मतगणना अन्तिम चरणमा, प्रत्यक्षतर्फको सबै नतिजा आज



सुनील महर्जन, काठमाडौं
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

निर्वाचन आयोगले भनेको समयसीमामा नै मतपरिणाम आउने भएको छ। आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फको मतपरिणाम ४ देखि ७ दिनभित्रमा आउने बताएको थियो।

आयोगका अनुसार प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये सोमबार रातिसम्म १ सय ५७ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ। त्यसमा एमाले ७७, नेकपा माओवादी केन्द्र ३४, नेपाली कांग्रेस २१, राष्ट्रिय जनता पार्टी १०, संघीय समाजवादी फोरम १०, नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, नेपाल मजदुर किसान पार्टी, राप्रपा नेपाल र स्वतन्त्र दलले १⁄१ स्थानमा विजय हासिल गरेका छन्।

प्रतिनिधिसभातर्फ ८ वटा निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी रहेको छ। आज मंगलबारसम्ममा सबै निर्वाचन क्षेत्रको मतपरिणाम आइसक्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो। परिणाम आउन बाँकीमा सुनसरी–३, (एमालेको अग्रता), सर्लाही–४ (राजपाको अग्रता), सर्लाही–१ (एमालेको अग्रता), स्याङ्जा–१ (एमालेको अग्रता), स्याङ्जा–२ (एमालेको अग्रता), कैलाली–१ (राजपाको अग्रता), कैलाली–२ (एमालेको अग्रता) र कञ्चनपुर–३ (एमालेको अग्रता) रहेका छन्।

त्यसै गरी प्रदेशसभाका ३ सय ३ क्षेत्रको मतगणना सम्पन्न भइसकेको छ। प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका २७ निर्वाचन क्षेत्रको मात्र अन्तिम मत परिणाम प्राप्त हुन बाँकी रहेको छ।
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना भने जारी रहेको छ। आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार ७७ जिल्लामध्ये प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना कार्य ३७ जिल्लामा सम्पन्न भएको छ।

रसुवा, म्याग्दी, मनाङ, मुस्ताङ, रुकुम पूर्व, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा, डडेल्धुरा, बझाङको समानुपातिकतर्फको मतगणनाको काम सकिएको छ। बाँकी २५ जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना कार्य जारी रहेको छ।

समानुपातिकतर्फको मतगणना कार्य जारी रहेका जिल्लामा मोरङ, सोलुखुम्बु, ताप्लेजुङ, ओखलढुंगा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, दोलखा, रामेछाप, गोरखा, बाग्लुङ, पाल्पा, रोल्पा, दाङ, रुकुम पश्चिम, कालिकोट, जाजरकोट, हुम्ला, दैलेख, बैतडी र दार्चुला छन्।

पछिल्लो विवरणअनुसार १० हजारभन्दा बढी मत प्राप्त गर्ने राजनीतिक दलहरूमा नेकपा एमाले, ३ लाख २८ हजार ६ सय २८, नेपाली कांग्रेस ३ लाख २६ हजार ६ सय ७४, नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेका दलहरू १ लाख ६० हजार १ सय १६, राष्ट्रिय जनता पार्टी नेपाल २४ हजार ८ सय ४०, विवेकशील साझा पार्टी १६ हजार २ सय २३, राष्ट्रिय प्रजातन्त्र पार्टी १४ हजार ६०, संघीय समाजवादी फोरम नेपाल १३ हजार ८ सय ७९ र नयाँ शक्ति पार्टीले १० हजार ६ सय ३४ मत प्राप्त गरेका छन्।

आयोगले मंसिर मसान्तभित्र समानुपातिक निर्वाचनको मतपरिणाम आइसक्ने जनाएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका मत परिणाम पहिलेको भन्दा चाँडो आएको पाइएको छ। मतपत्र सहज हुनुका साथै मतगणनाका कर्मचारीले दोब्बर समय काम गरेकाले मतपरिणाम चाँडै आएको जनाएको छ। आयोगले तोकेकै समयमा मत परिणाम दिनुपर्ने भएकाले समयको ख्याल गरेर मतगणना गरिरहेको निर्वाचनमा खटिएका कर्मचारीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्