भाइरल ज्वरोका बिरामी बढे



वीरबहादुर बम, मुगु
मुगुमा जाडो अत्यधिक बढेसँगै जिल्लाभर भाइरल ज्वरो बढेको छ भने दर्जनौंको मृत्यु भइसकेको छ। मुगुको खत्याड, सोरु, गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा भाइरल ज्वरोको प्रकोप बढेको झन्डै १ महिना पुग्नै लाग्दा गाउँमा अझै प्रकोप नियन्त्रण भने हुन सकेको छैन। मंसिर महिना जान लाग्दा समेत पानि नपरी सुख्खा हावा चली चिसो बढेपछि रुघाखोकीसहित निमोनियाका बिरामीसमेत बढेका छन्। जिल्ला अस्पताल मुगुले समेत उपचारमा कठिन हुने भनेपछि कतिपय बिरामी जिल्लाबाहिर गएर उपचार गर्ने गरेका छन्।

जिल्लाका सबैजसो गाउँबस्तीमा फैलिएको रुघाखोकी, निमोनिया र भाइरल ज्वरोका कारण बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन्। गाउँमा घाम लागेको बेला हरेक घरका छतमा दुई⁄तीन जना सुतेको देखिन्छ, रुघाखोकीले गाउँ निकै प्रभावित बनेको छ ।गाउँमा केही दिनअगाडि सञ्चालन गरिएको उपचार शिविरमा पनि पर्याप्त औषधिको अभावमा बिरामी रित्तै घर फर्केका सोरु गाउँपालिकाका स्थानीयवासी टक्कबहादुर शाही बताउँछन्। प्रवाभकारी उपचारको व्यवस्था नहुँदा एक हप्तायता गाउँमा निमोनिया र ज्वरोका कारण अधिकांशको मृत्यु भएको छ भने अझै रोग नियन्त्रणमा आउन नसकेको उनले बताए।

त्यस्तै यसै हप्ता छायाँनाथ रारा नगरपालिका–५ ढुम गाउँकी ७२ वर्षीया लालशोभा बुढाको मृत्यु भएको छ, त्यस्तै वडा नम्बर ७ मा १ वर्षीय बालक र ७० वर्षीय धर्मकला शाहीको मृत्यु भएको छ। त्यस्तै वडा नम्बर ४ भामवाडा गाउँमा १ हप्तायता ५ जनाको मृत्यु भएको स्थानीयवासी धीरेन्द्र भामले बताए।

यता खत्याड गाउँपालिकाका सबै गाउँबस्तीमा रुघाखोकी, निमोनिया र ज्वरोको प्रकोप फैलिएको तथा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा प्रभावित भएको स्थानीयवासी बीर्खबहादुर थापाले जानकारी दिए। रुघाखोकी र ज्वरोका कारण हप्ता दिनअगाडि आधा दर्जन बढीको मृत्यु भएको र सोरु गाउँपालिकाका विभिन्न वडामा पनि त्यो भन्दा कमको अवस्था नभएको सोरु गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ।

गएको साताभित्र एउटै रिगा गाउँका ६५ वर्षीय बिउरासर पाण्डे, ४४ वर्षीय विष्णु जैसी, ७५ वर्षीय ऋषिसन्न उपाध्याय र सुकाढिक गाउँकी ५५ वर्षीय पूर्वा कार्कीको मृत्यु भएको छ। कात्तिक दोस्रो सातादेखि अन्तिमसम्म सेरी साताबाडा गाउँका ५९ वर्षीय सिंहबहादुर बुढा, खमाले कवाकी ४२ वर्षीय मागी रोकाया, पैखु गाउँका ५६ वर्षीय धनसिंह थापा र सोही गाउँका ६५ वर्षीय दलसुर थापाको मृत्यु भएको छ।सोरु गाउँपालिका वडा नं. ८ मा ७१ वर्षीय कैसिला बम र ९ मा चन्दु जैसीको पनि रुघाखोकीकै कारणले ज्यान गएको उनका आफन्तले बताएका छन्।

कडा ज्वरो आउने, टाउको दुख्ने, घाँटी पाक्ने, पेट दुख्ने रिंगटा लाग्ने बान्ता आउने आँखा दुब्ने खाना खान मन नलाग्नेजस्ता रोगको लक्षणले शरीर कमजोर हुँदै जाँदा औषधि उपचार नभएर मृत्यु हुने गरेको स्थानीयवासीले बताएका छन्। रुघाखोकीले थला परेपछि नेपालगन्ज गरएर धेरै पैसा खर्च गरेर आफ्नो गाउँमा फर्किएको कुरा कालै गाउँकी नैना शाही बताउँछन्।

दुई सातासम्म बालबालिका र तन्नेरी बिरामी परेर सञ्चो हुने र ५० वर्षभन्दा माथिका दमरोग रक्तचाप कम र बढी भएका महिला पुरुषलाई रोगले बढी च्यापेर धमाधम मृत्यु हुने गरेको उपचारमा संलग्न स्वास्थ चौकी खनायाका हेल्थ एसिस्टेन्ट सुरज शाही बताउँछन्। बिरामी उपचारका क्रममा स्वास्थ्य चौकीमा आउने तर उपकरण र आवश्यक औषधिको अभावमा सन्तोजनक तरिकाले बिरामीको उपचार गर्न नसकेको कुरा स्वास्थ्य चौकी भिईकी अनमी बताउँछिन्।

गम्था, रिघा, रातापानी, कोटडाँडा, श्रीकोट, कालै, भिई, जिमालगायतका बस्तीमा व्यापक भाइरल ज्वरो फैलिएको छ। चिसो बढ्दै जाँदा झन् भाइरल ज्वरोका बिरामी बढेका छन्। स्थानीयले बिहान–बेलुका आगो तापेर बस्नु पर्ने अवस्था रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्