डोल्पो ः पढ्दापढ्दै पदयात्राको अनुभव



बद्री तिवारी

डोल्पो तथा आसपासका हिमाली क्षेत्रहरु भ्रमण गरिहाल्न पाए हुन्थ्यो, समवयी दौंतरीहरुको दलबल बनाएर अनुकूल मौसममा कुम्लोकुटुरो कसेर कर्णालीको फेरो मार्न हिँडिहाल्न पाए हुन्थ्यो, प्रकृतिप्रदत्त डोल्पो तथा त्यहाँका से–फोक्सुन्डो ताल, झरना, उपत्यका तथा पाखापखेराजस्ता सुन्दरतम् उपहारलाई चुमिहाल्न पाए हुन्थ्यो भनेर जो–कोहीलाई लोभ्याउने पुस्तक हो ‘डोल्पो ः विश्वको जीवित सङ्ग्रहालय’। दुई वर्षअघि तिब्बत यात्रा प्रकाशित गरी हजारौं पाठकको मन जित्न सफल हुनुभएका नियात्राकार विष्णुप्रसाद शर्मा पराजुलीद्वारा लिखित डोल्पो यतिखेर पाठकसामु हाजिर छ।

डोल्पोलाई कतिपयले यात्रावर्णन, कसैले नियात्रा लेखन त कसैले भ्रमणसम्बन्धी निबन्ध आदि अनेक विशेषण जोडेर नामकरण गरेका छन्, निश्चय नै यसले सबै किसिमका विशेषण ग्रहण गर्न सक्ने क्षमता राख्दछ। लेखकले दुई–चार ठाउँ डुलिहालियो, यसो एउटा किताब लेख्दिइहालौं न त भनेर लहडबाजीमा प्रकाशित गरेको कृति पक्कै होइन यो, पुस्तक पढेपछि मात्र त्यसको पत्तो पाउन सकिन्छ कि यसमा कति धेरै सूचनाहरु समेटिएका छन्।

हुन पनि साहसिक पदयात्रा गर्न रुचाउने लेखकले स्थलगत भ्रमण गरी प्राप्त जानकारी एवम् तथ्याङ्कका आधारमा तयार पारिएका आफ्ना लेखहरुलाई आधिकारिक बनाउनदेखि वास्तविकताको धरातलसम्म पुग्नका लागि स्वदेशी तथा विदेशी लेखक, पर्यटनविद्, भूगर्भविद्, विद्वान्, अनुसन्धानकर्तालगायतका पुस्तक तथा प्रकाशित सामग्रीलाई सन्दर्भ सामग्रीका रुपमा पस्तुत गर्नुले प्रामाणिकताको पुष्टि गर्ने प्रयासका रुपमा लिन सकिन्छ।

वास्तवमा हाम्रो देशको कुल भूभागको ६ दशमलव ६८ प्रतिशत भूभाग ओगट्ने डोल्पाबारे थाहा पाउनका लागि विदेशी लेखकद्वारा प्रकाशित सामग्रीको प्रयोग गर्नुपर्ने बाध्यताका बीच प्रकाशित यस पुस्तकलाई एउटा महत्वपूर्ण आधिकारिक दस्ताबेजका रुपमा लिन सकिन्छ। पुस्तक पल्टाएर पढ्न थालेपछि नसकिउन्जेलसम्म पाठकहरुलाई लेखकसँगै यात्रा गरिरहेको महसुस गराउन सक्षम देखिन्छ पुस्तक, चाहे त्यो उकाली–ओराली गर्दा होस् वा से–फोक्सुन्डो झरनालाई घन्टौंसम्म नियाल्दा, गोठ–कटेरी र लजहरुमा बास माग्दा होस् वा हिँड्दा–हिँड्दा थाकेर लखतरान परी भुइँमै भए पनि आरामका लागि लम्पसार पर्दा होस्।

एउटा नेपाली, त्यसमाथि स्थानीय पदयात्रा गर्ने सम्बन्धी विषयमा जानकारी भएको साथी खोजी एक्लै खर्च गरेर भ्रमण गर्छन् र ? भन्ने आशंकालाई पनि हटाउने खालको यात्रालाई पुस्तकाकारमा समेटेर प्रकाशित गर्न सफल हुने लेखक पराजुली बधाईका पात्र त छन् नै, नेपाली पाठकहरुलाई पनि ठूलो गुन लगाएका छन्। लेखकले पुस्तकमार्फत प्रकृतिको सुन्दर राजधानी से–फोक्सुन्डोसमेत समेटिएको क्षेत्रलाई संरक्षण गर्नुपर्ने माग गरेका छन्।

