पत्रकारलाई निवृत्तिभरण र छात्रवृत्ति दिइने



 

जुम्ला। नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले ठूला मिडिया पुँजीपतिको हातमा पुगेको बताउनुभएको छ ।

मिडिया व्यवस्थापन तथा पत्रकार आचारसंहिता तालिम र सूचना विभागको प्रेस पास वितरण कार्यक्रममा अध्यक्ष आचार्यले अहिले व्यापारी र व्यवसायीले ठूला मिडिया चलाएको बताउँदै भन्नुभयो, “राज्यले साना मिडियालाई संरक्षण गर्ने कुनै पनि नीति लिएको छैन । पैसा लिएर समाचार छाप्ने संस्कृति पछिल्लो समयमा नेपालमा फस्टाउँदै गएको छ । ”
रेडियो, टेलिभिजन, अनलाइन र छापा पत्रिका एउटै मालिकले चलाइरहेको अवस्था नियमन अघि बढेको र अब एक व्यक्तिले १८ वर्षसम्म मात्र मिडिया सञ्चालन गर्न पाउनेगरी आम सञ्चार नीति २०७३ ल्याइएको जानकारी दिनुभयो ।

अध्यक्ष आचार्यले लोकल्याणकारी विज्ञापनभन्दा पनि सामानुपातिक विज्ञापन प्रणाली नीति लागू हुन सके मात्र मुलुकका साना तथा दुर्गमका मिडिया हाउस र पत्रकारको न्याय हुने भएकाले यसका लागि पहलकदमी अघि बढिरहेको बताउनुभयो । उहाँले दुर्गम क्षेत्रलाई सहुलियत दिन ‘स्थानीय विज्ञापन, स्थानीय मिडिया’ बारे परिपत्र भइसकेको जानकारी दिनुभयो । त्यस्तै पत्रकार दुर्घटना बीमा प्रेस पास नवीकरण भए स्वतः दुर्घटना बीमा हुने प्रावधान सूचना विभागले ल्याएको पनि उहाँले अवगत गराउनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर श्रेष्ठले पत्रकारलाई राज्य र कर्मचारीले अपराधी बनाएको आरोप लगाउँदै आचारसंहिताबाहिर रहेर काम गर्ने र कामचोर सञ्चारगृहलाई कारबाही गरिएको बताउुनभयो । उहाँले ल्यापटप, क्यामेरा, प्रेसलगायत यान्त्रिक सामान खरिद गर्दा पत्रकारलाई काउन्सिलले सहयोग गर्दैआएको जानकारी दिनुभयो । “दलित, महिला सम्पादक भएमा पनि त्यसमा काउन्सिलले सम्मान गर्दैआएको छ,” उहाँले भन्नुभयो । विद्युतीय कारोबारसम्बन्धी ऐनको दफा ४७ ले पत्रकारले जे पायो त्यही लेखेमा कारबाही भोग्नुपर्ने अवस्था रहेको बताउँदै उहाँले कर्णालीको पत्रकारिता र सञ्चारगृहका लागि विशेष ध्यान दिइने आश्वासन दिनुभयो ।
काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसालले छापा तथा विद्युतीय सञ्चारगृहको वर्गीकरण, तिनको अनुगमन र नियमन निर्बाध भइरहेको बताउनुभयो । काउन्सिलका केन्द्रीय सदस्य ईश्वरी ओझाले पत्रकारले पत्रकारको भूमिका निर्वाह गर्न नसके प्रेस स्वतन्त्रताको विरासत गुम्ने उहाँको भनाइ थियो । जुम्लाबाट भने पत्रकार आचारसंहिता विपरीतका घटना अहिलेसम्म नघटेको उहाँले गर्व गर्नुभएको थियो ।

सूचना विभागका महानिर्देशक वीरबहादुर राईले प्रेस पासलगायत सबै सेवा अनलाइन गर्न लागिएको जनाउँदै विभागले पत्रकारलाई निवृत्तिभरण र छात्रवृत्ति दिने व्यवस्था गर्न पहल थालेको र प्रेस पास नवीकरण गर्ने पत्रकारलाई दुर्घटना बीमा दिइने प्रावधान ल्याइएको बताउनुुभयो । विभागका शाखा अधिकृत रुपा विकले कर्णालीका ४० क्रियाशील पत्रकारलाई प्रेस प्रतिनिधि प्रमाणपत्र दिइएको जनाउनुभयो । पारदर्शी, सुशासन, जवाफदेहिता र उत्तरादायित्वको भूमिका निर्वाहमा निर्बाध लागिपरेको प्रमाणित कागजातका आधारमा पत्रकारलाई प्रेस प्रमाणपत्र प्रदान गरिएको उहाँको भनाइ छ ।

प्रजिअ विष्णुप्रसाद पौडेलले जुम्लाको पे्रसजगत्ले यहाँको विकास र सुशासनमा राम्रो भूमिका निर्वाह गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्