लमजुङमा वाम गठबन्धन विजय उत्सवमा रमाउँदै, समानुपातिकको मतगणना प्रभावित



नवराज पहाडी, लमजुङ ।

लमजुङमा तीनवटै सिटमा विजय हासिल गरेको बाम गठबन्धन विजय उत्सवमा रमाउँदैछ । जिल्ला सदरमुकाम बेसीशहरमा विजयउत्सव पछि जुलुस सुन्दरबजार नगरपालिकातर्फ लागेको छ ।

बेसीशहर बजारको परिक्रममा पछि फूलबारी मञ्चमा विजय सभाको आयोजना गरी मतदाता, शुभेच्छुक, सहयोगी कार्यकर्ता, जिल्लाको प्रहरी, प्रशासन, कर्मचारीवर्ग सहित निर्वाचन आयोग सबैलाई धन्यवाद दिइएको छ । आफ्नो संक्षिप्त मन्तव्यमा विजयी नेताहरूले अब जिल्लाको विकास निर्माण र समृद्धिका लागि आफ्नो ध्यान जाने बताएका छन् ।

भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सबैको निर्वाचन परिणाम सार्वननिक भएको छ । तीन वटा सिट रहेको लमजुङको सबै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी हुनुभएको छ ।

प्रतिनिधि सभामा देवप्रसाद गुरुङ ८ हजार ४ सय एक मत अन्तर गरी विजयी हुनु भएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सदस्य समेत रहनु भएका उहाँ पनि हेवीवेट उम्मेदवार हुनुहुन्थ्यो । उहाँले ३९ हजार ४ सय ६८ मत पाउनु भएको छ । उहाँका निकटत्तम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीलबहादुर घर्तीले ३१ हजार ६७ मत प्राप्त गर्नु भई पराजित हुनुभएको छ ।

मनाङ जन्म घर भएका गुरुङको मावली हो लमजुङ । २०६४ सालमा मनाङ र कास्कीको क्षेत्रनं १ बाट विजयी हुनुभएका उहाँले माओवादी विभाजन कालमा वैद्य पक्षमा रहनु भई २०७० सालमा भएको संविधानसभा निर्वाचन बहिस्कार गर्नु भएको थियो ।

यसैगरी, लमजुङको प्रदेशतर्फ क बाट वाम गठबन्धनकै धनञ्जय दवाडी विजयी हुनुभएको छ । नेकपा (एमाले)को जिल्ला अध्यक्ष समेत रहनु भएका दवाडीले ६ हजार ४ सय १ मत अन्तरले विजयी हुनुभएको छ । यहाँले २० हजार २ सय ४४ मत पाउनु भएको छ । उहाँका निकटत्तम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गर्जबहादुर गुरुङले १३ हजार ८ सय ४३ मत पाउनु भएको छ । गुरुङ काँग्रेसको महासमिति सदस्य हुनुहुन्छ ।

प्रदेशसभाको ख क्षेत्रको निर्वाचनमा वाम गठबन्धनका पृथ्वीसुब्बा गुरुङ विजयी हुनु भएको छ । उहाँले २३ हजार ८८ मत ल्याई ७ हजार ९ सय ८६ मत अन्तर गर्दै नेपाली काँग्रेसका कृष्णप्रसाद कोइरालालाई हराउँदै विजयी हुनु भएको हो ।

उता, वाम गठबन्धनले विजय उत्सवमा सहभागी भएका कारणले प्रतिनिधि नपठाएको हुँदा समानुपातिकको मत गणना प्रभावित भएको छ । समानुपातिकको मत गणना भोलिमात्र हुने मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्