नेवा सुन्दरीको योमरी पुन्ही



मिस नेवा ११३७ र मिस लिटिल नेवा २०१७ का विजेता, उपविजेता तथा पूर्व मिस नेवाहरुले आइतबार योमरी पुन्ही दिवस मनाएका छन्।

ती सौन्दर्य प्रतियोगिताका सहभागीहरुले नेप्लिज फेसन होममा भेला भएर एक–अर्कालाई योमरी बनाउन सिकाएर योमरी पुन्ही मनाएका हुन्। आफूहरुले सिकेको योमरी बनाउने कला आगामी दिनमा अरूलाई पनि सिकाउने र परिवारमा योमरी बनाएर यो चाड मनाउने मिस नेवाः विजेताहरुले बताए।

नेवार चाड पर्वमध्यको महत्त्वपूर्ण पर्व योमरी पुन्ही भएकाले यो दिवस मनाइएको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन्। योमरी संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि आफूहरुले मिस नेवाःहरुलाई योमरी बनाउन सिकाएको अध्यक्ष मानन्धरले बताइन्।

यसैबीच नेवार समुदायको सांस्कृतिक महत्त्व, जातीय पहिचान, मूल्य मान्यता एवं भाषा, भेषभूषाको सम्वद्र्धन एवं प्रवद्र्धनलाई प्रतियोगितात्मक कार्यक्रमबाट युवापुस्तामा सचेतना फैलाउने उद्देश्यले १२ वर्षदेखि आयोजना हुँदै आएको मिस नेवाः प्रतियोगिताको तयारी आरम्भ भएको छ। मिस नेवाः ११३८ का रूपमा आयोजना हुने यो प्रतियोगितामा सहभागी हुन चाहने नेवार समुदायका युवतीहरुका लागि आवेदन फाराम खुला गरिएको आयोजक संस्था नेप्लिज फेसन होमले जनाएको छ। रोजिन शाक्यको कोरियोग्राफी रहने प्रतियोगितामा पूर्व मिस नेवाः सुनीता डंगोल नेपाल भाषा प्रशिक्षक तथा रोहिया महर्जन डान्स कोरियोग्राफरका रूपमा रहनेछन्।

सन् २००५ बाट आरम्भ भएको यो प्रतियोगितामा हालसम्म सविता श्रेष्ठ, सुविता प्रधान, सुप्रिया तुलाधर, आकाशा व्रजाचार्य, योगिता महर्जन, सुजिना शाक्य, सुनीता डंगोल, सुदिना श्रेष्ठ, अलिशा व्रजाचार्य, सरिना स्थापित, एन्जेल श्रेष्ठ र इशु श्रेष्ठले मिस नेवाःको ताज पहिरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्