दोस्रो चरणको निर्वाचन सुरक्षा व्यवस्था कडा



ईश्वरराज ढकाल, काठमाडौं
सरकारले भोलि बिहीबार हुने दोस्रो चरणको निर्वाचन लक्षित सुरक्षा व्यवस्था कडा बनाएको छ।

तीन घेराको सुरक्षा व्यवस्थाअनुसार मतदानस्थल, उम्मेदवार र मतदाताको सुरक्षामा खटिएका तीन सुरक्षा निकायले सुरक्षा व्यवस्था कडा बनाएको दाबी गरेको छ।

निर्वाचनमा ६४ हजार २० नेपाली सेना, ६८ हजार ६ सय ७८ नेपाल प्रहरी, ४२ हजार ९१ जना सशस्त्र प्रहरी परिचालित हुनेछन्। त्यसबाहेक हवाई र जमिनबाट गस्ती गर्न छुट्टै सुरक्षाफौज तैनाथ गरिएको छ।

दोस्रो चरणअन्तर्गत प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा म्यादी प्रहरीसहित झन्डै २ लाख जनशक्ति परिचालन हुने भएको छ।

दोस्रो चरणको निर्वाचनमा मतदाता, मतदानस्थल र उम्मेदवार धेरै भएकाले पहिलो चरणको भन्दा धेरै सुरक्षाकर्मी परिचालित हुने गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता नारायण शर्मा दुवाडीले सबै मतदातालाई भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न बढी मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘सबै मतदानस्थलमा सुरक्षाकर्मी परिचालित भइसकेका छन्। थप सुरक्षाका लागि रिजर्भ फोर्स तयारी गरेका छौं।’ गृहले दाबी गरेको सो जनशक्ति रिजर्भ फोर्ससहित हो। दुवै चरणका निर्वाचनमा करिब ३ लाख सुरक्षाकर्मी परिचालित हुनेछन्। उहाँका अनुसार पछि कुनै घटना भए १० देखि ३० मिनेटभित्र तत्काल उद्धार गर्न ‘क्विक रेस्पोन्स टिम’ खडा गरिएको छ। निर्वाचनको संघारमा केही घटना भए पनि शान्ति सुरक्षाको व्यवस्था मजबुत रहेको दाबी गर्दै उहाँले भन्नुभयो– ‘निर्वाचन बिथोल्नेमाथि कारबाही प्रक्रिया अघि बढाइरहेका छौं।’

यो समूहले घटना घटाएको हो भन्ने विषयमा कुनै निक्र्योल ननिस्किए पनि बम विस्फोट गराउनेमाथि कारबाही थालिएको उहाँको भनाइ थियो। ‘हामी यो भन्न चाहन्छौं कि सरकारले भयरहित वातावरणमा मतदान गर्ने अधिकार सुनिश्चित गर्न सबैले सहज वातावरण अपनाउनुपर्छ।’ –उहाँले भन्नुभयो।

संविधान र कानुन नमान्नेमाथि कडा कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराखेको बताउँदै गृह प्रवक्ता दुवाडीले भन्नुभयो– ‘सुरक्षाको सबै उपाय अवलम्बन गरेका छौं। ढुक्क भएर मतदान गर्न सबैलाई आग्रह गर्दछौं।’ उहाँले पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु नै सुरक्षा निकाय सफल भएको दाबी गर्दै दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्णरूपमा सम्पन्न हुने बताउनुभयो।

निर्वाचन अवधिमा सुरक्षा निकायको हवाई गस्ती, पैदल, सादा पोसाक र ‘स्कर्टिङ’ गर्न छुट्टै सुरक्षाफौज तैनाथ हुने भएका छन्। नेपाल प्रहरी प्रवक्ता डीआईजी मनोज नेउपानेले सबै सुरक्षा निकायले सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइसकेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘भारतसँग सिमाना जोडिएको स्थानमा नेपाल र भारतको संयुक्त सुरक्षा फौजले हतियारसहित चेकजाँच शुरू गरिएको छ। भारतसँग सिमाना जोडिएका सबै नाकामा उच्च सुरक्षा व्यवस्था गरिएको छ।’ उहाँले दुर्गममा घटना भए तत्काल हेलिकोप्टर परिचालन हुने गरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो।

निर्वाचन गतिविधिमा संलग्नमध्ये हालसम्म ९ सय ५१ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सरकारले निर्वाचन सुरक्षार्थ निजी हेलिकोप्टरसमेत प्रयोग गर्ने भएको छ। निर्वाचनमा नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले निर्वाचन क्षेत्र, मतदानस्थल र मतदाताको सुरक्षा गर्नेछ।
सरकारको तीनघेरे सुरक्षा रणनीतिअनुसार मतदानस्थलमा नेपाल प्रहरी र म्यादी प्रहरी, त्यसपछि सशस्त्र प्रहरी र सम्पूर्ण मतदानस्थलको बाहिरी सुरक्षा नेपाली सेनाले गर्नेछ।

