प्रधानमन्त्री मेको हत्या प्रयास विफल पारेको दाबी



लन्डन, (एजेन्सी)
बेलायती प्रधानमन्त्री टेरिजा मेलाई मार्ने षड्यन्त्रलाई सुरक्षा निकायले असफल बनाएको बेलायती अधिकारीहरूले बताएका छन्। उक्त षड्यन्त्रमा संलग्न रहेको आरोपमा दुई आरोपी २० वर्षीय नेइमुर जकारीया रहमा र २१ वर्षीय आकिब इमरानलाई गिरफ्तार गरिएको छ। मेको हत्याका लागि ‘इम्पोवाइज्ड एक्सप्लोसिभ डिभाइस’ (आईईडी)मार्फत बेलायती प्रधानमन्त्रीको आवास १० डाउनिङ स्ट्रिटमाथि कट्टरपन्थी हमला गर्ने बनाइएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

भिड र होहल्लाबीचमा प्रधानमन्त्रीमाथि आक्रमण गरी हत्या गर्ने योजना रहेको मेका प्रवक्ताले जानकारी दिए। उनले विगत १२ महिनामा बेलायतमा ९ वटा आक्रमणका षड्यन्त्रलाई विफल पारिएको पनि बताए।
मे लामो समयदेखि आतंकवादीहरूको निसानामा रहेकी स्काई न्युजले जनाएको छ। आक्रमणको सम्भावनालाई ध्यानमा राखी १० डाउनिङ स्ट्रिटको किलेनुमा गेट बन्द गरिएको र सुरक्षा व्यवस्था पनि बढाइएको छ।
सन् १९७० को दशकमा बेलायती प्रधानमन्त्रीका लागि सुरक्षा मापदण्ड ल्याइएको थियो तर सन् १९८० को दशकमा आइरिस रिपब्लिकन ग्रुप्सका तर्फबाट लगातार खतरा बढेपछि सुरक्षा बढाइएको थियो।

सन् १९९१ मा आइरिस रिपब्लिकन आर्मीले १० डाउनिङ स्ट्रिटमा मोर्टार हमला गरेको थियो। बम प्रधानमन्त्री निवास पछाडि खसेको थियो। त्यतिबेला प्रधानमन्त्री जोन मेजर घरमै थिए तर उनलाई कुनै क्षति पुगेन।
यसै वर्ष मार्चमा खालिद मसुद नामका एक व्यक्तिले वेस्टमिनिस्टर ब्रिजनजिक पैदल यात्रुहरूमाथि गाडी कुदाएर आक्रमण गरेका थिए। उनले संसद् सुरक्षामा तैनाथ एक सुरक्षाकर्मीलाई पनि मारेका थिए। उक्त हमलामा पाँच जना मारिएका थिए।

मेमा म्यानचेस्टर एरिनामा भइरहेको एक कन्सर्टमा भएको हमलामा २२ जना मारिएका थिए। त्यसैगरी उत्तरी लन्डनको एक मस्जिदमा भएको हमलामा पनि एक व्यक्तिको मृत्यु भएको थियो। गत सेप्टेम्बरमा पार्सन्स ग्रिन स्टेसनमा ट्युब ट्रेनमा विस्फोट गर्ने प्रयासलाई असफल बनाइएको थियो।

बेलायतमा विगत ४ वर्षमा सुरक्षा निकायहरूले २२ वटा आतंककारी षड्यन्त्रलाई असफल गरेको अधिकारीहरूले जानकारी दिए। ती घटनालाई लिएर ५ सय प्रत्यक्ष अनुसन्धान भइरहेको छ। आतंककारी गतिविधिमा संदिग्ध २० हजार व्यक्तिको पहिचान गरिसकेको जनाइएको छ।

गतवर्षको अतिवादी गतिविधिहरूमा ३६ जनाले ज्यान गुमाएका थिए। बेलायती गुप्तचर एजेन्सी एमआईका प्रमुख एन्ड्रयु पार्कले आतंककारी खतराका विषयमा मन्त्रिपरिषद्लाई जानकारी गराएको बताए। पार्करले आफ्नो ३४ वर्षको करियरमा बेलायतमा अहिले समय सबैभन्दा धेरै आतंककारी खतरायुक्त भएको बताए।

प्रतिक्रिया दिनुहोस्