प्योङयाङ संयुक्त राष्ट्रसंघको सम्पर्कमा रहने



सोल, (एजेन्सी)
संयुक्त राष्ट्रसंघका एकजना वरिष्ठ अधिकारीले युद्धको खतरा टाल्नका लागि उत्तर कोरियाका वरिष्ठ नेताहरूलाई च्यानलहरु खुल्ला राख्नु अत्यन्तै जरुरी भएको बताएका छन्। विश्वबाट अलगिएको कम्युनिस्ट राष्ट्रको राजधानी प्योङयाङको भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका अधिकारी जेफ्री फेल्टम्यानले सो विचार व्यक्त गरेका हुन्।

६ वर्षपछि उत्तर कोरिया पुग्ने उनी संयुक्त राष्ट्रसंघका पहिलो वरिष्ठ कर्मचारी हुन्। उत्तर कोरियाले संयुक्त राष्ट्रसंघसँग नियमित सञ्चार सम्पर्कमा रहने सहमति जनाएको कोरियाली सञ्चार माध्यमले जनाएको छ। गत साता उत्तर कोरियाले पछिल्लो अन्तरमहादेसिय क्षेप्यास्त्र प्रक्षेपण गरेयता उत्तरको आणविक हातहतियार कार्यक्रमलाई लिएर थप तनाव र्सिजना भएको हो। अहिलेसम्मकै सबैभन्दा शक्तिशाली मानिएको उक्त क्षेप्यास्त्र अमेरिकाको जुनसुकै भागमा पुग्न सक्ने उत्तर कोरियाले दाबी गरेको थियो।

संयुक्त राष्ट्रसंघको नाकाबन्दीको बाबजुद पनि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्दै आएको हो। यसैबीच शक्ति प्रदर्शन गर्ने उद्देश्यले नै दक्षिण कोरिया र अमेरिकाले संयुक्त रूपमा विशाल सैनिक अभ्यास गरिरहेका छन्।

वार्षिक रूपमा हुने यस अभ्यासलाई प्योङयाङले आफूमाथिको आक्रमणको तयारीका रूपमा लिने गरेको छ। आइतबार दक्षिण कोरियाले उत्तरमाथि नयाँ नाकाबन्दी लगाउने कार्यमा अमेरिकालाई साथ दिने बताएको छ। यसैबीच सोमबारदेखि लागू हुनेगरी दक्षिण कोरियाले २० वटा उत्तर कोरियाली कम्पनी र १२ जना व्यक्ति विशेषलाई कालोसूचीमा राखेको छ। सोलले एकै महिनाभित्र दोस्रोपटक उत्तरमाथि एकपक्षीय नाकाबन्दी घोषणा गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्