फैसला तपाईंबाट



चुनावी प्रचारका क्रममा नेताहरूबीच ‘वाक्युद्ध’ निकै चर्किएको छ। लालकिल्ला तोड्ने, बूढो रूख ढाल्ने, यही निर्वाचनबाट एकले अर्को नेतालाई पत्तासाफ गर्ने, साना र नयाँ दल निर्धक्कसाथ राष्ट्रिय पार्टी बन्ने दाबी हरेक दिन सुनिन्छ। आफू ‘हेबिवेट’ र प्रतिस्पर्धी ‘झिनामसिना’ भन्न पछि नपर्नेहरू धेरै छन्। यस्तै आरोपप्रत्यारोपका बीच कोही टुरिस्ट उम्मेदवार कहलिएका छन् भने कोही पैसाको बलमा राजनीतिक मैदानमा उत्रिएका छन्।

राजधानीमा मंगलबारको एक चुनावी कार्यक्रममार्फत एमाले अध्यक्ष ओलीले विवेकशील साझा पार्टी र सो दलका नेतालाई खारिएका नेताहरूसँग चुनावी खेलमा सामेल हुने रहर नगर्न शब्दवाण प्रहार गरे। आफू र आफ्नो पार्टीलाई फूलबलमा विश्वमै कहलिएको क्लब र क्लबका सर्वाधिक चर्चित खेलाडीका रूपमा दाबी गर्न समेत पछि परेनन्। विवकेशीलका नेता पनि के कम बुधबार ओलीकै शैलीमा जवाफ फर्काएका छन्– ‘मतदाताले यसपटक पुराना नेतालाई रेडकार्ड दिनेछन्, राष्ट्रिय राजनीतिमा नयाँ दलको इन्ट्री हुनेछ।’

अनेक–अनेक आरोप प्रत्यारोप र वाक्युद्धलाई नजिकबाट नियाल्दै आएको धरहराले प्रस्ट बुझ्या छ, वाक्युद्धले मात्रै निर्वाचनमा सफलता प्राप्त हुँदैन। पक्कै पनि मतदाताले कुन नेता राजनीतिक मैदानका लागि योग्य छन् या छैनन् भनेर विवेकपूर्ण ढंगले फैसला गर्नेछन्। वाक्युद्ध धेरै दिन लम्बिने छैन, त्यसको फैसला तपाईंबाट हुँदै छ है, पाठकवृन्द।

प्रतिक्रिया दिनुहोस्