नेपाल प्रहरी प्रवक्ता डीआईजी नेउपानेले सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘देशभरको निर्वाचन सुरक्षाका लागि सबै क्षेत्रीय प्रहरी कार्यालयमा थप सुरक्षाफौज तैनाथ गरेका छौं।’
नेपाली सेनाले दोस्रो चरणको निर्वाचन हुने सम्पूर्ण जिल्लामा फौज तैनाथ गरिसकेको छ। सेनाले बाहिरी घेराको सुरक्षाका अलावा मतदानपछि सम्बन्धित स्थानमा मतपेटिका ढुवानी गर्नेसम्मको जिम्मा लिएको छ।
सेनाका प्रवक्ता सहायक रथी नैनराज पाण्डेले सेनाको जिम्मेवारीभित्र पर्ने सम्पूर्ण सुरक्षा व्यवस्था गरिसकेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘पहिलो चरणमा २८ हजार सेना परिचालन गरेका थियौं, दोस्रो चरणमा ३६ हजार परिचालित छन्। आवश्यकता हेरेर थप सेना रिजर्भमा राखिएको छ।’

निर्वाचन विरोधी गतिविधि बढेपछि सेनाले मतदान केन्द्रमा उच्च सतर्कता अपनाएको छ। ‘हिजो हामीले ४ ठाउँमा बम डिस्पोज गर्यौं, बम डिस्पोज गर्ने काममा नेपाली सेनाको टोली विशेषरूपमा खटिएको छ।’ –उहाँको भनाइ थियो। नेपाली सेनाले हिजो ललितपुरको भैंसेपाटी, कीर्तिपुर, कैलालीको घोडाघोडी र कपिलवस्तुमा बम डिस्पोज गरेको थियो।

निर्वाचन सुरक्षार्थ सेनाले पाँचवटै क्षेत्रका हेलिकोप्टर तैनाथ गरिसकेको छ। आवश्यक परेको अवस्थामा सबै हवाईसाधन परिचालन गर्ने गरी तयारी अवस्थामा राखेको छ।

सुरक्षाको अवस्था हेरेर थप सेना परिचालन गर्ने योजना रहेको जानकारी गराउँदै प्रवक्ता सहायक रथी दाहालले निर्वाचन सुरक्षाका लागि नेपाली सेना तयारी अवस्थामा रहेको जानकारी दिनुभयो।

उहाँले दोस्रो चरणको निर्वाचनको सबै क्षेत्रमा सेना परिचालन भइसकेको जानकारी दिनुभयो। सशस्त्र प्रहरी बलले पनि आफ्ना सबै स्थानमा सुरक्षा फौज तैनाथ गरिसकेको जनाएको छ। तीनै सुरक्षा निकायले अति संवेदशील, संवेदनशील र सामान्य अवस्था भएका निर्वाचन क्षेत्रको पहिचान गरी सुरक्षा व्यवस्था गरेको छ।

सशस्त्र प्रहरीले भने दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लामा २८ हजार सशस्त्र प्रहरी खटाएको छ। सशस्त्रले निर्वाचन कार्यालय, मतदाता र मतपेटिकाको सुरक्षाको जनशक्ति परिचालन गरेको छ, सुरक्षा आवश्यकता हेरेर थप परिचालन गर्ने तयारी पनि सशस्त्रले गरेका छ। सशस्त्रले सबै निर्वाचन क्षेत्रको सदरमुकाममा सुरक्षा बेस क्याम्प, क्षेत्रमा क्षेत्रीय सुरक्षा बेस क्याम्प स्थापना गरिसकेका छ।

गृहको अपिल
गृह मन्त्रालयले अपरिचित व्यक्ति, शंकास्पद गतिविधि र शंकास्पद वस्तु देखेमा नजिकको सुरक्षा निकाय वा प्रहरी कन्ट्रोलको फोन नम्बर १०० मा खबर गर्न अनुरोध गरेको छ। गृहले जारी गरेको सार्वजनिक सूचनामा ‘आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका क्रममा निर्वाचन विरोधीले उम्मेदवारलाई लक्षित गरी विस्फोटनका घटना घटाउने, सर्वसाधारणलाई डर, त्रास सृजना हुने गरी सार्वजनिक स्थान तथा समाजका प्रतिष्ठित व्यक्तिको घर कम्पाउन्डमा बम विस्फोटन गराउनेजस्ता गतिविधि गरी निर्वाचनमा अवरोध सृजना गर्ने क्रियाकलाप गरिरहेको’ उल्लेख गर्दै यस्तो कार्य भएको जानकारी भए तत्कालै प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्