एउटै नाटक ५ भाषामा



आगामी २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाबारेको मतदान शिक्षासम्बन्धी सुदूरपश्चिमेलीसहित अछामी, डोटली, बाजुरेली र थारू गरी ५ भाषामा नाटक देखाउँदा दर्शक अलमलमा परे। त्यहाँ विभिन्न भाषी दर्शक भएकाले कलाकारले एउटै संवाद ५ भाषामा बोलेका थिए। जसका कारण आधा घण्टाको नाटक मञ्चन गर्न कलाकारलाई ४५ मिनेट लाग्यो।

मंगलबार नै काभ्रेको धुलीखेल बजारमा सेलो थिएटरले नेपाली भाषामा नाटक देखाउने क्रममा नेवारी र तामाङभाषी दर्शकको पनि घुइँचो लागेपछि नेपालीसहित उही संवाद नेवारी र तामाङ भाषामा पनि बोल्दै दर्शकले निर्वाचनसम्बन्धी शिक्षा दिएको निर्देशक जगत् तामाङले बताए।

निर्वाचनका लागि मतदाता शिक्षा प्रस्तुत गर्न क्रियाशील २२ टोलीले मंगलबार पनि ७ वटै प्रदेशका विभिन्न जिल्लामा सडक नाटक महादान मञ्चन गर्दै दर्शकको मन जिते। यसै क्रममा मंगलबार प्रदेश–१ को इलाम, मोरङ र तेह्रथुमको विभिन्न स्थानमा नाटक महादान मञ्चन गरियो। प्रदेश–१ कै तेह्रथुमको छथर गाउँपालिकाको शुक्रबारे बजारमा नाटक महादान मञ्चन गरिएको झोरहाट नाट्य समूहका निर्देशक भरत गुरागाईंले बताए। निर्वाचन आयोगद्वारा सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को संयोजकत्व एवं आरोहण गुरुकुलको सहकार्यमा नाटक महादान विभिन्न प्रदेशमा देखाइएको हो।

प्रतिक्रिया दिनुहोस्