चालीस वर्षअघि चोरिएकी महिलाले आफन्त भेटिन्



ब्युनस आयर्स, (एजेन्सी)
अर्जेन्टिनामा जन्मँदै आमाको काखबाट चोरिएकी एक महिलाले चालिस वर्षपछि ग्रायन्डमदर्स अफ दि प्लाजा डि मायो नामक एक अभियन्ता समूहको सहयोगमा आफ्नो नातेदारहरूसँग भेटेकी छिन्। ती ४० वर्षीया एड्रियानाको डीएनए परीक्षणपछि परिचय खुलेको थियो।

उनको डीएनए अर्जेन्टिनाको सैनिक शासनकालमा बेपत्ता भएका उनका मातापिताका आफन्तहरूसँग म्याच भएको थियो। पत्रकार सम्मेलनमा एड्रियानाले भनिन्– ‘मलाई हुर्काउने दम्पतीको मृत्यु भएपछि मलाई कसैले तिनीहरू मेरो जैविक मातापिता नभएको बताएका थिए।’

‘म आफ्ना वास्तविक मातापिताको खोजीको क्रममा मद्दतका लागि ग्रायन्डमदर्स समूहमा गइरहन्थें। १९७६ देखि १९८३ बीच सैनिक शासनकालमा वामपन्थी कार्यकर्ताका थुप्रै बालबालिका छिनिएको इतिहास रहेकाले मेरो जन्म मितिअनुसार पनि त्यतिबेला वेपत्ता पारिएका व्यक्तिहरूमध्येकै सन्तान हुनुनपर्ने मेरो विश्वास थियो।’ उनको डीएनए परीक्षण गरिएको चार महिनासम्म पनि त्यतिबेला बेपत्ता भएका वा सैनिक शासकद्वारा मारिएकाहरूका नातेदारहरूको ग्रायन्डमदर्सले अभिलेख राखेको डीएनएसँग उनको डीएनए म्याच भएको थिएन।

एड्रियानाले हतास हुँदै भनिन्– ‘मैले बच्चा बेलामा मलाई आमाबुबाले मन नपरेर वा बोझ ठानेर त्यागेको वा बेचेको हुनुपर्नेसम्म सोच्न थालें।’ तर सोमबार अचानक पहिचानका लागि अधिकारसम्बन्धी राष्ट्रिय आयोगबाट उनलाई गोप्य सूचना दिइनुपर्ने भनेर बोलाइयो।

उनलाई उनी भायोलेटा ओर्टोलानी नामक महिला र एडगार्डो गार्नियरका छोरी भएको बताइयो। उनका मातापिताको ला प्लाटा शहरमा इन्जिनियरिङको विद्यार्थी छँदा भेट भएको रहेछ। साथै तिनीहरू दुवै वामपन्थी समूहमा निकै सक्रिय रहेका थिए। १९७६ को डिसेम्बरमा ओर्टोलानीलाई सेनाले हिरासतमा लिँदा उनी आठ महिनाको गर्भवती थिइन्।

१९७७ को जनवरीमा हिरासतमै एड्रियानाको जन्म भएको थियो। त्यसको एक महिनापछि आफ्नी पत्नी र बच्चाको खोजी गर्दै गर्दा गार्नियर पनि पक्राउ परेका थिए। त्यसबेला २३ र २१ वर्ष उमेरका ओर्टोलानी र गार्नियरबीच त्यसपछि कहिल्यै भेट भएन।

तिनीहरू सैनिक शासनकालमा हराएका करिब ३० हजार व्यक्तिमध्ये परे। गार्नियरकी आमाले आफ्नी हराएकाी नातिनीको खोजी जारी नै राखेकी थिइन्। मंगलबार आयोजित पत्रकार सममलेनमा एड्रियानकी बज्यै उपस्थित हुन सकिनन्। तर उनले बज्यैसँग टेलिफोनमा कुरा गरिसकेकी छिन्।

प्रतिक्रिया दिनुहोस्