छ। सरकारी कार्यक्रम, नीति र रणनीति सफल नहँुदा व्यापार घाटा बढेको बढ्यै छ। तसर्थ खोजका विषयहरु धेरै हुन सक्छन्। किन बढिरहेको छ व्यापार घाटा ? निर्यात रु. १ खर्ब पनि पुग्दैन। कसरी बढाउने निर्यात ? निर्यातमा सुविधा छ तर उपयोग भएन। यसकारण बढिरहेको छ व्यापार घाटा। आयातका सामानको खपत बर्सेनि बढको छ तर यस्ता वस्तुका आन्तरिक उत्पादन वृद्धि निराशाजनक छ। उत्पादन लागत उच्च हुँदा नेपालको उत्पादन प्रतिस्पर्धा हुन सकको छैन। नेपालको निर्यातमा नगद अनुदान २ प्रतिशत मात्र छ। यो अन्य देशको तुलनामा अत्यन्त कम हो। नेपालमा गैरभन्सार अवरोध धेरै छन्। खासगरी भारतले नेपालका विभिन्न कृषि वस्तुलाई प्राविधिक पक्ष नहेरी भारतीय भन्सार अधिकारीको मुड हेरेर बेला–बेलामा नेपालको निर्यात रोक्ने गरेको देखिन्छ। नेपाललाई अमेरिकाले ७७ वस्तुमा दिएको शून्य भन्सारको सुविधा उपयोग हुन सकेको छैन।

अमेरिकातर्फ नेपालको निर्यात खस्केको छ। नेपालका थुप्रै उत्पादन तथा वस्तुका सामूहिक चिह्न दर्ता हुन सकेको छैन। नेपालको विदेशस्थित कूटनीतिक नियोगले निर्यात प्रवद्र्धनमा भूमिका खेलेको देखिँदैन। भनिन्छ, नेपालका निर्यातमूलक उद्योगमा जनशक्ति र स्वदेशी कच्चा पदार्थको अभाव छ।

(लेखक रेग्मी व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका पूर्वनायब कार्यकारी निर्देशक हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्