दोलखामा प्रतिनिधिसभा तथा प्रदेशसभाको सबै सिटमा बाम गठबन्धन विजयी



चिरञ्जीवी मास्के, दोलखा ।

दोलखा जिल्लाको प्रतिनिधिसभा तथा प्रदेशसभाको दुई वटै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार ठूलो मतान्तरका साथ विजयी भएका छन् ।
दोलखाको प्रतिनिधि सभामा बाम गठबन्धनको तर्फबाट एमालेका केन्द्रीय सदस्य पार्वत गुरुङ ५५ हजार ९ सय ५४ मत प्राप्त गरी विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८ सय मत प्राप्त गरेका थिए ।

प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ मा बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका केन्द्रिय सदस्य विशाल खड्का २८ हजार ३ सय ५० मतका साथ विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १२ हजार ९ सय ५६ मत प्राप्त गरेका थिए ।
त्यसैगरी प्रदेशसभा तर्फ क्षेत्र नम्बर २ मा बाम गठबन्धनको तर्फबाट एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाई २३ हजार ५८ मतका साथ विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव चौलागाईले १० हजार ८ सय ८० मत प्राप्त गरेका छन् भने नेकपा मालेका लालकुमार केसीले ३ हजार ४ सय ४ मत प्राप्त गरेका छन् ।

नेकपा मालेका उम्मेदवार लालकुमार केसी एमालेले टिकट नदिएपछि अन्तिम समयमा नेकपा मालेबाट उम्मेदवार बनेका थिए । केसी जिल्ला विकास समिति दोलखाको पूर्व जिविस सभापति हुन् ।

प्रतिक्रिया दिनुहोस्