से–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज– सिंगो डोल्पो, मुस्ताङको पश्चिम क्षेत्र र मुगुको पूर्वी क्षेत्र जीवित संग्रहालयको रुपमा संरक्षित तथा सुरक्षित हुनुपर्छ भन्ने माग लेखकको छ। यो यसकारण पनि जायज लाग्छ कि डोल्पोलाई जीवित संग्रहालयको रुपमा संरक्षण गर्न सकेमा प्रकृति, नदीनाला, जीवजन्तु, बोटबिरुवा, जीवनपद्धति, संस्कृति, भेषभूषा, धर्म, परम्परा, मठमन्दिर, गुम्बा, स्तूप, चोर्तेनलगायतका सम्पदालाई भावी सन्ततिका लागि चिनोका रुपमा छोड्न सकिनेछ। यद्यपि यसअघिका शासकवर्गबाट देशका यस्ता अमूल्य निधि अपहेलित भएकामा भने लेखक रोष प्रकट गर्न पछि परेका छैनन्– समग्र हिमाली भेगको प्रतिनिधित्व गर्ने डोल्पो राज्यबाट तिरष्कृत भएको छ, सम्पदा संस्कृतिको खानी भएर पनि टुहुरो भएको छ। राणाकाल, पञ्चायतकाल, प्रजातन्त्र, लोकतन्त्र वा कसैले पनि नहेरेको यस क्षेत्रलाई अबका स्थानीय तहले चाहिँ हेर्लान् कि भन्ने आशा पनि प्रकट गरिएको छ।

यसअघिसम्म विदेशीहरुले डोल्पो क्षेत्रका बोनधर्म मान्ने र बुद्धधर्म मान्नेहरुलाई तिब्बती मूलका भन्दै आएकोमा उनीहरु नेपालकै कर्णाली प्रदेशकै भएको प्रमाणित गर्ने क्रममा निराधार कुराहरु लेखेर भ्रम छर्नेहरुलाई तिनलाई प्रमाणित गर्न चुनौती पनि दिएका छन्। पुस्तक लेख्नेमध्येका धेरैले सदरमुकाम, बजार वा आपूmलाई पायक पर्ने ठाउँमा बसेर लेख्ने, पर्याप्त तथ्यांक नहुने र प्रयोग भएका सूचना पनि अरुका सामग्रीबाट उद्धृत गर्ने प्रवृत्ति भएका व्यक्तिहरुका लागि डोल्पो आफैं एउटा चुनौती हो भन्दा फरक नपर्ला। किनकि पदयात्राका क्रममा भेरीको भीरमा राति–राति हिँड्नुपर्दाको जोखिमदेखि साङताको पाखोमा भएको दुर्घटनाले झन्डै–झन्डै मृत्युको मुखमा पु¥याएको घटनासम्मको कुनै पर्वाह नगरी आफ्नो लक्ष्यमा निरन्तर लागिपरेर जोखिमपूर्ण एवम् साहसिक यात्रालाई अरुका लागि पनि उपयोगी हुन सकोस् भनेर पुस्तकका रुपमा प्रस्तुत गर्नु नै लेखकको सफलता मान्न सकिन्छ। पदयात्राको २४ औं दिन मुस्ताङतर्फ आउने क्रममा मुस्ताङकै साङताको पाखोमा घोडा चिप्लिएर भएको दुर्घटनामा परी घाइते भएको कथा सुन्दा जीउ नै सिरिङ्ग हुन्छ, सुखद पदयात्राको दुःखद अन्त्य पो हुने हो कि भनेर डराएका लेखक पराजुली साँच्चै नै पुनर्जीवन पाएकोमा बधाईका पात्र बनेका छन्।

नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व मदनमणि दीक्षित, डा. तारानाथ शर्मा, वरिष्ठ सञ्चारविद् रामकृष्ण रेग्मी, साहित्यकार एवम् पत्रकार प्रमोद प्रधान र प्रा.जगत उपाध्यायले गर्नुभएको सारगर्भित टिप्पणीले पुस्तकलाई थप वजनदार बनाएको छ। पुस्तकमा खण्डैपिच्छे स्थानलाई स्पष्ट पार्न नक्सा र लेखकबाट खिचिएका प्रत्येक ठाउँका अति आकर्षक तस्वीरहरुले पुस्तकलाई उत्कृष्ट बनाएका छन्। यद्यपि ती तस्वीरहरु शीर्षकअनुसार मिल्दोजुल्दो ठाउँमा राख्न पाएको भए सुनमा सुगन्ध हुने थियो कि। साथै प्रकृति वर्णनमा खर्चिएका धेरै अनुच्छेदहरु उस्तै–उस्तै र दोहोरिएको जस्तो लाग्छ।

आगामी संस्करणहरुमा सुधारिने अपेक्षा गर्न सकिन्छ। ४ खण्ड, ३९ शीर्षक रहेको यस पुस्तकमा मुखपृष्ठ र तस्वीरबाहेक ३ सय ८४ पृष्ठ रहेको छ। भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंद्वारा प्रकाशित डोल्पोको स्वदेशमा मूल्य रु.४९०÷ र विदेशका लागि २० अमेरिकी डलर राखिएको छ।

प्रतिक्रिया दिनुहोस्