युरोपियन युनियन बैंक स्थापनाका लागि अध्ययन गरिने



काठमाडौं, (नेस)
नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिकाकोडीले नेपालको समुचित आर्थिक विकासका साथै व्यवसाय प्रवद्र्धनको लागि युरोपियन युनियनको तर्फबाट निरन्तर सहयोग हुने बताउनु भएको छ। नेपाल उद्योग परिसंघका पदाधिकारीहरूसँग भेटवार्ताको क्रममा राजदूत कोडीले सो कुरा बताउनुभएको हो।

राजदूत कोडिले नेपालको संविधानको कार्यान्वयनका निम्ति भएको निर्वाचनपछि देश विकासको सम्भावना र विश्वास लगानीकर्ताहरूमा बढेको आफूले महशुस गरेको र नेपालको जनस्वास्थ्य, शिक्षा क्षेत्रको साथै निजी व्यवसाय प्रवद्र्धनको क्षेत्रमा समेत युरोपियन युनियनको तर्फबाट सहयोग विस्तारका सम्भावना रहेको धारणा व्यक्त गर्नुभयो।

उहाँले नेपालमा युरोपियन युनियन बैंक सञ्चालनको सम्भावनाको समेत अध्ययन गरिने र यस सन्दर्भमा सम्बन्धित टोलीले निकट भविष्यमा नेपालमा भ्रमण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो।

सो भेटवार्ताको क्रममा परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालको राजनीतिक स्थायित्व भएसँगै आर्थिक एजेन्डालाई नै अबको सरकार र राजनीतिक दलले प्राथमिकता राखेको पाइएकाले निजी क्षेत्रको संस्थागत विकासमा युरोपियन संघ जस्ता विकास साझेदार संस्थाहरूको सहयोग अर्थपूर्ण रहने अपेक्षा परिसंघले लिएको बताउनुभयो।

अध्यक्ष शर्माले परिसंघले विगत ३ वर्षदेखि युरोपियन युनियनको सहयोगमा नेपालको निकासी प्रवद्र्धनको उद्देश्यले स–साना परियोजनाका साथै दुईवटा पूर्वाधार सम्मेलन समेत सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्नु हुँदै उद्योगको उत्पादन वृद्धि, गुणस्तर सुधार गर्ने उद्देश्यले ‘औद्योगिक एक्सिलेन्स केन्द्र’ को सञ्चालनको काम अघि बढाउने गरी कार्यक्रम समेत सञ्चालन गरेको सन्दर्भ उल्लेख गर्दै सो को लागि युरोपियन दूतावासबाट समेत सहयोगको व्यवस्थाको आग्रह गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्