मकवानपुरमा पाँच कृषक पुस्तकालय



हेटौंडा,(नेस) ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ मा रहेको नमूना कृषक बहुमुखी सहकारी संस्था लिमिटेडमा कृषक पुस्तकालय शुरु गरिएको छ । कृषकलाई नयाँ प्रविधि र कृषिसम्बन्धि जानकारी गराउने उद्देश्यले कृषक पुस्तकालय स्थापना गरिएको हो ।

पुस्तकालय उद्घाटन गर्दै मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले कृषि प्रणालीलाई आधुनिकीकरण गर्नु जरुरी रहेको भन्दै पुस्तकालयले कृषकलाई सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले पुस्तकालयलाई व्यवस्थित र अन्य स्थानमा पनि सञ्चालनका लागि गाउँपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागीले कृषि प्रविधितर्फ उन्मुख भइरहेको भन्दै पुस्तकालयले कृषिलाई व्यवस्थित र वैज्ञानिक बनाउन सहयोग गर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय मकवानपुरका प्रमुख निर्मल गदालले हाँडीखोला तरकारी उत्पादनको पकेट क्षेत्रका रुपमा रहेकाले कृषि पुस्तकालयबाट किसानहरु व्यावसायिकतातर्फ उन्मुख हुने बताउनुभयो ।

हाँडीखोलामा व्यावसायिक कृषि भइरहेको भन्दै उहाँले यान्त्रीकरणमार्फत् लागत घटाएर उत्पादन बढाउनेतर्फ काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कृषक पुस्तकालयले बाली प्रणालीमा सुधार ल्याउन सहयोग गर्ने उहाँको भनाइ छ । उहाँका अनुसार मकवानपुरका ५ स्थानमा कृषि पुस्तकालय स्थापना गरिएको छ ।
मकवानपुरको नमूना बहुमुखी कृषक सहकारी हाँडीखोला, लालीगुराँस साना किसान सहकारी संस्था भीमफेदी गाउँपालिका वडा नम्बर ९ बाघमारा, गुप्तेश्वरी कृषि सहकारी संस्था लिमिटेड हेटौंडा उपमहानगरपािलका वडा नम्बर १२, पदमपोखरी, बागेश्वरी कृषि सहकारी संस्था लिमिटेड थाहानगर वडा नम्बर ६ दामन र आईपीएम कृषि सहकारी संस्था आमभञ्ज्याङमा पुस्तकालय स्थापना भएको कार्यालयले जनाएको छ ।

पुस्तकालयको लागि जिल्ला कृषि विकास कार्यालय मकवानपुरले किताब राख्ने ¥याक एक थान, ओपन ¥याक र पुस्तक गरी एउटा पुस्तकालय स्थापनाका लागि ४० हजार रुपियाँ सहयोग गरेको छ । जिल्लामा ५ वटा पुस्तकालय स्थापनाका लागि २ लाख रुपियाँ बजेट रहेको कार्यालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्