बलिउड पर्दामा आउने प्रयासमा जेनिशा



विदुर गिरी

नायिका जेनिशा केसी बलिउड फिल्मको पर्दामा आउने प्रयासमा जुटेकी छिन्। यसका लागि उनी केही महिनायता मुम्बई पुगेर बलिउडकर्मीसँग भेटघाट बढाइरहेकी छिन्।

‘नेपाली फिल्ममा काम गरेर धेरै अनुभव बटुलें। नेपालका स्टार र सुपरस्टारहरूसँग पनि काम गरें। अब भने बलिउडमा ट्राई गरिरहेकी छु, जेनिशाले मुम्बईबाट नेपाल समाचारपत्रसँग कुरा गर्दै भनिन्– ‘यसै क्रममा हिजो बलिउडका सुपरस्टार सलमान खानसँग भेटें। सलमानसँग धेरै बेर भेट गर्न त पाइन, त्यही १५ मिनेट जति कुरा भयो। तर, यो १५ मिनेटको कुराबाट केही पछि गुड न्युज दिन सक्छु भन्ने लागेको छ।’

जेनिशाले भाइबर कलमै सुनाइन्– ‘सलमानलाई भेट्न सजिलो छैन। उसको वरिपरि बाउन्सर, बडिगार्ड अनि पुलिस। ऊसँग मिथुन चक्रवर्तीमार्फत भेट भएको हो। मिथुन दा मेरो बाबा (बलराम केसी) को साथी हुनुहुन्छ। बाबा बिजनेस म्यान हुनुहुन्छ, यसकै लागि इन्डिया आइरहनुहुन्छ। त्यही क्रममा उहाँ मिथुन दाको साथी हुनुभएको हो। बाबाकै थ्रोबाट मिथुन दासँग चिनजान भयो। तर, बाबाले कहिल्यै मेरो सिफारिस गरिदिनुभएन। सधैं इन्डियनले सिफारिस गरेको मन पराउँदैन। तिमीमा प्रतिभा छ भने आफैंले प्रयास गर्नुपर्छ भन्नुहुन्छ’, जेनिशाले बेलीविस्तार लगाइन्– ‘यसपालिचाहिँ म यहाँ हुँदा छोरी मुम्बई आएकी छ, के सकिन्छ सहयोग गरिदिनु भन्नुभएको रहेछ। र, मिथुन दाले वेलकम गर्नुभयो। उहाँले नै सलमानसँग तिम्रो कुरा गरेको छु, ऊ पनि आउँछ भनेर सुटिङ स्पटमा बोलाउनुभएको थियो र सलमानलाई भेटाइदिनुभएको थियो।’

जेनिशाले अगाडि सुनाइन्– ‘मिथुन दाकहाँ पुगेपछि उहाँले सलमानसँग कुरा त गरेको छु। तर, उसको मुड कस्तो छ हेर्नुपर्छ भन्नुभयो। सलमान आएपछि डीआईडीको सुटिङ सेटमा भेनिटी भ्यानमा सलमानसँग भेट भयो। तर, अनौठो रहेछन्, एउटै सोफामा बस्दा पनि धेरै नबोल्ने। तैपनि मैले नेपाल जान लागेको थाहा पाएर वेलकमबाट कुरा शुरू गरें। मिथुन दाले राम्रो एक्टिङ गर्ने, गुड लुकिङ, गुड हाइट भएको, नेपालको धेरै फिल्ममा काम गरेको भनेर भनिसक्नुभएको रहेछ। अनि बलिउड फिल्मको प्रोजेक्टको कुरा भयो।’ जेनिशाले फोन कलमै रमाउँदै शेयर गरिन्– ‘सलमानले यु ह्याभ ब्युटिफुल आइज भने। ट्राई गरिराख, मेहनत गरिराख, ट्राई गर्न नछोड हामी साथमा छौं’। टचमा बसिराख, लभ यु भने। १५ मिनेटको यो भेटले चाँडै गुड न्युज आउँछ, केही खुसीको कुरा छ। सलमानले मिथुनलाई इन्फर्म गर्छु भनेका छन्। त्यसपछि हामीले फोटो खिच्यौं। कट्रिना कैफ पनि थिइन्, तर उनीसँग फोटो खिचिनँ। किनकि मलाई सलमानसँग कुरा गर्नु थियो, फोटो खिच्नु थियो।’

जेनिशाले बलिउड फिल्ममा अवसर पाउनका लागि धेरै मेहन गरिरहेको बताइन्। ‘हिन्दी बोल्न सिक्दै छु। हिन्दी बोल्न त आउँछ, तर नेपाली टोन, मदर टोन आइदिहाल्छ। यसका लागि हिन्दी बोल्न सिक्दै छु, योग गरिरहेको छु। टफ रहेछ यहाँ त। तर, ट्यालेन्टको कदरचाहिँ हँुदोरहेछ।’ बलिउडमा संघर्ष गर्न लागिरहेकी उनले त्यहाँ पुगेर अभिनय कक्षा नै चाहिँ लिएकी छैनन्। ‘एक्टिङ क्लास लिएको छैन, किनभने सेल्फ कन्फिडेन्स छु –जेनिशा भन्छिन्।

प्रतिक्रिया दिनुहोस्