नेपाल क्लिंकरमा आत्मनिर्भर बन्दै



रोविन पौडेल, काठमाडौं
आगामी आर्थिक वर्षसम्म नेपाल सिमेन्टको प्रमुख कच्चा पदार्थ क्लिंकरमा आत्मनिर्भर हुने भएको छ। नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको अवस्थामा सिमेन्ट उद्योगमा लगानी बढ्नुले क्लिंकरमा पनि आत्मनिर्भर हुने दाबी निजी क्षेत्रले गरेका हुन्।

नेपाल आर्थिक वर्ष २०७४⁄७५ भित्र नै कच्चा पदार्थमा पनि आत्मनिर्भर बन्ने नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुबराज थापाको भनाइ छ। सिमेन्टमा बढेको लगानी, नेपालमै पनि क्लिंकर उत्पादन गर्ने कम्पनीको संख्या बढ्नु तथा सिमेन्ट उत्पादन गर्ने कम्पनी आफैं क्लिन्कर उत्पादनमा लागेका हुँदा नेपाल क्लिन्करमा पनि आत्मनिर्भर हुन लागेको उहाँको दाबी छ।

नेपाल समाचारपत्रसँग कुरा गर्दै थापाले भन्नुभयो–‘अहिले क्लिंकर उत्पादनमा समेत नेपाल आत्मनिर्भर उन्मुख भइरहेको छ। यो भन्न पाउनु नै हाम्रा निम्ति खुशी र गौरवको विषय हो।’ पछिल्ला दिन केही नयाँ सिमेन्ट उद्योग निर्माणको पाइपलाइनमा रहेको उहाँ बताउनुहुन्छ।

‘ती सिमेन्ट उद्योगले अबको एकदेखि दुई वर्षमा उत्पादन शुरु गर्ने तयारी गरेका छन्। सिमेन्ट उत्पादन गर्दै आएका केही उद्योगले आफ्नो उत्पादन क्षमता बढाउने क्रममा रहेको कारण पनि अबको केही वर्षमै हामी क्लिंकरमा पनि आत्मनिर्भर बन्ने अपेक्षा गरेका हौं।’ थापाको भनाइ छ।

नेपालमा क्लिंकर आयात विगतको भन्दा कम हुँदै गएको थापा बताउनुहुन्छ। क्लिंकर उत्पादनका लागि बढेको लगानी नै यसको कारण रहेको उहाँको दाबी छ। उहाँले भन्नुभयो–‘पहिले ५ देखि ६ वटा मात्र क्लिंकर उद्योग रहेकोमा अहिले त्यो बढेर १३ वटा पुगिसक्यो। हाल बाँकी क्लिंकर भने भारतबाट आयात हुने गरेको छ।’ नेपालमा अहिले प्रतिवर्ष ८ लाख टन क्लिंकरको आवश्यकता रहे पनि वार्षिक ६ लाख टन क्लिंकरमात्र उत्पाद हुँदै आएको उहाँ बताउनुहुन्छ।

हाल नेपाल सिमेन्टमा पूर्णरूपमा आत्मनिर्भर भइसकेको छ। सिमेन्ट उत्पादनमा १५ वर्षदेखी निजी क्षेत्रले हात हाले पनि १० वर्षअघिसम्म औंलामा गन्न सकिने उद्योगका उत्पादन रहेकोमा अहिले झण्डै १ सयभन्दा बढी ब्रान्ड नेपाली बजारमा उत्पादन तथा बिक्री वितरणमा छन्। नेपालमा कुल सिमेन्ट उत्पादन वार्षिक ११ करोड बोराभन्दा बढी रहेको छ।

बजार अनुपातलाई हेर्दा यो उत्पादन नेपालको लागि पर्याप्त रहेको उद्योग मन्त्रालयको भनाइ छ। यद्यपि, स्थापित उद्योगको क्षमता भने अहिले उत्पादन भएको सिमेन्टभन्दा दोब्बर अर्थात ८० लाख टनभन्दा बढी छ। नेपालमा सिमेन्टको माग ४५ लाख मेट्रिक टन रहेको छ।
निर्माणका लागि प्रयोग हुने डन्डी र रङको अवस्था भने सिमेन्टको जस्तो छैन। नेपालमा वार्षिक १० लाख मेट्रिक टन स्टिलको आवश्यकता रहेको छ। आवश्यकमध्ये ५ लाख टनभन्दा बढी स्टिल आन्तरिक उद्योगले उत्पादन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्