नगरप्रमुख हुँदै सांसद



हिक्मत नेपाली, दैलेख ।

मंसिर २१ गते सम्पन्न प्रतिनीधिसभा र प्रदेश सभासदस्य निर्वाचनको अन्तिम मत परिणाम अनुसार दैलेख निर्वाचन क्षेत्र नं. १ बाट रविन्द्रराज शर्मा प्रतिनीधि सभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमाले दैलेखको जिल्ला अध्यक्ष समेत रहेका शर्मा यस पटक नेकपा एमाले र माओवादी केन्द्रको सयुक्त बाम गठबन्धनको तर्फबाट क्षेत्र नं. १ मा प्रतिनीधि सभा सदस्यमा उम्मेदवार बनेका थिए ।

२०२१ साल असोज १० गते दैलेखको नारायण नगरपालिका वडा नं. २ जाहारकोटमा जन्मिएका शर्मा ३२ बर्षे लामो राजनीतिक जिम्मेवारी सम्हाल्दै सांसदको यात्रा तय गरेका हुन् । शर्माले त्रिभुन उच्च मावि दैलेख बजार एसएलसी उतिर्ण गरेका थिए भने महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज आईएल गरेका छन् ।

शर्माले २०४२ साल बाट औपचारिक राजीतिक यात्रा सुरुवात गरेका थिए । २०४२ मा नेकपा मालेको भातृसंगठन अनेरास्ववियूको महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको प्राकमा आवद्ध भए संगै उनको औपचारिक राजनीतिक यात्रा सुरु भएको थियो ।

उनले २०४६ मा नेकपा मालेको नेपालगञ्ज नगर संगठन कार्यदलको सदस्यको जिम्मेवारी पुरा गरेका थिए । शर्माले २०४७ मा नेकपा मालेको संस्थापक सचिव भएर काम गरे । उनले माले र माक्संवादी एकीकरणपछि बनेको नेकपा एमालेको पनि पार्टी सचिवको रुपमा राजनीतिक जिम्मेवारी पुरा गरेका थिए ।

उनी २०५२ मा नेमकिपाको जिल्ला कार्यसमितिलाई एमालेमा समाहित गराउने प्रणयताको रुपमा परिचित छन् । २०४८ र २०५१ को संसदीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट दैलेख–१ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका शर्मा २०५४ को स्थानीय निर्वाचनमा नारायण नगरपालिकाको नगरप्रमुख निर्वाचित भएका थिए । २०५४ मा दैलेखको नारायण नगरपालिकाको नगर प्रमुख रहेका शर्मा २० बर्ष पनि संसादको यात्रा तय गरेका छन् । शर्मा २०७१ मा नेकपा एमाले जिल्ला कमिटी दैलेखको अध्यक्षमा निर्वाचित भएका थिए । २०७१ मा एमाले दैलेखको पार्टी अध्यक्षमा निर्वाचित भए यता उनि एमाले पार्टीको संगठन विस्तारमा सक्रिय बनेका थिए ।

शर्माले नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रीक गठबन्धनका राप्रपाका दिपक कुमार शाहीलाई ६ हजार ७ सय २१ मतको फराकिलो मतान्तरले पराजीत गरेका थिए । शर्माले २३ हजार ७ सय ७३ मत प्राप्त गरेका थिए भने निकटतम् प्रतिद्वन्द्वी राप्रपाका दिपककुमार शाहीले १७ हजार २ सय ५२ मत पाएका थिए । दैलेख निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित शर्माले मतदाताका विचमा गरिएका सम्पूर्ण प्रतिबद्धताहरु पुरा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्