भत्कियो कांग्रेसको किल्ला, उपप्रधानमन्त्री श्रेष्ठ पराजित



मनोज रेग्मी, स्याङ्जा

नेपाली कांग्रेसले २०४८ यताका संविधानसभा तथा अन्य निर्वाचनमा अधिकांश सिट आफ्नै पोल्टोमा पार्दै आएको स्याङ्जामा यसपालि भने वामपन्थीले कब्जा जमाएका छन् ।

०५१, ०६४, ०७० का सबै संसदीय तथा संविधानसभा निर्वाचनमा पनि स्याङ्जामा नेपाली कांग्रेस नै पहिलो हुँदै आएको थियो । ६ महिनाअघि सम्पन्न स्थानीय निर्वाचनमा पनि धेरैजसो सिट आफ्नै पोल्टोमा पारेको कांग्रेसले यसपटक भने नराम्रो हार खेप्नुपरेको छ । गत मंसिर २१ मा सम्पन्न प्रदेसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा दुई प्रतिनिधि र चार प्रदेश सभा क्षेत्र रहेको स्याङ्जामा क्षेत्र नम्बर दुई प्रदेश ‘ख’ बाहेक अन्य सबैमा बामगठबन्धन विजयी भएको छ ।

स्याङ्जा क्षेत्र नम्बर दुईका लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं बहालवाला उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई फराकिलो मत अन्तरले पराजित गर्दै बाम गठबन्धनबाट एमाले उम्मेदवार पदमा अर्याल विजयी भएकी छन् । मन्त्री श्रेष्ठलाई अर्यालले ३ हजार ७ सय ६ मतअन्तरले पछाडी पार्दै सांसदको यात्रा तय गरेकी छन् । उनले ३५ हजार १ सय ४२ मत प्राप्त गरेकी छिन् भने मन्त्री श्रेष्ठले ३१ हजार ४ सय ३६ मत प्राप्त गरेका छन् ।
२०५४ मा उनीहरुको भिडन्त नभएको हाइन तर त्यस बेला अर्याललाई पराजित गरेका श्रेष्ठले यसपालीको निर्वानमा जनमत आफ्नो पक्षमा पार्न सकेनन् । यो जित अर्यालको लागि बदला लिएको जस्तै भयो । बुथ कब्जाको अरोप प्रत्यारोप सँगै चरम विवाद अनि शिक्षामन्त्रीसामु आफ्नो उम्मेदवारी अर्यालका लागि कुनै सानो चुनौतीको विषय थिएन । यसका बाबजुत पनि उनले जित दर्ता गराएपछि सबै दंग परेका छन् ।

साथै जिल्लाको क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेद्वार नारायण मरासिनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । मरासिनीले ३९ हजार ४३३ मत प्राप्त गरेर विजयी हुँदा कांग्रेसका राजु थापाले २८ हजार ७३१ मत पाएका छन् । राजु थापा २०७० मा सोही क्षेत्रबाट निर्वाचित हुँदा मरासिनी प्रतिस्पर्धी थिए । यसपटक चार वर्षअघिको बदला लिँदै मरासिनी सांसदमा निर्वाचित भएका हुन् ।

साथै स्याङ्जा क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा माओवादी केन्द्रका उम्मेद्वार दिपक थापा विजयी भएका छन् । थापाले पूर्वसांसद समेत रहेका कमल प्रसाद पंगेनीलाई २७२६ मत अन्तरले हराएका हुन् । थापाले १७ हजार ३९२ प्राप्त गरेका छन भने पंगेनीले १४ हजार ६६६ मत पाएका छन् ।

जिल्लाकै क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) बाट एमालेका जिल्ला अध्यक्ष मीनप्रसाद गुरुङ बिजयी भएका छन् । गुरुङले २० हजार २४८ मत पाएर बिजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका तुल्सी गिरीले १४ हजार ५१० मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेशसभा–२ (क) मा पनि बामगठबन्धनका उम्मेदवार मोहन रेग्मी विजयी भएका छन् । कांग्रेसका प्रतिस्पर्धी विष्णु पौडेललाई ३४७३ मतले पछाडी पार्दै रेग्मी विजयी भएका हुन् । रेग्मीले १६ हजार ६ सय १३ मत प्राप्त गरेका छन् भने पौडेलले १३ हजार १ सय ४० मात्र मत प्राप्त गरे ।

साथै प्रदेशसभा क्षेत्र नम्बर २ (ख) बाट नेपाली कांग्रेसका उम्मेदवार भागवत प्रकाश मल्लले आफ्ना प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार सूर्यप्रसाद गैह्रेलाई पराजित गरेका छन् । नेता मल्ल माओवादी नेता सूर्यप्रसाद गैरेभन्दा १ हजार ५ सय ४० मत बढी प्राप्त गरी विजयी भएका हुन् ।

प्रदेशसभा सदस्यमा निर्वाचित मल्लले १९ हजार १ सय ७० मत उनका प्रतिस्पर्धी गैह्रेले १७ हजार ६ सय ३० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्