चुनावी सुरक्षा व्यवस्था पूरा



सुरेश तामाङ, काठमाडौं

आज हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचनमा चुनावी सुरक्षा व्यवस्था पूरा भएको प्रहरी प्रधानकार्यालयले जनाएको छ। प्रहरी प्रधानकार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा डीआईजी मनोज नेउपानेले चुनावी सुरक्षा व्यवस्था पूरा भएको जनाउनुभएको हो।

उहाँले निर्धक्क भएर मतदान गर्न सबै मतदातालाई आग्रहसमेत गर्नुभयो। प्रहरी प्रधानकार्यालयले उक्त कार्यक्रममा नेपाल प्रहरीको कूल जनशक्तिको न्यूनतम् ९० प्रतिशत जनशक्ति परिचालन गरिएको जनाएको छ। प्रहरीले प्रथम चरणमा मतदान सम्पन्न भएका जिल्लाहरुमा मतपेटिकाको सुरक्षा दिइरहेको छ।

निर्वाचन सुरक्षार्थ पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र बाहिरी घेरामा नेपाली सेना रहनेछन्। प्रहरीले मतदानस्थलमा सुरक्षा संवेदनशीलताको आधारमा जनशक्ति, हातहतियार तथा साधनस्रोतहरुको परिचालनसमेत गरिएको जनाएको छ।

सिनियर प्रहरी अधिकृतको कमान्डमा मोबाइल टोली, पैदल गस्ती टोली रहेको र आवश्यकताअनुसार सिनियर प्रहरी अधिकृतको कमान्डमै रिजर्व टोलीको व्यवस्था गरिएको छ।

चुनाव विरोधी गतिविधिको सूचना संकलनका लागि सादा पोसाकमा प्रहरीसमेत परिचालन भइसकेको छ। सहयोगका लागि केन्द्र र सबै प्रदेशहरुमा हेलिकोप्टरलाई तयारी अवस्थामा राखिएको जनाइएको छ।
अनुगमनका लागि प्रहरी नायब उपरीक्षक प्रमुख रहने जिल्लाहरुमा प्रहरी उपरीक्षक, प्रहरी उपरीक्षक प्रमुख रहने जिल्लाहरुमा प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षक प्रमुख हुने जिल्लाहरुमा प्रहरी नायब महानिरीक्षकलाई खटाइएको छ।

निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सीमा नाकाहरु सिल गरिएको छ भने तालिम प्राप्त कुकुर, मेटल डिटेक्टरलगायतबाट चेकजाँचलाई तीव्रता दिइएको जनाएको छ। प्रहरीले निर्वाचनमा अप्रिय घटना घट्न नदिन दैनिक चेकजाँच, कडन र सर्च अपरेसनजस्ता कार्यलाई समेत जारी राखेको जनाएको छ। सम्भावित आपराधिक र ध्वंसात्मक गतिविधिमाथि नियन्त्रणमा आइसकेको प्रहरीको दाबी छ।

प्रहरीले निर्वाचन नहुने जिल्लाहरुबाट निर्वाचन हुने जिल्लाहरुमा अवाञ्छित व्यक्तिहरुको प्रवेशमा रोक लगाउन सिमानाकाहरुमा चेकिङ ड्युटी राखेर चेकजाँचलाई कडाइ पारेको जनाइएको छ।

कास्कीमा ३, बारामा १, संखुवासभामा १, भोजपुरमा १, सिरहामा १ र उदयपुरमा १ स्थानमा बम विस्फोटन तथा गोली प्रहार गर्ने १० जनालाई पक्राउ गरी आवश्यक कारबाही गरिएको प्रहरीले बताएको छ।

त्यस्तै निर्वाचन विरोधी गतिविधिमा संलग्न भएका विप्लव माओवादीका ६ सय कार्यकर्ता, सीके राउतका कार्यकर्ता १३ जना र अन्य ३ सय ५५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। प्रहरीले यसै क्रममा विभिन्न सानाठूला गरी ६१ थान हातहतियार, २ सय ८३ राउन्ड गोली गरी विस्फोटक पदार्थ बनाउन प्रयोग गरिने कच्चा पदार्थहरु बरामद गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्