ताप्लेजुङमा समानुपातीकको मतगणना सम्पन्न, एमाले पहिलो, कांग्रेस दोस्रो



रविन भट्टराई, ताप्लेजुङ ।

प्रत्यक्ष तर्फको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा क जितेको एमालेले ताप्लेजुङमा समानुपातिकमा पनि सबै दललाई पछि पादै पहिलो भएको छ । सोमबार सम्पन्न समानुपातिक तर्फको मत गणनामा प्रतिनिधिसभा र प्रदेश सभा दुबैमा एमालेले काँग्रेसलाई दोस्रो पाटिमा छाडेको छ ।

समानुपातिकमा प्रतिनिधिसभा तर्फ एमाले काँग्रेस भन्दा ५ हजार ९ सय ४१ मतले अघि रहेको छ भने प्रदेश क मा ३ हजार ३ सय ५३, प्रदेश ख मा २ हजार १ सय ५३ मतले अघि रहेको छ । प्रतिनिधिसभा तर्फ एमालेले २० हजार ७ सय ४० मत प्राप्त गर्दा नेपाली काँग्रेशले १४ हजार ७ सय ९९ मत प्राप्त गरेको थियो ।

यस्तै प्रदेससभा तर्फ क क्षेत्रमा एमालेले १० हजार ८ सय ११ मत पाएको छ भने प्रतिस्प्रधि काँग्रेशले ७ हजार ४ सय ५८ मत प्राप्त गरेको छ । यस्तै प्रदेशसभा तर्फ ख क्षेत्रमा एमालेको ८ हजार ३ सय ८ मत खस्दा काँग्रेसको ६ हजार १ सय ५५ मत रहेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्किले जानकारी दिनुभयो ।

ताप्लेजुङमा प्रतिनिधिसभा तर्फ ५१ हजार ७ सय ४८ मत, प्रदेश सभा तर्फ क क्षेत्रम २८ हजार ९ सय ६६ र ख मा २२ हजार ७ सय ८२ मत खसेको थियो । समानुपाति तर्फको मत गणनामा तेस्रो स्थानमा रहेको नेकपा माओवादि केन्द्र प्रतिनिधिसभा, प्रदेशसभा क र ख मा क्रमस ६ हजार ३ सय ४१, ३ हजार ४ सय ४१ र २ हजार ८ सय ९७ मत प्राप्त गरेको छ ।

यस्तै समानुपातीकमा पनि चौथो स्थानमा संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च उदाएको छ । सो पाटिले प्रतिनिधिसभा, प्रदेशसभा क क्षेत्र र ख मा क्रमश २ हजार ९, १ हजार ७ सय ५६ र ८ सय ५३ मत प्राप्त गरेको छ । केहि चर्चामा र सक्रिय रहेको नयाँ शक्ति पाटिले भने प्रतिनिधिसभामा ७ सय ४६, प्रदेश क मा ५ सय २२ र ख मा ६२ मत मात्र प्राप्त गरेको छ ।

प्रतिनिधिसभामा ताप्लेजुङबाट ४७ वटा पाटिलाई मत खसेको छ भने प्रदेश क र ख मा क्रमस २४ र २५ वटा राजनितीक दललाई मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

ताप्लेजुङबाट प्रतिनिधि र प्रदेशसभामा समानुपातिक तर्फ संघिय समाजबादि फोरम, राष्ट्रिय प्रजातन्त्र पाटि, एकल चिन्ह हसिया तार लिएका, राष्ट्रिय जनमुक्ति पाटि, नेपाली जनता दल, विवेकशिल साझा पाटि, आमुल परीवर्तन मसिहा पाटि नेपालले पनि सय मत भन्दा माथि ल्याएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्किले बताउनुभयो ।

बदर मत पनि बढि
समानुपातीकमा प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र एउटै पानाको दुई भागमा रहेकाले मतदाता अलमलमा परेको पाईएको छ । समानुपातिक मत गणना गर्दा बदर मतको संख्या पनि ताप्लेजुङमा उल्लेख्य पाईएको छ ।

प्रतिनिधिसभा तर्फको समानुपातिकको गणनामा ५१ हजार ७ सय ४८ मत गन्दा ४ हजार ६ सय ९१ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्किको भनाई छ । यस्तै प्रदेशसभा तर्फ क क्षेत्रमा २८ हजार ९ सय ६६ मत गन्दा ३ हजार ५ सय २१ र ख क्षेत्रमा २२ हजार ७ सय ८२ मत गन्दा ३ हजार ६ सय ३ मत बदर भएको कार्किले बताउनुभयो ।

अधिकाँस मतदाताले समानुपातिक मत पत्र एउटैमा दुई ठाउँ मत लगाउनुपर्नेमा कसैले एक ठाउँ मात्रै कसैले माथिल्लो मत पत्रमानै दुई ठाउँ त कसैले दुई भन्दा बढि पनि मतदान गरेको भेटिएको उहाँको भनाई छ ।

मतदान गर्ने स्थानको व्यवस्थापनमा लापरबाहि हुँदा प्रत्यक्ष तर्फको मतगणनामा समानुपातिको पनि मतपत्र भेटिएको थियो भने समानुपातिकको मतगणनामा प्रत्यक्षको पनि मतपत्र भेटिएको थियो । ति सबै मत बदर हुने प्रावधान रहेको छ । मत पत्रमानै मतदान गर्न नजान्नुमा भने मतदाता शिक्षाको कमी नै मुख्य कारण रहेको मुख्य निर्वाचन अधिकृत कार्किको भनाई छ ।

मुख्य निर्वाचन अधिकृत कार्किले सबै मत गणना सकिए सँगै मतदान देखि मतगणना सम्म खटिने सबै उम्मेदवार, राजनितिक दल, कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मि र नागरीकलाई धन्यवाद समेत दिनुभएको छ । सबैको सहकार्यमा मतदान र मतगणना भएकाले ताप्लेजुङमा शान्तिपुर्ण र विना विवाद चाँडो मतगणना सकिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्