सबैलाई चेतना भया



प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम आउने क्रम जारी छ। प्रारम्भिक नतिजाअनुसार वाम गठबन्धन अघि देखिएको छ। केही ठाउँबाट स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। विजयी दल र उम्मेदवारलाई बधाईको ओइरो लाग्या छ, बधाई र शुभकामना पाउने लाइनमा पछि परेका छैनन् स्वतन्त्र उम्मेदवार पनि।

विगतमा ‘डन’ कहलिएका राजीव गुरुङ (दीपक मनाङे) मनाङको प्रदेशसभा ‘ख’बाट र हुम्लामा वाम गठबन्धनका बागी उम्मेदवार छक्कबहादुर लामा प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएका छन्। विगतमा एमालेबाट उम्मेदवार बन्ने निधो भएका मनाङे र माओवादीका पोलिटब्युरो सदस्य भइसकेका लामालाई दुवै पार्टीले नपत्याएपछि अन्तिममा स्वतन्त्रबाट निर्वाचन लडे। दुवैले निर्वाचनमा सफलता प्राप्त गरे।

विगतमा समेत सांसद र राज्यमन्त्री भइसकेका छक्कबहादुरले वाम र लोकतान्त्रिक दुवै गठबन्धनलाई छक्क पारेका छन् भने मनाङेले राजनीतिमा सामान्य चासो राख्ने धेरैलाई झनै छक्क पारेका छन्। धरहरा दुवैलाई शुभकामना दिन चाहन्छ। आधिकारिकरूपमा चुनाव लडेर विजयी भइसकेका र विजयी हुने क्रममा रहेका मनाङे र लामा जस्तालाई अब डन र बागी हैन, माननीय भनेर सम्बोधन गरौ। कि ठूला पार्टीका आधिकारिक उम्मेदवार मात्रै माननीय हुन्, प्रस्ट पारौं? सरोकारवाला निकाय, प्रहरीसहित समग्र सुरक्षा निकायलाई चेतना भया।

प्रतिक्रिया दिनुहोस्